कीट नहुँदा कोरोना परीक्षणमा समस्या

स्थानीय तहले खरिद गरेनन् कीट जिल्ला सदरमुकाममा पनि अपुग

सुर्खेत । सल्यानमा एक हप्तादेखि कोरोना परीक्षणका लागि एन्टिजेन कीट अभाव छ । ‘जिल्लामा कीट सकिएको नौ दिन भयो, तर आपूर्ती हुन सकेको छैन’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सल्यानका फोकलपर्सन रेखिराम पुनले भने, ‘कहाँ पाइन्छ भनेर खोजिरहेका छौं, तर पाएका छैनौं ।’

सरकारले सिफारिस गरेको कीट पाउन मुश्किल परेको उनले बताए । कीट सकिएपछि ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षणका लागि स्वाव सुर्खेत पठाउने गरिएको छ । तर पीसीआर परीक्षणको रिपोर्ट आउन झन्डै सातादिन कुर्नुपर्ने बाध्यता छ । ‘दुईसय जनाको स्वाब संकलन भएपछि मात्र परीक्षणका लागि सुर्खेत पठाउने गरेका छौं’ उनले भने, ‘पीसीआरको रिपोर्ट आउन झन्डै एकहप्ता नै लाग्छ ।’

रिपोर्ट नआउँदासम्म कोरोनाको आशंका लागेका र ट्रेसिङमा परेकाहरुलाई भने होमआइसोलेसनमा बस्न सुझाव दिने गरिएको छ । त्यस्तै कोरोना परीक्षणका लागि एन्टिजेन कीट नहुँदा अस्पताल पुग्ने बिरामीलाई समस्या भएको छ । ‘कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका थुप्रै बिरामी आउँछन्, तर परीक्षण विनै उपचार गर्नु परेको छ’ जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदिप शर्माले भने, ‘परीक्षण नगरेर उपचार गर्दा स्वास्थ्यकर्मीलाई नै संक्रमणको जोखिम छ ।’

संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री र जनशक्तिको अभावमा जिल्ला अस्पताल सल्यानलाई बिरामीको उपचार व्यवस्थापन गर्न सकस परेको छ । सल्यानमा जिल्ला सदरमुकाममा मात्रै होइन, गाउँहरुमा परीक्षणका लागि कीट अभाव छ । कोरोना परीक्षणका लागि कुनै पनि स्थानीय तहले कीट खरिद गरेका छैनन् । स्थानीय तहले कीट खरिद नगर्दा गाउँगाउँमा कोरोना परीक्षण गर्न असहज भएको हो ।

त्यस्तै कालिकोटमा पनि एन्टिजेन कीट अभाव छ । खाँडाचक्र नगरपालिकाबाहेक अन्य कुनै पनि स्थानीय तहले कोरोना परीक्षणका लागि कीटहरु खरिद गरेका छैनन् । ‘जिल्ला अस्पतालमा कीट पर्याप्त छैन, तर पालिकाकाहरु ऐन्टिजेन कीट अभाव छ’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय कालिकोटका कोरोना फोकलपर्शन कटकबहादुर बमले भने, ‘पालिकाहरुले कीट खरिद नगर्दा कोरोना परीक्षण र नियन्त्रणमा समस्या भयो ।’

कालिकोटमा यसअघि प्रदेश सरकारले तीन हजार कीट पठाएको थियो । ति मध्ये ५० देखि ७५ वटासम्म स्वास्थ्य कार्यालयले पालिकाहरुलाई उपलब्ध गराएको थियो । संक्रमण तीब्र रुपमा फैलिरहेका कारण नियन्त्रणका लागि तत्काल परीक्षण आवश्यक छ । गाउँ–गाउँमा संक्रमण फैलिदा पनि स्थानीय तहहरुले कोरोना परीक्षण तथा नियन्त्रणमा चासो दिएका छैनन् । स्थानीय सरकारले परीक्षणका लागि कीट खरिदमा ढिलाइ गर्दै आएका छन् । ‘सबै नागरिकलाई पीसीआर परीक्षण गर्न सम्भव छैन’ उनले भने, ‘एन्टिजेन छिटो र सजिलो प्रविधि हो, तर कीट नै नहुँदा परीक्षणमा समस्या भयो ।’

संक्रमण फैलिएसँगै जिल्लामा स्वास्थ्य कार्यालयले नौ वटै स्थानीय तहमा कार्यरत स्वास्थ्य प्राविधिकका कर्मचारीहरुलाई एन्टिजेन परीक्षणका लागि तालिमसमेत दिएको थियो । मुगुका स्थानीय तहमा पनि कीटको अभाव छ । त्यहाँ पनि संक्रमण समुदायमै फैलिइसकेको छ । तर स्थानीय तहले कोरोना परीक्षणका लागि कीटसमेत खरिद गरेका छैनन् । कोरोना परीक्षणका लागि जिल्ला अस्पतालकै भर पर्नुपर्ने अवस्था छ ।

‘संक्रमण समुदाय स्तरमा पुगिसक्यो, अब स्थानीय तहमै परीक्षण गर्नुपर्छ । तर स्थानीय तहमा अझै कीट आइपुगेको छैन’ जिल्ला अस्पताल मुगुका डाक्टर कविराज पौडेलले भने, ‘सदरमुकाममा जिल्ला अस्पतालकै कीटले काम चलाएका छौं, तर गाउँगाउँमा परीक्षण गर्न समस्या भएको छ ।’ जिल्ला अस्पतालसँग पनि पर्याप्त कीट छैन । ‘अस्पतालले एक हजार कीट खरिद गरेको छ, त्यसैले काम चलाएका छांैं’ उनले भने, ‘संक्रमण भयावह भए जिल्लामा कीट पर्याप्त छैन ।’ डोल्पामा पनि एन्टिजेन कीटको अभाव छ ।

‘जिल्ला सदरमुकाममा त समस्या छैन, तर गाउँमा परीक्षण नै हुन सकेको छैन’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय डोल्पाका कोरोना फोकलपर्शन टेकबहादुर गुरुङले भने, ‘स्थानीय तहले कीट खरिदमा ढिलाइ गर्दा परीक्षणमा समस्या भयो ।’ कोरोना परीक्षणका लागि ऐन्टिजेन कीट बाहेक अन्य सामग्रीहरु भने पर्याप्त छन् । तत्काललाई पुग्ने पीपीई, मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सामग्रीहरु पर्याप्त रहेको जिल्ला अस्पतालहरुले बताएका छन् ।

तर हुम्लामा स्वास्थ्य सामग्री पर्याप्त छ । त्यहाँ महामारी सुरु हुनु अघि नै जिल्ला जनस्वास्थ्य कार्यालय र सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री खरिद गरेका थिए । ‘भारतमा संक्रमण बढेपछि सबै जिल्लालाई स्वास्थ्य सामग्री र नियमित औषधिहरु खदिर गर्न अनुरोध गरेका थियौं’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले भने, ‘तत्काल जिल्लामा एन्टिजेन कीट र पीपीई लगायतका स्वास्थ्य सामग्री अभाव छैन ।’ गतबर्ष भोगेको अभावका कारण यो बर्ष समयमै पूर्वतयारी गरेको उनको तर्क छ ।

फिभर क्लिनिकले उपचारमा सहज

कोरोना महामारी कारण हुम्ला जिल्ला अस्पतालले आपतकालिन बाहेकका सेवाहरु बन्द गरेको छ । तर फिभर क्लिनिकका कारण स्वास्थ्य सेवा प्रभावहमा समस्या परेको छैन । ‘अस्पतालमा संक्रमण फैलिन नदिन आपतकालिन बाहेकका सेवाहरु बन्द गरेका छौं, तर पुरै स्वास्थ्य सेवा प्रभावित भएको छैन’ सिंहले भने, ‘अस्पताल आउनेलाई फिभर क्लिनिकबाट सेवा दिएका छौं ।’

क्लिनिकमा कोरोना परीक्षण गर्ने र अस्पताल भर्ना गर्नुपर्ने अवस्था भएमा अस्पतालले भर्ना लिने गरेको उनको जनाए । कालिकोटमा पनि क्लिनिकले सेवा प्रभावहमा सहज भएको छ । ‘स्वास्थ्यकर्मी नै संक्रमित भएपछि जिल्ला अस्पतालले ओपीडी सेवा बन्द गरेको छ, तर फिभर क्लिनिकबाट सेवा दिइरहेका छौं’ बमले भने, ‘संक्रमितलाई कोरोना विशेष अस्पताल र अन्य विरामीलाई जिल्ला अस्पतालबाट भर्ना लिन्छौं ।’

मुगुमा पनि ओपीडी सेवा बन्छ । ‘निषेधाज्ञाका कारण धेरै विरामी आउँदैनन्, इमरजेन्सीमा आउनेलाई फिभर क्लिनिकमा कोरोना परीक्षण गरेर सेवा दिन्छौँ’ डाक्टर पौडेलले भने, ‘ओपीडी बन्द भएपछि इमरजेन्सिबाट विरामीको अवस्था अनुसार सेवा दिँदै आएका छौं ।’ मुगुमा पनि स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि ओपीडी सेवा बन्द गरिएको हो ।

तपाईको प्रतिक्रिया