पाएनन् विश्वासको मत

प्रधानमन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ ।

सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहे । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहे ।

प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाएकी हुन् ।

मतदान प्रक्रियामा पीसीआर नेगेटिभ नतिजा भएकालाई मुख्य सभाकक्षमा मतदानको व्यवस्था मिलाइएको थियो भने पोजिटिभ संक्रमितलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको थियो ।

आजको अधिवेशनको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्ष मण्डल बनाएर सभामुखले १५ मिनेट बैठक स्थगित गरे ।

राताेपाटी

तपाईको प्रतिक्रिया