नेताको बीऊ मासिएकै हो त ?

मनोजकुमार कँडेल । हरेक ४–५ वर्षमा बीउ नफेर्ने हो भनेजति किसानको मेहनतअनुसार बाली हुँदैन । अझ प्रत्येक वर्ष बाली घट्दै जान्छ । बाली घट्न थालेपछि बीउ फेर्ने गरिन्छ । केही वर्ष यताको नेपालको राजनीति हेर्दा नेताको पनि बीउ मासिए जस्तो देखिन्छ । राजनीतिक दलका नेताले फल दिनु त परै जाओस्, बारी नै बाँझो बनाउने शंका लाग्ने अवस्था उत्पन्न भएको छ ।

नेताहरूको भौतिक रूप त देखिन्छ, तर तिनमा नेतृत्वका लागि आवश्यक आधारभूत गुण भेटिँदैन । नेताको बीउ नै मासिँदा देशमा संकट आउन सक्छ । कुनै पनि पदार्थ वा विचार एउटा विशेष विधिले अडेको हुन्छ । त्यसको अस्तित्वको विशेष विधि हुन्छ र त्यही विधिले त्यो पदार्थ अथवा विचारलाई टिकाएको हुन्छ । उदाहरणका लागि पानी हाइड्रोजन दुई भाग र अक्सिजन एक भाग मिसिएर बन्छ ।

हाइड्रोजन र अक्सिजनको सही मात्रा मिलेन हो भने पानी बन्दैन । नेपालका राजनीतिक दलका नेता तथा तिनले अहिले खेलेको राजनीतिक भूमिका हेरौँ । पक्कै पनि हामीले व्यक्तिमा देखेको गुण, उसको भूमिका र व्यवहारको आधारमा नेता स्वीकारेका हुन्छौं । त्यही आधारमा नागरिकको विश्वास टिकेको हुन्छ । नेताका केही आधारभूत विशेषता हुन्छन् ।

यही आधारमा हामीले नेता र देशको राजनितीलाई स्वीकार गरेका हुन्छांै । नेताको पहिलो आधारभूत विशेषता हो, विधि तथा निषेधको पालना । हामीसँग बल्ब छ, बिजुली पनि छ । तर बल्ब जलाउने विधिअनुसार बिजुली प्रवाह नभए बल्ब बल्दैन, बरु फुट्न सक्छ । यसैगरी, नेताले राजनीति विधिपूर्वक चलाउनुपर्छ । त्यसको मापदण्ड हो संविधान, कानुन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सर्वमान्य सिद्धान्तहरू । राजनीतिक नेताहरूले विधि नाघ्न थालेपछि देशको राजनीति मासिन थाल्छ ।

नेपालको राजनीतिमा डरलाग्दो खडेरी लाग्नुको मूल कारण यही विधि माथिको नेताहरूको अतिक्रमण हो । यस अतिक्रमणमा कुनै एउटा दलको नेताको विशेषको मात्र होइन, सबै राजनीतिक पार्टीका नेता सहभागी देखिन्छन् । विधि मासिएपछि नैतिकता पनि रहँदैन । राजनीतिबाट नैतिकता हटेमा बेथिति, भ्रष्टाचार र अहंकारको राज हुन्छ । देशका प्रधानमन्त्री, प्रतिपक्षदेखि मूलधारका सबै नेता आज सत्तामोह, शक्तिको भोक र दम्भले एकअर्कालाई सिध्याउने खेलमा लागेका छन् । यस क्रममा तिनीहरू देश, संविधान, कानुन मास्ने ‘अमानुष’ हुनपुगेका देखिन्छन् ।

तिनले कहिल्यै पनि नैसर्गिक विधि र आफैँले बनाएको नियम, मूल्य मान्यता जोगाउने प्रयाससम्म पनि गरेको देखिँदैन । अर्थात्, राजनीतिक नेतृत्वको बीउ मासिएकै हो त ? नेताको दोस्रो गुण हो, जिम्मेदारी र दायित्वबोध । गाडी चालकले स्टेरिङ नसमाती गाडीलाई गन्तव्यमा पुर््याउन सक्छ ? असम्भव । चालकको पहिलो आधारभूत जिम्मेदारी हो गाडीको स्टेरिङ सम्हाल्नु । उसले यसलाई आधारभूत दायित्व मान्नुपर्छ । अनिमात्र गाडी गन्तव्य पुग्छ ।

राजनीतिक नेताको आधारभूत जिम्मेदारी हो संविधान र कानुनको सही परिचालन र पालना । संविधान र कानुनको पालनाको जिम्मेदारी लिएको व्यक्ति नै संविधान र कानुनप्रतिको दायित्वबोधबाट विमुख भएपछि निश्चित छ त्यहाँ राजनीति गन्तव्यमा पुग्न सक्तैन । हेरौँ त हामीले संविधान र कानुनको सुरक्षाको शपथ खुवाएर पठाएकाहरूलाई ! के तिनले आफ्नो दायित्वबोध गरेकाछन् ? त्यस्तो त कुनै पनि कोणबाट हेर्दा पनि देखिँदैन ।हामी देख्छौँ हजारौं कार्यकर्ताको जुलुस । हामी सुन्छौं कथित ठूला नेताको वार्ता, छलफल ।

तर केका लागि ? उही पद सत्ताका लागि । जुलुस, नारा र वार्ता संविधान, कानुनको रक्षाका लागि त होइन ? तेस्रो गुण हो, प्रणाली । हामी नाकबाट सास फेरिरहेका हुन्छौँ । नाकको काम प्राण वायुलाई शरीरभित्र पठाउने र फाल्ने काम गर्नु । नाक थुनेर कान वा आँखाबाट सास लिने र अक्सिजन पाउने गर्न सकिएला त ? असम्भव । यस्तो प्रयास गरियो भने छिनभर मै मृत्युवरण गर्नुपर्ने छ ।

राजनीतीमा पनि यस्तै आधारभैत प्रणाली हुन्छ । कसले कसरी काम गर्ने हो तोकिएको हुन्छ र त्यो प्रणालीलाई सहजता दिने काम नेताहरूले गरेका हुन्छन् । तर, नेताले नै त्यस्तो प्रणाली खलबल्याउन थाले भने के होला ? त्यस अवस्थामा पक्कै पनि राजनीति मर्छ । राजनीति मासिएपछि सँगै नेता पनि मासिन्छन् । त्यस अवस्थामा राजनितीको बीउ जोगिन सक्तैन र देश र जनताले अनिकाल भोग्नुपर्छ । आज हाम्रो देशका राजनीतिक नेताहरू मूलतः प्रमुख जिम्मेदारी लिएका प्रधानमन्त्री र उनको भूमिका हेर्दा माथि लेखिएका तीनवटै आधारभूत गुण चरितार्थ गर्न सकेको देखिँदैन ।

यही कारणले नेता मासिएका हुन् । तिनले आफ्नो स्वार्थलाई आधारभूत मान्यताका रूपमा केन्द्रमा राखेर देशको संविधान, कानुन, व्यवस्थालाई व्याख्या गर्ने र त्यसैअनुरूप प्रयोग गर्ने गरिहेकाछन् । फलस्वरूप, आज देशको राजनीतिकै समेत बिउ मासिने डर पलाएको छ । यसैले विद्वान् बुद्धिजीवी वर्ग, नागरिक अगुवाका साथै जनसाधारणले पनि सोच्ने बेला भएको छ, कतै नेपालको राजनीतिको ३ दशकपछि बीउ फेर्ने बेला भएको त होइन ? हो भने मासिएको राजनीतिक दलक नेता फेर्ने सजग र सक्रिय सङ्कल्प गर्नु जरुरी छ । अनिमात्र राजनीतिक बाली सप्रने छ र जनताको कल्याण हुनेछ ।

(बाह्रखरीबाट)

तपाईको प्रतिक्रिया