हैन ओलीबा त यो कोरोनाको दोस्रो लहर ल्याउनमा जनता नै दोषी छन् भन्छन त हँ । जनता नाममा संवोधन गर्दै के के नै भन्छन् कि त प्रधानमन्त्रीले भनेर टिभीतिर ध्यानदेर बस्या त, नेपालाँ यो कोरोना फैलाउने काम जनताले गर्या भनेर पो सारा दोषजति जनता थाप्लाँ हालेर उम्कि दे त नि ।
सारा विश्व कोरोनासित जुध्न अस्पताल, आइसोलेसन, क्वारेण्टाइन, अक्सिजन, स्वास्थ्यकर्मी, खोप र स्वास्थ्य सामग्रीको जोहोमा लाग्या बेलाँ आफुचाहिँ भा नभा मान्छे बटुलेर कहिलेको उद्घाटन त कहिलेको शिलान्यास गर्ने । अनि बाँकी समयाँ पार्टीका सभासम्मेलन र भोजभतेराँ लागेर दिन कटाउने । अहिले भकाभक मान्छे मरेछि सबैतिराट गाली गर्न लाएछि लास्टाँ जनताले गर्दा नै यस्तो भा हो भन्देर पार पाउन खोजेका छन् ।
जब एमाल्या कार्यकर्ता र तिन्का आफन्त मर्न थाल्लान् र तिनरु तपाइँमाथि खन्नेलान्, त्यसपछि बल्ल था पाउनुहोला प्रधानमन्त्रीज्यु कल्ले गर्दा कोरोना लहर फैल्या हो भन्ने । सर्वसाधारण जनता त रोकारोई छन् । अस्तालाँ बेड छैन । बेडमा अक्सिजन छैन । दुर्गममा डाक्टर छैनन् ।
तर जनता भकाभक मर्ने बेलासम्म चासो गर्नु भएन । अब सायद प्रधानमन्त्रीको पद धरापाँ पर्याे कि क्या ? त्यसपछि मात्रै बल्लतल्ल जनतालाई दोष देरै भएनी देशभर कोरोना फैल्या कुरासम्म स्वीकार्नु भाछ । अब त तपाईं केही गर्छु भनेर नि सक्नुहुन्न होला सायद ।
किनभने अब त तपाईं कति नै सत्ताँ टिक्नु होला र ? तपाईं आँफैले नै आँफैलाई सदनाँ परीक्षण गर्दै हुनुहुन्छ क्यारे ? यो परिक्षणाँ तपाईं खरो उत्रने कतै उपाय देखिन्न । त्यसैले पनि अब जनताको सेवा गर्छु भने र नि सम्भव छैन । अरु त अरु जनताका नाममा खोप किन्ने कुरामा नि तपाइँले दलालहरु लगाएर राज्यको आधा ढुकुटी दलाललाई बुझाउने खेल खेल्नुभयो ।
त्यसले पनि तपाइँले जनतालाई हेर्ने दृष्टिकोण छर्लङ्गैभा छ । पार्टी भित्रका नेताहरुसितको लडाइँको बदला कोरोनाटपिडित जनताट लिने जुन पर्यत्न गर्नु भो, त्यसले अन्तत तपाइँलाई पोल्ला पोल्न त ।
तर प्रधानमन्त्रीको पदमा बसेर कार्यकर्ता सेप्ने, पोस्ने र उचाल्ने अनि जनता मृत्युको मुखमा पुगेको ठहाका लगाएर हेर्ने जुन काम भयो, त्यो जनताले कहिल्यै विर्सने छैनन् । यतिमात्रै हैन, तपाईं सत्तामा हुँदा जजस्ले तपाइँलाइँ गजव राम्रो काम गरिस भनेर ताली पिटिपिटि हौस्याय, भोलि सत्ताट तपाइँ बाहिरिएपछि धारेहात लाएर सराप्नेछन् ।
उनीहरुलाइ के छ, जसको खान पाउँछन् उसकै भजन गाउने हुन् । त्यसैले ओलीबा आजसम्म जे वितण्डा मच्चाउनु भो मच्चाउनु भो । जाँदाजाँदै पनि महामारीको दोष जनतालाई नै दिएर जसरी आत्म सन्तुष्टि लिनु हुँदैछ । यसको छिनोफानो भोलिको पुस्ताले पनि गर्ला । के देशले भविष्यमा यस्तो महामारीमा को प्रधानमन्त्री थियो र उसले जनताको लागि के गर्याे भनेर नखोज्ला र ? त्यसबेला तपाइँको मुल्यांकन के होला ? हेक्का राख्नु भाछ ?
वेदर्षि
युग संवाददाता । । २७ बैशाख २०७८, सोमबार १६:०३