घरेलु मैदानमा मिलानसँग युभेन्टसको लज्जास्पद हार

काठमाडाैं : घरेलु मैदानमा एसी मिलानसँग युभेन्टसले लज्जास्पद हार बेहोरेको छ । सिरिए अन्तर्गत आफ्नो ३५ औं खेलमा युभेन्टसले मिलानसँग ३-० ले स्तब्ध भयो । सोमबार बिहान भएको खेलमा पराजित भएसँगै युभेन्टसको आगामी च्याम्पियन्स लिग यात्रासमेत कठिन बनेको छ। हारपछि ऊ पाँचाैं स्थानमा खुम्चिन बाध्य भयो ।

उपाधि टुंगो लागिसकेको लिगमा युभेन्टस शीर्ष चारमा अटाउन संघर्षरत छ । पहिलो हाफको अन्तिममा मिलानले गोलको खाता खोलेको थियो। ब्राहिम डियाजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

मिलानसामु निकै फितलो प्रदर्शन गरेको युभेन्टसले ७८ मिनेटमा दोस्रो गोल खान पुग्यो । एन्टे रेबिकले मिलानलाई स्पष्ट २-० को अग्रता दिलाए। त्यस्तै टोमोरीले ८२ औं मिनेटमा थप एक गोल गरेपछि युभेन्टसको हार सुनिश्चित भयो ।

अघिल्लो सिजनको लिग विजेता युभेन्टस हारपछि दबाबमा परेको छ। उसले अब लिगमा तीन खेल खेल्न बाँकी छ। जसमध्ये एक खेल उपाधि उचालेको इन्टर मिलानसँग छ ।

तपाईको प्रतिक्रिया