आइपीएलका बाँकी खेल खेलाउन चार राष्ट्र इच्छुक

कोरोना महामारीका कारण बीचमै स्थगन गरिएको इन्डियन प्रिमियर लिगको दोस्रो भाग आयोजनाका लागि एकपछि अर्को राष्ट्रले दाबी पेश गर्न थालेका छन् ।

इंग्ल्याण्ड र यूएईपछि अस्ट्रेलिया तथा श्रीलंकाले पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष आइपीएल-२०२१ का बाँकी खेल आयोजना गर्न अफर गरेका छन्। आइपीएलको १४ औं सिजन २९ खेलपछि कोरोनाका कारण स्थगित गरिएको थियो।

अब बाँकी बचेका ३१ खेलका लागि बीसीसीआईले २० दिने सिजनको खोजी गरिरहेको छ। यसअघि दक्षिण अफ्रिका तथा यूएईले आइपीएल होस्ट गरिसकेका छन्। गत संस्करणको आइपीएल यूएईमा आयोजना गरिएको थियो। रिपोर्ट अनुसार बीसीसीआईले यूएईलाई ९८.५ करोड भारतीय रुपैयाँ दिएको थियो ।

कोरोना महामारी र टाइट सेड्युलका कारण बाँकी खेल सेप्टेम्बर(अक्टोबरमा हुने संभावना रहेको छ। भारतमा कोरोना निरन्तर बढीरहेका कारण पुन: भारतमै प्रतियोगिता हुने संभावना कमजोर रहेको छ। यस्तोमा आइपीएलको बाँकी खेलका लागि विभिन्न देशले अफर गरिरहेका छन् ।

तर, प्राथमिकताका आधारमा बीसीसीआईका लागि सुरक्षीत स्थान यूएई नै हुनसक्ने देखिन्छ। धेरै खेलाडीका लागि न्युट्रल भेन्यु पनि हुने भएकाले पहिलो रोजाई फेरिपनि यूएई हुनसक्छ।

गत संस्करणमा सफल्ता पुर्वक यूएईले प्रतियोगिता आयोजना गरेकाले पनि यूएईनै पहिलो रोजाई बन्नसक्ने संभावना रहेको छ। त्यस्तै बीसीसीआईका लागि इङ्‌ग्ल्याण्ड दोस्रो प्राथमिकतामा पर्नसक्छ। भारतीय टीम मे महिनादेखि मध्य सेप्टेम्बरसम्म इङ्ग्ल्यान्डमै रहने भएकाले सेप्टेम्बर अन्त तिरको २० दिनको स्लटमा आइपीएल आयोजना हुन सक्नेछ।

तपाईको प्रतिक्रिया