अमेरिकामा साइबर हमला, आपत्‌काल घोषणा

एजेन्सी । अमेरिकामा ठूलो स्तरको साइबर आक्रमण भएपछि देशभर आपत्‌काल लगाइएको छ । त्यहाँको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि सरकारले आपत्‌काल घोषणा गरेको हो ।

साइबर आक्रमण भएको कोलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख लिटर ब्यारेल तेल प्रवाह हुने गरेको थियो। अमेरिकाको पूर्वी तटीय राज्यहरूमा आवश्यक डिजेल, ग्यास र जेट इन्धनको ४५ प्रतिशत माग यही पाइपलाइनबाट जाने गरेको इन्धनले पूर्ति हुने गर्थ्यो ।

यो पाइपलाइनमा साइबर हमलाकारीहरूले शुक्रबार आक्रमण गरेका हुन्‌। सो हमलापश्चात्‌ पाइपलाइन मर्मतको काम जारी रहेको खुलेको छ । आपत्‌काल लागेसँगै अब अमेरिकाका धेरैजसो स्थानमा इन्धन सप्लाइ पाइपलाइनको साटो सडक मार्गबाट हुनेछ ।

पाइपलाइनमा साइबर आक्रमण भएकाले सोमबार इन्धनको मूल्य २ देखि ३ प्रतिशतसम्म बढ्ने जानकारहरूले बताएका छन्‌। तत्कालै पाइपलाइन मर्मत नगरे यसबाट थप क्षति हुने उनीहरूले चेतावनी दिएका छन्‌ ।

डार्कसाइड नाम एक साइबर हमलाकारी समूह यो आक्रमणमा संलग्न भएको अमेरिकी सूत्रहरूले अनुमान गरेका छन्‌। उनीहरूले बिहीबार कोलोनियल नेटवर्कको करिब १०० गिगाबाइट (जीबी) तथ्यांक आफ्नो कब्जामा लिएका थिए ।

तथ्या‌ंकमा पहुँच कायम गरेपछि ह्याकरहरूले कम्प्युटर र सर्भरहरूमा भएका तथ्यांक लक गरिदिएका थिए र तत्कालै फिरौती मागेका थिए। रकम उपलब्ध नगराए अमेरिकी गोप्य सूचना र तथ्यांक इन्टरनेटमार्फत सार्वजनिक गरिदिने आक्रमणकारीहरूले चेतावनी दिएका छन्‌ ।​​

तपाईको प्रतिक्रिया