बुवाकै बाटो पहिल्याउँदै सरकारी सेवामा

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाई जाजरकोटका प्रमुख हुन् सुरेश थापा । बुवाको प्रेरणाकै कारण निजामति क्षेत्रमा होमिएका उनले तत्कालिन मध्यपश्चिम विकास क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाए । जागिरको ३४ बर्ष पार गरिसकेका उनले यसअघि बाँके, सल्यान, सुर्खेत र दैलेखमा रहेर सेवा गरिसकेका छन् । यदी गाउँलाई शहरसँग जोड्न सकियो र आधुनिक कृषि प्रणाली अपनाइयो भने कृषिबाटै आर्थिक समृद्धि सम्भव हुने उनको तर्क । प्रस्तुत छ, लामो समयदेखि कृषि क्षेत्रको आधुनिकीकरण र विकासमा सक्रिय उनै थापाको निजामति क्षेत्रको अनुभव र जीवन भोगाइमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

सुरेश थापा
प्रमुख, कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाई, जाजरकोट

खुशीले भरिएको बाल्यकाल

सुरेश थापा बाआमाको जेठो छोरा हुन् । हरेक दम्पतिको पहिलो सन्तानले जीवनमा खुशी थप्ने र जीवनलाई पूर्ण बनाउने काम गर्छ । सुरेश पनि त्यही भूमिमामा जन्मिए । प्रायः जेठो सन्तानको बाल्यकाल त्यति सुखद् हुँदैन ।

किनकी घरको जिम्मेवारी जेठो सन्तानकै काँधमा पर्छ । भाइबहीनीलाई हुर्काउने, पढानउने र बाआमालाई सघाउनु नै जेठो सन्तानको जिम्मेवारी हुन्छ । तर सुरेशले जीवनमा त्यति धेरै संघर्ष गर्नु परेन ।

संयुक्त परिवारमा जन्मिएका कारण बाल्यकाल नै सुखद् रह्यो । ‘बुवा जागिरे हुनुहुन्थ्यो, खेतीपातीमा अंकलहरुले सघाउँथे’ उनी भन्छिन्, ‘जेठो छोरा भए पनि बाल्यकाल त हाँस्दै खेल्दै वित्यो ।’

अभाव झेल्नु परेन

कहिलेकाँही सघाए पनि खेतीपाति गर्ने जिम्मेवारी उनको काँधमा आएन । स्कुल विदा हुँदा साथीभाईसँग रमाउने, घुम्ने र फुटबल खेलेर समय विताउँथे । बाल्यकाल मात्रै होइन, बाँकी जीवन पनि संघर्षपूर्ण छैन ।

‘लेख्नु र पढ्नु त जिम्मेवारीकै कुरा भयो, तर जीवनमा कठिन संघर्ष गर्नुपर्ने दिन आएन’ उनी भन्छन्, ‘समय परिस्थितिले भएका घटनाबाहेक कहिल्यै अभाव झेल्नु परेन ।’ उनको पारिवारिक आर्थिक अवस्था मध्यम थियो । बुवाको जागिरबाट आउने आम्दानीले घरको दैनिक आवश्यकताहरु पुरा गर्थे ।

किसान परिवार भए पनि धेरै संघर्ष थिएन । विद्यार्थी जीवन खुशी नै खुशीले भरिएको छ । कखरादेखि उच्च शिक्षामा कहिले अभाव झेल्नु परेन । पहिलो जीवन साथीको दुःखद् निधन बाहेक सुरेशको बाँकी जीवनमा अप्ठेराहरु भोग्नु परेको छैन । रोहिनी गाउँपालिका–२ रुपन्देहीमा बुवा रामनरेश र सुशिला थापाबाट २०२१ साल कार्तिक २२ गते उनको जन्म भएको हो ।

पढाइमा मध्यम

सुरेश पढाइमा मध्यम स्तरका विद्यार्थी हुन् । खकरादेखि उच्च शिक्षासम्म न फेल भए, न त उत्कृष्ट नै । कखरादेखि कक्षा १० सम्मको अध्ययन गाउँकै माविबाट पुरा गरे । ३७ सालमा एलएलसी उत्तिर्ण गरेका उनले कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रुपेन्देहीबाट आईएसीएजी अध्ययन गरे ।

आइएसीएजीको अध्ययन सकिए लगत्तै जागिरमा जोडिए । जागिरकै क्रममा नेपालगञ्ज हुँदा तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तह पास गरे । माध्यमिक तहमा अध्ययनको अलवा उनी फुटबल खेलमा बढी रुचि राख्थे । विद्यालयस्तरमा हुने फुटबल प्रतियोगितामा सकेसम्म सहभागी हुन्थे । अहिले पनि उनी फुटबल खेलमा निकै रुचि राख्छन् ।

अनि जागिरमा जोडिए

सुरेशका बुवा रुपेन्देहीकै सरकारी जागिरे थिए । उनलाई आफू पनि बुवा जस्तै जागिर खाने रहर थियो । हुर्किदै जाँदा बुवाकै बाटो पहिल्याए । कृषि क्षेत्रमा जागिर खानकै लागि आइएसीएजी अध्ययन गरे । केही समय काठमाडौँमा बसेर जागिरको तयारी गरे ।

केही समयको मेहनतपछि निजामति क्षेत्रमा प्रवेश पाए । २०४४ मा निजामित क्षेत्रमा प्रवेश गरेका सुरेशको पहिलो कार्यालय बन्यो कृषि विकास कार्यालय नेपालगञ्ज । ऊबेला त्यति ठूलो प्रतिस्पर्धा पनि थिएन । परीक्षा दिएकै वर्ष निजामति क्षेत्रमा प्रवेश पाए । २०५५ सालमा बढुवा भएर कृषि अधिकृत बने । हाल कृषि क्षेत्र विकास कार्यक्रम कार्यक्रम समन्वय इकाई जाजरकोटको प्रमुखमा कार्यरत छन् ।

जन्मथलो रुपेन्देही भए पनि कर्णाली र तत्कालिन मध्यपश्चिम विकास क्षेत्रलाई उनले कर्मथलो बनाए । जागिरको ३४ बर्ष पार गरिसकेका उनले यसअघि बाँके, सल्यान, सुर्खेत र दैलेखमा रहेर सेवा गरिसकेका छन् । लामो समयदेखि कृषि क्षेत्रको विकास र आधुनिकरण सक्रिय उनी कृषिबाटै आर्थिक समृद्धि देख्छन् ।

‘कृषिलाई आधुनिकरण र गाउँलाई बजारसँग जोड्न सके कृषि पेशामै आत्मनिर्भर बन्न सकिन्छ’ उनी भन्छन् । अवकाशपछि पनि कृषि क्षेत्रमा रहेर सेवा गर्ने उनको योजना छ ।

११ सय तलव पनि आधा बच्थ्यो

सुरेश २०४४ सालमा सरकारी सेवामा जोडिए । सुब्बा पदबाट सेवा प्रवेश गरेका सुरेशको सुरुवाती तलव झण्डै ११ सय थियो । ‘मासिक तलव एक हजार ९५ रुपैयाँ हुन्थ्यो’ उनी भन्छन्, ‘त्यहीबाटै सबै आवश्यकताहरु पुरा गरेर आधा तलव घर पठाउँथे ।’

हुन त ऊबेला अहिलेको जस्तो महंगी पनि थिएन । दुई चारसयले आवश्यकताहरु सहजै पुरा हुन्थे । तलवबाटै पढाइ खर्च, दैनिक आवश्यकता पुरा गरेर आधा तलव घर पठाउने गर्थे । तलव थोरै भए पनि जागिर जोडिदा जीवनमा धेरै खुशी भएको उनको अनुभव छ । ‘तलवसँग मतलव थिएन, जागिर खाइयो । त्यो नै जीवनको सबैभन्दा खुशीको क्षण थियो’ उनी सुनाउँछन् ।

 

तपाईको प्रतिक्रिया