ताजा खबर
  

वीरेन्द्रनगरले संचालनमा ल्यायो आफ्नै कोरोना अस्पताल

अधिकांश पालिकामा तयार भए अक्सिजनसहितका आइसोलेसन, एम्बुलेन्स पनि तयारी हालतमा

सुर्खेत । कोरोना महामारी फैलिएपछि वीरेन्द्रनगर नगरपालिकाले २५ शैयाको आफ्नै अस्पताल सञ्चालन गरेको छ । गत बर्षको कोरोना महामारीमै आफ्नै नगर अस्पताल सञ्चालनमा ल्याएको वीरेन्द्रनगरले त्यही अस्पताललाई तत्कालका लागि कोरोना अस्पतालको रुपमा संचालनमा ल्याएको हो ।

हाल २५ शैया रहेको यो अस्पतालमा अक्सिजनसहितका बेड रहेका छन् । हात २५ बेडबाट सुरु गरिएको आइसोलेसनमा संक्रमितहरु बढ्दै गएमा ५० शैया बनाउने लक्ष्य छ । ‘अहिले २५ बेडबाट सेवा सुरु गरेका छौं’ नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले भनिन्, ‘आवश्यक परेको खण्डमा ५० बेड नै सञ्चालन गर्छाैं, हाल दुईजना डाक्टर र स्वास्थ्यकर्मीको पनि व्यवस्था गरिएको छ ।’ अक्सिजनसहितको आइसोलेसनमा संक्रमितको उपचार हुनेछ ।

साथै उपचारमा रहेका संक्रमितलाई नगरपालिकाले नै खानाको व्यवस्था गर्ने भएको छ । कोरोना महामारी अन्त्य नहुँदासम्म आइसोलेसन सञ्चालन हुनेछ । महामारीपछि मात्रै नगर अस्पताल सञ्चालन हुनेछ । कोरोना अस्पतालको शुक्रबार उद्घाटन गरिएको हो । अस्पताल संचतालनमा आएसँगै नगरभित्रका संक्रमितको उपचारमा सहज हुने ढकालले बताइन् ।

अहिले नगरभित्रका धेरै संक्रमितहरु बेड अभावमा होमआइसोलेसनमा रहेको भन्दै उनले अब नगरको कोरोना अस्पतालले उपचार गर्ने उपप्रमुख ढकालले जानकारी दिइन् । यो अस्पतालमा उपचारमा आउने संक्रमितका लागि आवश्यक परेमा प्रदेश अस्पतालका चिकित्सहरुले पनि परामर्श दिनेछन् ।

सुर्खेतकै सिम्ता गाउँपालिकाले पनि ५० बेडको आइसोलेसन स्थापना गरेको छ । गाउँपालिकाको वडा–४ मापर्ने बजेडीचौर स्वास्थ्य चौकीमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन सेन्टरको स्थापना गरिएको हो । ‘भारतबाट नागरिकहरु गाउँ फर्किन थालेपछि महामारी फैलिने डर छ’ गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले भने, ‘संक्रमितको उपचारमा सहजता ल्याउन अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरेका हौं ।’

साथै अक्सिजन सिलिण्डर अभाव हुने भएकाकारण विद्युतबाट सञ्चालन हुने अक्सिजन मेसिनसमेत खरिद गरिएको छ । जटिल प्रकृतिका संक्रमितलाई सुविधायुक्त अस्पतालसम्म पु¥याउन गाउँपालिकाले एम्बुलेन्सकोसमेत व्यवस्था गरेको छ । सुर्खेतकै चौकुने गाउँपालिकाले अक्सिजनसहितको ५० बेडको आइसोलेसन स्थापना गरेको छ ।

यद्यपी हाल १२ वटा बेडको आइसोलेसन मात्रै सञ्चालनमा ल्याइएको छ । अक्सिजनका लागि गाउँपालिकाले ६ वटा सिलिण्डर खरिद गरेको छ । बाँकी सिलिण्डर थप गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जनाए । सुर्खेतकै गुर्भाकोट नगरपालिकाले मेहलकुनाको सिटी हलमा २५ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

सल्यानको वनगाडकुपिण्डे नगरपालिकाले पनि अक्सिजनसहितको १५ शैयाको आइसोलेसन सञ्चालनमा ल्याएको छ । आइसोलेसनमा पाँच वटा सिलिण्डर छन् । थप सिलिण्डर खरिदको प्रक्रियामा रहेको नगरप्रमुख गोविन्द पुनले जानकारी दिए । वीरेन्द्रनगर, सिम्ता, चौकुने र वनगाडकुपिन्डे मात्रै होइन, कोरोना महामारी सुरुभएपछि कर्णालीका अधिकांश स्थानीय तहले आइसोलेसन निर्माण थालेका छन् ।


नागरिकलाई कोरोना महामारीसँग बचाउन स्थानीयतहरु सक्रिय भएका हुन् । अघिल्लो बर्ष क्वारेन्टाइनमात्रै निर्माण गरेका स्थानीय तहले योबर्ष अक्सिजनसहितका आइसोलेसन तयार पारेका हुन् । कर्णालीमा पर्याप्त अक्सिजन नहुँदा पछिल्लो समय अक्सिजन र बेड अभावमा धेरै संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था छ ।

आयुर्वेद औषधालयमा पनि आइसोलेसन

वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेद औषधालयमा पनि २५ शैयाको आइसोलेसन सञ्चालन गरिएको छ । वीरेन्द्रनगरमा संक्रमितको संख्या बढ्दै गएपछि औषधालयले पनि आइसोलेसन सञ्चालनमा ल्याएको हो । हाल २५ बेडबाट सुरु गरिएको आइसोलेसनलाई ५० बेड पु¥याउने लक्ष्य लिइएकोे औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले जानकारी दिए ।

संक्रमितलाई औषधालयका स्वास्थ्यकर्मीले नै रेखदेख गर्नेछन् । तर आयुर्वेदको आइसोलेसन अन्यभन्दा फरक हुनेछ । यहाँ संक्रमितलाई विहान र बेलुका गायत्रीमन्त्र, योग, ध्यान जस्ता जीवन जीउने कला सिकाइने छ । तनावमुक्त बनाउने उद्देश्यले प्राकृतिक वातावरणमा आइसोलेसन सञ्चालन गरिने रिजालले बताए ।

पर्याप्त छैन जनशक्ति र अक्सिजन

स्थानीय तहले आइसोलेसन सेन्टर सञ्चालन गरेका छन् । तर त्यहाँ दक्ष जनशक्ति र अक्सिजन पर्याप्त भने छैन । वीरेन्द्रनगरले संचालन गरेको आइसोलेसनमा जनशक्तिको अभाव छ । जनशक्ति नभएकै कारण नगरपालिकाले करारमा स्वास्थ्यकर्मीहरु भर्ना लिने र संक्रमितको परामर्शका लागि प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुसँग समन्वय गरेर सेवा दिने जनाएको छ ।

यस्तै सिम्ता गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा पनि चिकित्सक छैनन् । आइसोलेसनमा बजेडीचौर स्वास्थ्य चौकीमा कार्यरत अहेव र स्टाफनर्सहरुले सेवा दिनेछन् । त्यहाँ पनि अक्सिजनको कमी छ ।

चौकुने गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसनमा पनि चिकित्सक र स्वास्थ्यकर्मीको अभाव छ । त्यहाँ दुईजना अनमी र स्वास्थ्य शाखाका कर्मचारीहरुले नै सेवा दिनुपर्ने अवस्था छ । त्यहाँ अक्सिजनकोसमेत अभाव छ । गुर्भाकोट नगरपालिकाको आइसोलेसन सेन्टरमा पनि अक्सिजन र स्वास्थ्यकर्मी छैनन् ।

त्यहाँ मेहलकुना अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको समन्वयमा आइसोलेसन सञ्चालन गरिएको छ । सल्यानको वनगाड नगरपालिकाको आइसोलेसन सेन्टरमा पनि स्वास्थ्यकर्मीको अभाव छ । त्यहाँ स्वास्थ्य शाखाका कर्मचारी र देवस्थल स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा खटाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार