ताजा खबर
  

कलेजमा पढ्दा चिनजान विहेपछि मात्र बोलचाल

सम्बन्धहरु रगत र भावनासँग जोडिएका हुन्छन् । भावनाहरु मिल्दा सम्बन्धहरु थप कसिला हुन्छन् । तर चाहेको त्यो रगतको सम्वन्ध होज् या त भावनात्मक सम्बन्ध । सम्बन्ध बलियो र टिकाउ हुनका लागि आपसमा विश्वास भने हुनै पर्दछ । विश्वास भएको सम्बन्ध बलियो हुन्छ । दिर्घकालीन पनि हुन्छ । यसकारण पनि हरेक सम्बन्धमा विश्वास चाहिन्छ । यस्तै जसले आफ्नो जीवनसाथीप्रति विश्वास राख्दछ, उसको माया पनि दिगो हुन्छ । सबै जोडीको माया दिगो हुँदैन । ययस्तै आफ्नो पहिलो मायालाई सफल बनाएका जोडी हुन् ऐश्वर्यप्रसाद ढकाल र विपना देवकोटा । प्रस्तुत छ, यो जोडिसँग गरिएको प्रेम, विवाह र संघर्षबारेको कुराकानीको सम्पादित अंश :

एउटै कलेजमा पढाइ

ऐश्वर्यप्रसाद ढकाल र विपना देवकोटाको कलेजमा पढ्दा चिनजान थियो । तर बोलचाल भने भएको थिएन । ऐश्वर्यको मामाको छोरीको गाउँको भएकाले उनको मामाको छोरी दिदीकै माध्यमबाट विपनाको घरपरिवारसँग एश्वर्यले चिनजान गरे । उनीहरु दुबैजना कलेज पढ्दादेखि नै परिचित थिए । तर बोलचाल भने भएको थिएन । ऐश्वर्यले भित्रभित्रै मन पराएका थिए ।

ऐश्वर्य नै विहेको प्रस्ताव लिएर गए

ऐश्वर्य विएड तेस्रो बर्षमा अध्ययनरत थिए । उनलाई घरबाट बिवाह गर्नुपर्ने कुरा भइरहेको थियो । उनको नजरमा विपना नै उत्तम लागेको थियो । तर उनीहरुबिचमा कुराकानी भएको थिएन । उनको मामाको छोरीको माध्यमबाट उनी विपनाको बुवाआमासम्म पुगे ।

अनि उनले आफुले विपनालाई मन पराएको कुरा विपनाको बुवा आमालाई भने । त्योभन्दा अगाडी उनले आफ्नो बुवाआमालाई पनि यो प्रस्ताव राखेका थिए । फेरी अर्कोदिन ऐश्वर्यको बुवा विपनाको घरमा गएर कुरा चलाए ।

विपनाको घरपरिवार पनि राजी भएपछि बिहेको लागि हात माग्ने काम भयो । विपनालाई त्यतीबेला केही अफ्ठेरो महशुस भएको थियो । तर उनले ऐश्वर्यको मेहेनत भने जान्दथिन् । त्यही भएर पनि उनले घरपरिवारको निर्णयलाई सहजै स्वीकार गरिन् ।

कुरा चलेको १५ दिनमा विहे

विपना र ऐश्वर्यको मागी बिवाह हो । उनीहरुबिचमा बिवाह गरिदिने घरपरिवारले अन्तिम निर्णय गरेको १५ दिनपछि २०५६ सालमा विहे भयो । बिवाह गर्दा ऐश्वर्य २५ बर्षका थिए भने विपना २० बर्षकी थिइन् । उनीहरुको चिनजान पहिलेदेखि नै भएको भए पनि बिवाहपछि मात्र बोलचाल भएको थियो ।

बिवाह गर्नेबेला घरपरिवारबाट केही गहना चाहिन्छ की ? भनेर विपनालाई सोधिएको थियो । उनले आफुलाई गहनाभन्दा पनि भविश्यमा सम्बन्धमा कुनै टकराव नआओस् भन्ने जवाफ दिएकी थिइन् ।

बिवाह भएर बुहारी भएर जाँदा विपनालाई घुलमिल हुन केही समय लाग्यो । घरको कान्छी छोरी, धेरै काम पनि नगरेकी उनी एक्कासी जिम्मेवारीमा जाँदा केही फरक भएको थियो । तर घरपरिवार सबै बुझ्ने भएको हुँदा उनलाई माइतीमा र घरमा कुनै फर व्यवहार भएको जस्तो लागेन ।

विवाहपछि संघर्ष

विपना र ऐश्वर्यको विवाहपछिका दिनहरु संघर्षमै विते । मध्यम परिवारमा जन्मिएका उनीहरु सानैदेखि मेहनती थिए । पढाइलाई निरन्तरता दिनुपर्छ भन्ने घरपरिवारको सोच थियो । उनीहरु पनि पढाइमा निरन्तरता दिइरहन्थे । घरको जेठो छोरा ऐश्वर्यको काँधमा धेरै जिम्मेवारी थियो ।

घरपरिवारमा आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने एकातिर थियो भने अर्कोतर्फ आफ्नो पढाइलाई निरन्तरता दिनुपर्ने थियो । दुबै जनाले संघर्षकासाथ पढे । बच्चाबच्ची पनि जन्मिए । उनीहरुले बच्चाबच्ची हुर्काउँदै गर्दा पनि पढाइलाई भने निरन्तरता दिए । ऐश्वर्य काठमाडौंमा पढाउँदै पढ्दै गर्थे । भने विपनाले पनि शैक्षिक जनशक्ति विकास केन्द्रमा काम गर्दै पढ्दै गर्थिन् ।

उनीहरुले पढाउने, घरव्यवहार सम्हाल्दै स्नातकोत्तर सके । ऐश्वर्यले करिव आधा दर्जन विद्यालयहरुमा पढाए । शुरुमा उनले आफुले पढेको वीरेनद्रनगर नगरपालिका १६ को आदर्श माविमा पढाए । त्यसपछि धुलियाविटको शिव मावि, कालिकोट, धादिङको एउटा विद्यालयसहित करिव आधा दर्जन विद्यालयमा पढाए ।


उनी सुर्खेतको जन मावि, बहुमुखी क्याम्पस हुँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपप्रध्यापकको रुपमा अहिले अध्यापन गराइरहेका छन् । यता, विपनाले पनि धुलियाविट, जन माविसँगै शैक्षिक जनशक्ती विकास केन्द्र भक्तपुरमा काम गरिन् ।

उनले पनि धेरै संघर्षपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपप्रध्यापकको रुपमा अध्यापन गराइरहेकी छन् । उनीहरु दुबै जनाले ग्रामीण विकास विषय पढाउछन् । उनीहरु एकैदिन स्थायी भएका हुन् । उनीहरु लामो मेहेनत र परिश्रमले आफुहरु यहाँसम्म आएको बताउछन् । उनीहरुलाई घरपरिवारले पनि उत्तिकै साथ दिएको बताउँछन् ।

 

कस्तो थियो बाल्यकाल ?

बुवा रामचन्द्र ढकाल र आमा रत्नकली ढकालको कोखबाट २०३० सालमा वीरेन्द्रनगर १६ मेहेलीमा जन्मिएका ऐश्वर्य घरको जेठो छोरा हुन् । उनका पाँच भाइबहिनी हुन् । उनको बाल्यकाल मध्यम रुपमा वित्यो । सानोमा उनी गम्भिर स्वभावका थिए । पढाइमा भने उनको लगाव राम्रो थियो । उनले कक्षा १० सम्म आदर्श मावि मेहेलीमा पढेका हुन् ।

एसएलसी त्यही विद्यालयबाट पास गरेका उनले त्यसपछि उनले शिक्षा क्याम्पसबाट विएड गरे । उनले मास्टर्स काठमाडौंबाट गरेका हुन् । घरको घाँस दाउरा काट्दै, खेती किसानी गर्दै आफुले पढेको उनी बताउछन् । यस्तै, पदमलाल देवकोटा र सुशिला देवकोटाको कोखबाट २०३५ सालमा वीरेन्द्रनगर नगरपालिका १ ढोडेखालीमा जन्मिएकी विपनाको बाल्यकाल भने काठमाडौंमा वित्यो ।

उनका बुवा प्रोफेसर भएकै कारण उनी त्यही बसेर ५ कक्षासम्म पढिन् । ६ कक्षादेखि भने उनले जन माविमा पढेकी हुन् । अनि उनले शिक्षा क्याम्पसबाट व्याचलर सकेर फेरी काठमाडौँमा गएर पढेकी हुन् । उनको बाल्यकालमा अभाव भने झेल्नु परेन । विपनाको स्वभाव लजालु थियो । तर उनी सहयोगी थिइन् । उनको पढाइमा भने उनको लगाव राम्रो थियो ।

सल्लाह र सहकार्य

संघर्ष गरेर सफलतामा पुगेका यो जोडी अहिले खुसी छन् । सरकारी सेवामा रहेका जोडी जे काम गर्दा पनि सल्लाह र सहमतिमा मात्र गर्ने गर्छन् । यस्तो गर्दा सम्बन्धमा खटपट आउँदैन । यो जोडीले एकअर्काको बानीलाई असाध्यै मन पराउँछन् ।

ऐश्वर्यलाई सबै आफन्तहरुलाई वास्ता गर्ने र नरिसाउने बाँनी साह्रै मनपर्छ भने कहिलेकाँही काममा प्रसंशा नहुँदा रिसाउने बानी भने राम्रो लाग्दैन । विपनलाई भने ऐश्वर्यको जस्तोसुकै समस्या आउँदा पनि नआत्तिने बानी मनपर्छ । तर उनको जिद्दि गर्ने बानी भने उनलाई मन पर्दैन ।

तर घरमा केही समस्या आयो भने दुबैले एकअर्कालाई हौसला दिने गर्छन् । एकअर्काे बीचमा विश्वास र समझदारी भए मात्र दाम्पत्य सम्बन्धलाई दिगो बनाउन सकिने उनीहरूको भनाइ छ । जबसम्म एकअर्काे बीचमा समझदारी र विश्वास कायम हुँदैन, तबसम्म सम्बन्ध राम्रो नहुने उनीहरूको भनाइ छ ।

उनीहरु कुनै पनि निर्णय एक्लै गर्दैनन् । उनीहरूको अनुसार जीवन भनेको संघर्ष, भोगाइ र कर्म हो । उनीहरूका अनुसार जीवनसाथी भनेको हरेक सुख दुःखमा साथ दिने, जीवनको अन्त्यसम्म साथ दिने साथी हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार