एजेन्सी । विश्वशक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन् । शुक्रबार शुरू भएको वार्तामा अमेरिका र इरान दुबैले समाधान सम्भव भएको जनाएपछि संयुक्त राज्य अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा फिर्ता ल्याउने लक्ष्य राखिएको यो वार्ता सफल हुने विश्वास लिइएको छ।
सन् २०१५ मा अमेरिकाको अग्रसरतामा विश्व शक्ति राष्ट्रहरूले इरानसँग महत्वपूर्ण आणविक सम्झौता गरेका थिए। तर, बाराक ओबामा अमेरिकी राष्ट्रपति रहेका समय गरेको सम्झौताबाट अमेरिकालाई कुनै हित नहुने भन्दै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा अलग्गिएको घोषणा गरेका थिए। ट्रम्पले सम्झौता पुनः गर्नु आवश्यक रहेको भन्दै इरानमाथि सन् २०१५ भन्दा पहिले लगाइएका प्रतिबन्धहरूलाई पुनः सक्रिय पारेका थिए।
सम्झौताले इरानलाई आफ्नो आणविक कार्यक्रममा लगाइएको प्रतिबन्धको बदलामा आर्थिक प्रोत्साहनको प्रतिज्ञा गरेको थियो र ट्रम्प प्रशासनले तेहरानलाई नयाँ वार्तामा ल्याउने असफल प्रयासमा इस्लामिक गणतन्त्रमाथि ठूलो प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धले अहिलेसम्म निरन्तरता पाएको छ।
अमेरिका सम्झौताबाट फिर्ता भएको बताएपछि इरानले पनि सम्झौताबाट क्रमशः पछि हटेको थियो। देशलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने उद्देश्यले गरिएको सम्झौताबाट फिर्ता हुँदै युरेनियम प्रशोधन तथा उत्पादनलाई अझ व्यापकता दिने काम इरानले गर्दै आएको छ।
यसले आर्थिक राहतका लागि फ्रान्स, बेलायत, रसिया र चीनसहितका सम्झौतामा रहेका विश्व शक्तिहरूलाई पनि दबाब दियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले एक संयुक्त बृहत्तर योजनामार्फत अमेरिका सम्झौतामा पुनः सामिल हुन चाहेको बताएका छन्।
सम्झौताका लागि इरानले सम्झौतामा तोकिएका मापदण्डलाई अक्षरश पालना गर्नुपर्ने आवश्यक रहेको उनको धारणा रहेको छ। इरानले पनि आणविक बम उत्पादन गर्न नचाहेको बताएको छ तर यसका लगि वासिङ्टनले आणविक सम्झौता बाहेकका ट्रम्पको कार्यकालमा लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउनुपर्ने बताएको छ।
युग संवाददाता । । २५ बैशाख २०७८, शनिबार १३:५६