निषेधाज्ञाको पालना

कर्णालीमा कोरोनाको दोस्रो लहर तीव्र बनेको छ । अघिल्लो पटकभन्दा यसपाली संक्रमणले धेरै नोक्सान गरेको छ । तथ्याकंअनुसार पनि कोरोनाको संक्रमण दर बढ्दो छ । गम्भिर प्रकृतिका विरामीले अस्पतालका बेड भरिएका छन् । मृत्युदर पनि बढी छ । अघिल्लो पटक एक वर्षमा भएको क्षतिभन्दा यसपाली तीन सातामै बढी क्षति भएको छ ।

बैशाख महिला लागेयता कर्णालीमा दोस्रो चरणको कोरोना फैलिन थालेको हो । कर्णालीमा सबैभन्दा बढी प्रभावित सुर्खेत बनेको छ । संक्रमति हुने र ज्यान गुमाउनेको संख्या सुर्खेतमा धेरै छ । छिमेकी देश भारतमा कोरोनाले महामारीको रुप लिएको छ । त्यहाँबाट आउने नेपालीहरु सुर्खेतहुँदै जिल्ला प्रस्थान गरिरहेका छन् । जनघनत्व धेरै भएको र भारतबाट आउनेहरुको होल्डिगं सेन्टरको रुपमा रहेकाले पनि सुर्खेतमा संक्रमण तीव्र बनिरहेको छ ।

यस्तो अवस्थामा स्थानीय प्रशासनले महामारी रोकथाम र नागरिकको जीवन रक्षाका लागि यही बैशाख १४ गते रातीबाट निषेधाज्ञा जारी गरेको छ । सुरुमा एक साताका लागि जारी भएको निषेधाज्ञा थपिएको छ । प्रशासनले अब यो महिनाको मसान्तसम्म निषेधाज्ञा थपेको हो । निषेधाज्ञा जारी गर्नुको एउटै उदेश्य महामारीलाई रोक्नु हो । अर्थात खुला हुँदा नागरिकको भीडभाड हुने र यसले संक्रमण तीव्र बन्ने भएकाले पनि यसलाई रोक्नु राज्यको दायीत्व हो ।

यही जिम्मेवारी पूरा गर्न प्रशासनले निषेधाज्ञा लागू गरेको छ । तर पछिल्लो समय निषेधाज्ञाको पालना पूर्णरुपमा हुन सकेको छैन । अहिले पनि मानिसहरु अनावश्यक रुपमा बजार तथा सडकमा निस्कने गरिरहेका छन् । पासको दुरुपयोग गर्दै अनावश्यक भीडभाड गर्ने काम भइरहेको छ । विभिन्न बहानामा प्रशासनका लागि निषेधाज्ञा गरिए जस्तो भइरहेको छ । वास्तवमा यो महामारी सरकार एक्लैको प्रयासबाट नियन्त्रण गर्न सम्भव छैन ।

यसमा राज्यसँगै नागरिकले पनि सावधानी र सतर्कता अपनाउन जरुरी छ । जतिसक्यो संक्रमणबाट जोगिनु पर्दछ । अत्यावश्यक काममा बाहिर निस्कनु परे पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।
विश्व नै यो संकटसँग जुधिरहेको छ । यो महामारीबाट जोगिनका लागि खोपको विकास त भएको छ । तर नेपालजस्तो देश, त्यसमा पनि कर्णालीबासीले सहज रुपमा पाउन समय लाग्ने नै भयो । यस्तो अवस्थामा हामीले यो महामारीबाट बच्ने एउटै उपाय भनेको संक्रमण हुनबाट बच्ने । यसका लागि नागरिक आफैले स्वास्थ्य मापदण्ड पालना गर्ने, सामाजिक दुरी कायम गर्ने र मुख्यगरी सरकारले जारी गरेको निषेधाज्ञाको इमानदार भएर पालना गर्नु पर्दछ ।

साथै सरकारी निकायले पनि निषेधाज्ञा घोषणा मात्र गर्नेभन्दा पनि यसको कार्यान्वयनमा जोड दिनु पर्दछ । नागरिकलाई निषेधाज्ञाको पालना गर्नका लागि सचेतना फैलाउन आवश्यक छ । निषेधाज्ञाको मात्र पूर्णरुपमा कार्यान्वयन र पालना भएमा कोरोना संक्रमणको चेन ब्रेक हुनसक्छ । यसका लागि राज्य र नागरिक दुबैले आआफ्नो स्थानबाट भूमिका निर्वाह गरौं । यसो गरिएमा यो महामारीबाट हुने क्षति कम गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया