ताजा खबर
  

दूध बिक्री नहुँदा गाईलाई नै खुवाउन बाध्य हुँदै सु्र्खेतका किसान

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ गाग्रेतालका चन्द्रप्रसाद उपाध्याय रोजगारीका लागि भारत जाने गर्थे । घरखर्च चलाउनकै लागि भारत जानुपर्दा उनी निकै भावुक बन्थे । अर्काको देशमा दुःख गर्नुभन्दा आफ्नै गाउँघरमा केही व्यवसाय गर्नुपर्छ भनेर उनले गाईपालन गरे ।

२०७२ सालदेखि चन्द्रप्रसादले पाईपालन व्यवसाय सञ्चालन गरे । पहिलो वर्ष उनलाई केही समस्या भए पनि दोस्रो वर्षदेखि उनको व्यवसाय निकै फस्टायो । झण्डै २० वटा गाई पालेका उनले वार्षिक ५ लाख रुपैयाँबराबर रकम दूध बिक्रीबाटै कमाई गर्न थाले ।

उनको पुर्ख्यौली पेशा पनि कृषि नै भएकाले गाईपालनलाई थप विस्तार गर्ने सोचसहित उनले लगानी बढाए । पत्नीले पनि उनलाई व्यवसायमा निकै सहयोग गरिन् । तर, एकाएक विश्वभर फैलिएको कोरोनाभाइरसले गर्दा उनको व्यवसाय चौपटजस्तै भयो । गत वर्ष झण्डै चार महिना लकडाउन गर्दा उनको फार्ममा दैनिक उत्पादन हुने सयौँ लिटर दूधले बजार पाएन । जसका कारण उनको झण्डै ५ लाखभन्दा धेरै रकम खेर गयो ।

उनी भन्छन्, ‘गत वर्ष त्यत्रो घाटा व्यहोर्नुपर्‍यो । यो साल पनि उस्तै समस्या आइपर्‍यो ।’ चन्द्रप्रसादको फार्ममा आजभोलि दैनिक ११० लिटर बराबर दूध उत्पादन हुन्छ । तर, वैशाख १४ गतेदेखि निषेधाज्ञा लागु भएका कारण दूधले बजार पाउन सकेन । केही नियमित ग्राहकले मात्र दूध लैजाने गरेको उनले सुनाए ।

उनका अनुसार पाँच लिटर दूध पनि बिक्री गर्न हम्मे–हम्मे परेको छ । एक सय पाँच लिटर दुख खेर गइरहेको छ । ‘गाई दुहुन्छौँ, केही आफु खान्छौँ केही गाईलाई खुवाउँछौँ,’ उनले भने, ‘बजारमा दूध लैजान त प्रहरीले त दिन्छ, तर ग्राहकहरू कोरोनाको डरले घरबाहिर नै आउँदैनन् । डेरीले बिक्री नहुने भन्दै राख्न मान्दैनन् ।’

उनले गत वर्षदेखि जग्गाको भाडा तिर्न नसकेको गुनासो सुनाए । ‘गत वर्षको एक लाख तिर्नै बाँकी छ,’ उनी भन्छन्, ‘यो वर्ष पनि भाडा तिर्न सकिने अवस्था छैन ।’ चन्द्रप्रसादमात्र हैन, वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीका दीपेन्द्र कार्कीको समस्या पनि उस्तै छ । कार्कीको फार्ममा १४ वटा गाईबाट दैनिक १५० लिटर दूध उत्पादन हुन्छ । अहिले निषेधाज्ञाका कारण सबै दूध बजारसम्म पु¥याउन नसकिएको उनले बताए । केही मात्रामा दूध बजारमा गएको र बाँकी दूधको पनिर बनाउने गरेको उनको भनाइ छ ।


गत वर्षको लकडाउनबाट झण्डै ४ देखि पाँच लाख रुपैयाँ बराबरको घाटा व्यहोरेका उनले यो वर्ष पनि उस्तै समस्या झेल्नुपरेको गुनासो सुनाए । विगत १२ वर्षदेखि गाईपालन व्यवसायमा रमाइरहेका दीपेन्द्र सुर्खेतकै प्रतिष्ठित कृषकका रुपमा चिनिन्छन् ।

यही व्यवसायबाट अन्तर्राष्ट्रिय कृषि तारा अवार्डसमेत पाइसकेका उनी २०६४ सालमा चितवनमा सिभिल इञ्जिनियर पढ्न गएका बेला त्यहाँको कृषि क्रान्ति देखेर मोहित भएका थिए । ०६५ मा चितवनबाटै तीनवटा माउ गाई र भैरहवाबाट ४ वटा माउ गाई ल्याएर व्यवसाय सुरु गरेका उनले वार्षिक ६÷७ लाख रुपैयाँ कमाई गर्दै आएका थिए । तर, कोरोनाले समस्या थपिदियो ।

‘वीरेन्द्रनगरमा अहिले प्रतिलिटर दूध ६० रुपैयाँमा बिक्री हुने गरेको छ,’ दीपेन्द्र भन्छन्, ‘यही व्यवसायबाट राम्रो आम्दानी भईरहेको थियो । तर, किसानलाई नै समस्या दिन कोरोना आयो ।’

सरकारले आफूजस्ता गरिखाने किसानको पक्षका कुनै कार्यक्रम नल्याएको उनको गुनासो छ । दीपेन्द्रले गाईपालनका साथसाथै तरकारी खेती पनि गरेका छन् । झण्डै २२ कठ्ठा जमिनमा तरकारी खेती गरेका उनले तरकारीले समेत बजार नपाएको गुनासो गरे । ‘बजारमा बाहिरको तरकारी ल्याउन दिईएको छ । तर, स्थानीय तरकारी बजारीकरणको कुनै व्यवस्थापन भएको छैन,’ उनले भने ।

पंखबहादुर शाही / राताेपाटी


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार