दैलेखमा निषेधाज्ञाको पहिलो दिन : सडक सुनसान

अमर सुनार

दैलेख  । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका जिल्ला प्रशासन कार्यालय दैलेखले मंगलदेखि एक साता जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्न प्रशासनले यो निषेधाज्ञा जारी गरेको हो ।

स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्न, भीडभाड नगर्न, २५ जनाभन्दा बढी भेला नगर्न आदेश दिएको स्थानीय प्रशासनले नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि कडाइ गर्दै निषेधाज्ञा जारी प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा, सवारी साधन, पसल तथा व्यवसाय र आवश्यक बाहेकको कामकाजका लागि हुने हिँडडुलमा समेत निषेध गरिएको छ ।

अत्यावश्यक काम बाहेक हिँडडुल गर्न नपाइने गरी जारी गरिएको निषेधाज्ञाको पहिलो दिन आज बिहानैबाट मुख्य बजार दैलेख सदरमुकाम, दुल्लुलगायत स्थानीय तहका मुख्य बजार सुनसान छन् । मानिसको आवतजावत र जमघट हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ ।

दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, फलफूल, तरकारी, ग्यासका पसल तथा व्यवसाय जनस्वास्थ्यका मापदण्डहरुको पूर्णरुपमा पालना हुनेगरी बिहान ६ बजेदेखि साढे ८ बजेसम्म मात्र सञ्चालन गरिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक डीएसपी अनुपम श्रेष्ठले बताउनुभयो ।

फाटफुट रुपमा मोटरसाइकलहरु सञ्चालन भएपनि ठूला सवारी साधान पूर्णरुपमा बन्द छन् । औषधि पसल सञ्चालन भइरहेका र बिनाकाम हिँड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिंदै सम्झाइबुझाइ गरेर छाडिएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीका अनुसार मंगलबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय २१ पुगेको छ । दैलेखमा वैशाखमा मात्र ७५ वर्षीय र ३५ वर्षीय पुरुष र २७ वर्षीया गर्भवती गरी तीन जनाको कोरोनाबाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया