दैनिक एकसय सिलिण्डर उत्पादन तत्काललाई अक्सिजन अभाव ट¥यो

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतको नयाँ अक्सिजन प्लान्ट सुरु भएको छ । दैनिक एकसय सिलिण्डर अक्सिजन उत्पादन गर्नेगरी उत्पादन सुरु भएको हो । नयाँ प्लान्ट सुरु भएसँगै कोराना संक्रमितलाई उपचारमा सहज भएको छ ।
प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएसँगै संक्रमितको उपचारमा ठूलो राहत मिलेको छ ।

अब अक्सिजन अभावमा कुनै पनि संक्रमितको मृत्यु हुने छैन । आइतबारसम्म कोरोना संक्रमितहरु अक्सिजनको अभावमा छटपटाउनु पथ्र्याे । अक्सिजन अभावकै कारण कतिको त मृत्युसमेत भएको थियो । अभावका कारण उपचारमा खटिने डाक्टर र कुरुवाहरुलाई २४ घण्टा अक्सिजन व्यवस्थापनको तनाव हुन्थ्यो । कुरुवाहरु अक्सिजनका लागि हारगुहार गर्थे ।

नेपालगञ्जबाट अक्सिजन समयमा आपूर्ति नहुँदा संक्रमितको मृत्यु हुन्थ्यो । अस्पतालमा अक्सिजन पुग्दा खोसाखोस नै गर्नुपथ्र्याे । तर सोमबारदेखि अक्सिजन अभावको छट्पटी हटेको छ । कोरोना अस्पतालको आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै तत्काललाई अक्सिजन अभाव टरेको हो । तत्काललाई कुरुवाहरुले अक्सिजनका लागि हारगुहार गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

‘हिजो (आइतबार)सम्म अक्सिजनको अभावमा संक्रमितको मृत्यु हुन्छ कि भन्ने त्रास हुन्थ्यो’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्का भन्छन्, ‘आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि ठूलो राहत मिलेको छ, तत्काललाई संक्रमितको उपचारमा सहज हुन्छ ।’ अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट छन् । नयाँ अक्सिजन प्लान्टबाट दैनिक एकसय सिलिण्डर उत्पादन हुन्छ । पुरानो प्लान्टले दैनिक पाँचदेखि दशवटा सिलिण्डरसम्म अक्सिजन उत्पादन गदर्छन् । दुई वटा प्लान्टले हालको संक्रमितलाई उपचार सहज हुने खड्काले बताए ।

अक्सिजन उत्पादन सुरु भए पनि नेपालगञ्जबाट आपूर्ति कार्य भने रोकिने छैन । ‘अस्पतालको उत्पादनले ५०÷६० जना संक्रमितलाई धान्छ, तर संक्रमित बढ्नेक्रम रोकिएको छैन’ प्रदेश अस्पतालका कोरोना फोकलपर्शन डाक्टर केएन पौडेलले भने, ‘संक्रममितको दर अनुसार अझै दैनिक एकसय सिलिण्डर नेपालगञ्जबाट आपूर्ति गर्नुपर्छ ।’

बढ्दो संक्रमणको दर र अन्य विरामीको उपचारका लागि नेपालगञ्जबाट अक्सिजन आपूर्ति कायमै हुने पौडेलले बताए । ‘प्रदेश अस्पतालले कोरोना संक्रमित विरामीलाई सेवा दिनुपर्छ’ डाक्टर पौडेलले भने, ‘विरामीको चाप र संक्रमणको दरका कारण नेपालगञ्जबाट आपूर्ति रोकिंदैन ।’ नेपालगञ्जमा संक्रमण दर उच्च भएपछि कालिकोट, दैलेख, सुर्खेत, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यानका अन्य विरामीलाई उपचारका लागि सुर्खेत आउने गरेका छन् । संक्रमण नहुँदा सुर्खेत, सल्यान, रुकुमपश्चिम र जाजरकोटका अधिकांश विरामीहरु उपचारका लागि नेपालगञ्ज पुग्ने गर्थे ।

संक्रमितलाई पोषिलो खाना ! 

अबदेखि अस्पतालमा उपचाररत संक्रमितले पोषिलो खाना पाउने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन समितिको बैठकले अस्पतालमा उपचाररत संक्रमितलाई पोषिला खाना खुवाउने निर्णय गरेको हो ।


बैठकले हुम्ला, मुगु र डोल्पामा प्रति विरामी ६ सय, कालिकोट र जुम्लामा पाँचसय र अन्य जिल्लाहरुमा चारसयका दरले पोषिलो खाना खुवाउने व्यवस्था मिलाउन स्वास्थ्य सेवा निर्देशनालाई निर्देशन दिएको छ । यस्तै बैठकले कर्णाली प्रदेशका ७५ प्रतिशत स्वास्थ्य कर्मचारीलाई कोरोना नियन्त्रणमा खटाइने भएको छ । ‘२५ प्रतिशत स्वास्थ्यकर्मीलाई नियमित उपचारमा र ७५ प्रतिशत स्वास्थ्यकर्मीलाई कोरोना नियन्त्रणमा खटाउने निर्णय गरेको छ’ प्रदेश सरकारका प्रवत्तासमेत रहेकी आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले भनिन् ।

संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश अस्पताल सुर्खेतमा संक्रमितको उपचारका लागि पाँचसय बेड तयारी गर्ने निर्णय गरेको छ । हाल प्रदेश अस्पताल संक्रमितको उपचारका लागि एक सय बेड छन् । अस्पतालको क्षमता बृद्धि गरेर बनाइने पाँचसय मध्ये एकसय बेड अक्सिजन सहितका हुनेछन् ।

प्रदेश अस्पतालले संक्रमित थेग्न नसक्ने आँकलन गर्दै नेपाली सेनाको सहयोगमा थप तीन बेडको प्रिफ्याव हल बनाउने र कालिकोट, दैलेख, रुकुमपश्चिम, जाजरकोट र सल्यानका जिल्ला अस्पतालहरुलाई एक÷एक सय र हुम्ला, डोल्पा तथा मुगुमा ५०÷५० बेडको तयार गर्ने निर्णय गरेको छ । बैठकले भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकलाई नाकामै स्वास्थ्य परीक्षणका लागि होल्डिङ सेन्टर राख्ने, प्रदेश अस्पतालमा ४ र अन्य अस्पतालहरुमा २ जना काउन्सिलर राख्ने लगायतका निर्णय गरेको छ ।

मृतकका परिवारलाई एक लाख राहत

यस्तै कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई एक लाख रूपैयाँ दिने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट नागरिकको मृत्यु भएमा परिवारलाई राहत स्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

‘कोरोना संक्रमणबाट कुनै पनि नागरिकको मृत्यु भएमा उहाँका परिवारलाई एक लाख रूपैयाँ राहत दिने निर्णय गरेका छौं’ मन्त्री केसीले भनिन्, ‘विपद्को घडीमा नागरिकलाई राहत दिन यस्तो निर्णय गरिएको हो ।’ सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत रकम उपलब्ध गराउने छ ।

यस्तै मन्त्रीपरिषद् बैठकले कोरोना संक्रमितको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चौरजहारी अस्पतालसहित प्रदेशका हरेक जिल्ला अस्पताललाई एक÷एक करोड, मेहलकुना अस्पताललाई ५० लाख, दैलेख अस्पताललाई थप ५० लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार