सम्पादकीय : अक्सिजन उपलब्ध गराऊ

कोरोना संक्रमितका लागि अक्सिजन पहिलो आवश्यकता हो । अक्सिजनको सहायता विना संक्रमितलाई बचाउन समस्या हुने गरेको छ । पछिल्लो समय देशमा भित्रिएको नयाँ प्रकारको कोरोना भाइरसले गम्भिर प्रकतिका संक्रमित बढेका छन् । संक्रमितहरुको अवस्था हेर्दा अक्सिजन अनिवार्य चाहिने देखिएको छ ।

पछिल्ला दिनमा प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका संक्रमितहरु मध्ये अधिकांशलाई अक्सिजनको आवश्यकता परेको छ । यही बिचमा सबै संक्रमितले सहज रुपमा अक्सिजन नपाउने अवस्था सिर्जना भएको छ । केही संक्रमितले त अक्सिजन नै नपाएर प्राण त्यागेका घटनाहरु बाहिर आएका छन् । अस्पतालहरुमा अक्सिजनको अभाव छ । अक्सिजन भर्ने सिलिण्डरहरु पर्याप्त छैनन् ।

यसको मारमा कमजोर र आर्थिक अवस्था कमजोर भएका परिवारहरु परेका छन् । उनीहरुले प्राण जोगाउनका लागि अक्सिजन नै नपाउने अवस्था छ । अक्सिजन नपाएर मर्नुपर्ने अवस्था आउनु भने राज्यका लागि लज्जास्पद नै हो ।
कर्णाली यस्तो ठाउँ हो । जहाँ दुर्गम क्षेत्रका नागरिकले सहज रुपमा सामान्य उपचार पनि नपाउने अवस्था छ । संसारलाई नै थला पार्ने यो कोरोना महामारीसँग दुर्गमका स्वास्थ्य संस्था र चिकित्सकहरु कसरी जुध्लान् ?

त्यहाँको स्वास्थ्य पूर्वाधारले कसरी सामना गर्ला यो महामारीलाई ? यसकारण पनि कर्णालीको राजनीतिक तथा प्रशासनिक नेतृत्वले बेलैमा गम्भिर बन्नै पर्दछ । प्रदेश सरकारले सबै जिल्लामा महामारीसँग जुध्नका लागि अक्सिजन प्लान्ट संचालन गर्ने निर्णय त गरेको छ । तर सरकारी निर्णयहरु कार्यान्वयन हुन समय लाग्छ । अहिले नै महामारी र संक्रमण तीव्र गतिमा छ ।

यस्तो अवस्थामा तत्कालै सबै स्वास्थ्य संस्थामा अक्सिजनको व्यवस्थापन हुनु पर्दछ । तर प्रदेश राजधानी सुर्खेतमै रहेको प्रदेश स्तरको सबैभन्दा ठूलो अस्पतालमा त अवस्था असामान्य छ । भने दुर्गमको अवस्था कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ । यसकारण सरकारले गम्भिर भएर पहिलो प्राथमिकता अक्सिजनको जोहो गर्नु नै हो । पहिला नागरिकले प्राण जोगाउन पाउन् ।

हुनतः सरकारले विकास बजेट काटेर भए पनि महामारीबाट नागरिकलाई जोगाउने भनिरहेको छ । तर त्यो कहिले हुने हो । अहिले नै भन्न सकिने अवस्था छैन । आज संक्रमितका आफन्तहरुले प्रदेश अस्पतालमा आफ्ना परिवारका सदस्यलाई बचाउनका लागि अक्सिजनका सिलिण्डरहरु खोसाखोस गरिरहेको दृष्यले पनि अहिलेको अवस्तालाई चित्रण गरेको छ । वास्तवमा यो अवस्था हुनु दुखद् हो । यसको पछाडि धेरै कारणहरु छन् । तर मुख्य कारण भनेको राज्यको कमजोरी नै हो । महामारीप्रति गरिएको खेलाँचीको परिणाम हो ।

समयमै महामारीसँग जुध्नका लागि पूर्वतयारीहरु गरेको भए आज नागरिकले अक्सिजन नपाएर मर्नुपर्ने अवस्था आउने थिएन । तसर्थ कुनै पनि हालतमा नागरिकको बाँच्न पाउने अधिकारको रक्षा सरकारले गर्नु पर्दछ । यसका लागि यो महामारीमा नागरिकलाई बचाउने र सहज उपचार सुविधा दिने जिम्मेवारी पनि सरकारकै हो । यसकारण कुनै पनि हालतमा तत्काल अक्सिजनको पर्याप्त व्यवस्थापन र उपलब्ध गराउनेतर्फ सरकार गम्भिर बनोस् ।

तपाईको प्रतिक्रिया