प्राण जोगाउने अक्सिजन अभाव अस्पतालमा सिलिण्डर खोसाखोस

सुर्खेत । कर्णालीमा कोरोनाको संक्रमण बढ्दै गएको छ । गम्भिर खालका संक्रमितको संख्या बढेपछि अस्पतालमा उनीहरुको उपचारमा समस्या भएको छ । अस्पतालले संक्रमितको चाप थेग्न नसकेपछि अक्सिजन र बेडको अभाव हुन थालेको हो । मुख्यगरी प्रदेश अस्पताल सुर्खेतमा संक्रमितको उपचारमा समस्या भएको हो ।

वीरेन्द्रनगरमा नौ सय १८ जना संक्रिय संक्रमितहरु हाल होमआइसोलेसनमा बसेका छन् । उनीहरु रहरले नभई बाध्यताले होमआइसोलेसनमा बसेका हुन् । उनीहरु गम्भिर विरामी भएपछि मात्रै अस्पताल जान्छन् । सकेसम्म घरमा खटाएर बस्छन् । उनीहरु घरमै बस्नुपर्ने बाध्यात्मक अवस्था छ ।

वीरेन्द्रनगरमा संक्रमितको चाप थेग्न नसकेपछि प्रदेश अस्पतालमा अक्सिजनको हाहाकार नै भएको हो । अस्पतालमा अक्सिजन अभाव भएपछि संक्रमितका कुरुवाहरुले अक्सिजनका सिलिण्डरहरु खोसाखोस नै गर्न थालेका छन् । संक्रमितहरु घरमा बस्दा बालबच्चा र जेष्ठ नागरिकलाई पनि संक्रमणको सम्भावना हुन्छ ।

आइसोलेसन नहुँदा परिवार नै संक्रमित हुनुपर्ने अवस्था छ । तर जोखिम छ भन्ने जान्दाजान्दै पनि घरमै बस्नुपर्ने बाध्यात्मक अवस्था छ । किनकी गतबर्ष जस्तै सुर्खेतका कुनै पनि स्थानीय र प्रदेश सरकारले आइसोलेसन सेन्टरहरु सञ्चालन गरेको छैनन् । वीरेन्द्रनगरका सिमिति होटेलहरुले आइसोलेसन सञ्चालनमा ल्याएका छन् ।

तर यो बर्ष कोरोना संक्रमण खत्तरापूर्ण भएपछि प्रायः होटेलहरुले संक्रमित राख्न मान्दैनन् । अस्पतालको अवस्था पनि उस्तै छ । अस्पताल पुगेकाहरुले पनि सहज उपचार पाउने अवस्था छैन । अस्पतालमा पनि संक्रमितको उपचारका लागि अत्यावश्यक मानिने अक्सिजन अभाव छ । अस्पताल पुगेका प्रायः सबैलाई अक्सिजन दिनुपर्ने अवस्था छ । तर प्रदेश अस्पतालमा पर्याप्त अक्सिजन र सिलिण्डर छैनन् ।

अक्सिजन आएको बेलामा संक्रमितका लागि कुरुवाहरुले नै खोसाखोस नै गर्नुपर्ने अवस्था छ । कहिलेकाँही अक्सिजन नै पाइने अवस्था छैन । डाक्टरले निजी अस्पतालबाट सापटी लिएर काम चलाउनुपर्ने अवस्था छ । शनिबार अक्सिजन समयमै आपूर्ति नभएका कारण अक्सिजन हाहाकार भएको अस्पतालको कोरोना फोकलपर्शन डाक्टर केएन पौडेलले बताए । ‘सिलिन्डर भर्न समय लागेका कारण शनिबार आपूर्ति भएन’ डाक्टर पौडेलले भने, दिनदिनै संक्रमित बढ्दै छन्, अब त हरेक दिन अक्सिजनको हाहाकार हुन्छ ।’

अस्पतालमा हाल नेपालगञ्जबाट दैनिक एकसय २० देखि एकसय ५० सिलिन्डर आपूर्ति हुँदै आएको छ । जुन संक्रमितको संख्याअनुसार एकदमै न्यून हो । अस्पतालमा हाल ३८ जना जटिल प्रकृतिका संक्रमित छन् । उनीहरु सबैलाई अक्सिजन चढाउनुपर्छ । ‘गम्भिर विरामीहरुलाई त दैनिक दुईदेखि चार वटासम्म सिलिन्डर अक्सिजन चाहिन्छ’ डाक्डर पौडेल भन्छन्, ‘विरामीको तुलनामा आपूर्ति निकै न्यून हो ।’ अस्पतालमा संक्रमित बाहेकका विरामीलाई पनि दैनिक पाँचदेखि १० वटा सिलिन्डर अक्सिजन आवश्यक पर्छ । तर विरामी अनुपातमा आपूर्ति न्यून छ । यसले संक्रमितको ज्यान जोगाउनै कठिन हुने अवस्था आएको छ ।

‘३८ जना संक्रमितका लागि कम्तिमा दैनिक दुईसय सिलिन्डर आवश्यक पर्छ’ उनले भने, ‘जटिल प्रकृतिका संक्रमित बढिरहेको छन्, तत्काल आपूर्तिको मात्रा बढाउनुपर्छ ।’ समयमा अक्सिजन आपूर्ति नभएपछि संक्रमितहरु आत्तिने गरेको छन् । अक्सिजन अभावमै आफन्तको मृत्यु हुन्छ कि संक्रमितका कुरुवालाई चिन्ता बढेको छ । यसरी एकातिर अस्पतालमा बेड नपाउनु, पाएका विरामीले समयमा अक्सिजन नपाउनु र स्थानीय सरकारले आइसोलेसन सेन्टरहरु सञ्चालन गर्दा संक्रमण अझ उच्च हुने खत्तरा बढेको छ । यहीकारण कोरोना नियन्त्रणमा चुनौती थपिएको हो ।


कोरोना नियन्त्रणमा जुट्यो वीरेन्द्रनगर

संक्रमण फैलिएको झण्डै तीन हप्तापछि वीरेन्द्रनगर नगरपालिका कोरोना नियन्त्रणमा जुटेको छ । एक हप्ताअघि नगरवासीको कोरोना परीक्षण मात्रै सुरु गरेको वीरेन्द्रनगरले संक्रमण दर बढ्न थालेपछि आइसोलेसन र एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको हो ।

आइतबार उपप्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले साविकको नगर अस्पतलालमा ५० बेडको अक्सिजनसहितको आइसोलेन बनाउने निर्णय गरेको हो । ‘संक्रमण बढ्दै गएपछि नगरपालिकाले ५० बेडको आइसोलेसन बनाउने निर्णय गरेका छ’ ढकालले भनिन्, ‘तत्काल २५ बेडबाट सेवा दिन्छौँ ।’ हाल २५ बेडबाट सुरु गरेको आइसोलेसनलाई बेड तथा अक्सिनजको खरिद र स्वास्थ्यकर्मीको व्यवस्थापनपछि ५० बेडमा पु¥याइने छ ।

नगरपालिकाले आइसोलेसन सञ्चालनका लागि अस्थायी दरबन्दीमा दुई जना डाक्टर नियुक्त गर्ने निर्णय गरेको छ । ‘आइसोलेसनका लागि अक्सिजन खरिद र डाक्टरको नियुक्ती थाल्छौँ’ उनले भनिन्, ‘डाक्टर नियुक्त नहँुदासम्म प्रदेश अस्पतालसँग समन्वय गरेर सेवा दिन्छौँ ।’

नगर स्वास्थ्य शाखा, नगर अस्पताल र प्रदेश अस्पतालको समन्वयमा आइसोलेसन सञ्चालनमा ल्याइने छ । यस्तै नगरपालिकाले संक्रमितलाई अस्पतालसम्म पु¥याउनको लागि निःशुल्क एम्बुलेन्स सेवासमेत सुरु गरेको छ । कर्णाली प्रदेशको राजधानी समेत रहको वीरेन्द्रनगरमा संक्रमण दर उच्च छ ।

विकल्प खोज्दै प्रदेश अस्पताल

नेपालगञ्जबाट अक्सिजनको सहज आपूर्ति नभएपछि प्रदेश अस्पतालले विकल्प खोज्न थालेको छ । संक्रमितको उपचारमा सहजता ल्याउन अस्पतालले पुरानो अक्सिजन प्लान्ट भएको भवनमा संक्रमितलाई सिफ्ट गर्न थालेको छ । अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने उद्देश्यले जटिल प्रकृतिका संक्रमितलाई पुरानो अस्पतालमा सार्न थालिएको हो ।

पुरानो अक्सिजन प्लान्ट केही समयदेखि बिग्रिएको थियो । उक्त प्लान्टबाट दैनिक तीनदेखि आठ वटा सिलिन्डरसम्म अक्सिजना उत्पादन हुन्छ । पुरानो अक्सिजन प्लान्ट सुरु भए पनि विरामीको चापलाई भने थक्दैन । पौडेलका अनुसार पुरानो प्लान्टबाट १० जना संक्रमितलाई मात्रै अक्सिजना दिन सकिन्छ ।

अस्पतालको नयाँ अक्सिजना प्लान्ट सञ्चालन गर्न भने तत्काल सञ्चालमा आउन सक्ने अवस्था छैन । यसैबीच सुर्खेतमा अक्सिजनको हाहाकार हुन थालेपछि स्थानीय युवाहरुले अक्सिनका सिलिण्डर खरिद थालेका छन् । मिलन श्रेष्ठ र धर्म आचार्य लगायतका युवाहरुले अक्सिजन जुटाउने अभियान थालेका हुन् । संक्रमितका लागि अक्सिजन र अक्सिजनसहितको एम्बुलेन्स सञ्चालनका लागि रकम संकलन अभियान थालेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार