सम्पादकीय : विकासमा निरन्तरता

यतिबेला देशमा कोरोना महामारीको दोस्रो लहर चलेको छ । यो समय भनेको भौतिक निर्माणको काम तीव्र हुने बेला हो । कारण आर्थिक वर्ष सकिनै लागेको छ । अर्थात अब करिब साढे दुई महिनापछि नयाँ आर्थिक वर्ष सुरु हुन्छ । यसकारण पनि यो समयमा विकास आयोजनाको काम धमाधम हुने समय हो ।

बर्षभरी नभएको काम यही बेलामा अगाडि बढ्ने गर्दथे । प्रदेश सरकारले पनि कर्णालीमा वर्षका १० महिनामा नभएको काम असार मसान्त लाग्नै लाग्दै दुई महिनामा गर्दै आएको थियो । विकासतर्फको बजेट खर्च गर्ने महिना भनेकै बैशाखदेखि असार नै हुन् । तर यसपाली कोरोना महामारी फैलिएको छ । नागरिकको ज्यान नै धमाधम जान थालेकाले यसपाली भौतिक विकास निर्माणको काम के हुन्छ ?

भन्ने आशंका पैदा भएको छ । यस्तो अवस्थामा विकास बजेट कार्यान्वयन कसरी गर्ने भन्ने पीरलो अर्कोतर्फ छ । महामारीमा एकातिर विकास निर्माण रोकिने र अर्कोतर्फ बजेट नै कार्यान्वयन नहुने अवस्था छ । सरकारको ध्यान अहिले महामारी नियन्त्रणमा छ । राज्यका संयन्त्रहरु महामारीविरुद्ध नै केन्द्रित भएका छन् । यसकारण पनि कतै विकास आयोजनाहरुको काम रोकिने हो की भन्ने आशंका बढेको छ ।

कतिपय आयोजनाहरुको काम पनि रोकिएको अवस्था छ । सामान्य अवस्थामा त विकास आयोजनाको काम अलपत्र पर्दछ । तर अहिले यो कोरोना महामारीको बहानामा थप समस्या पैदा भएको छ । महामारीलाई नै देखाएर काम रोक्ने खतरा बढेको छ । यसले विकासमा धक्का पुग्ने देखिन्छ । यस्तो अवस्थामा कर्णालीमा भने प्रदेश सरकारले लकडाउन र निषेधाज्ञामा पनि विकास आयोजनाहरुको कामलाई जारी राख्ने रणनीति बनाएको छ ।

प्रदेश सरकारले आवश्यक सावधानी र सतर्कता अपनाएर विकास आयोजनाहरुको कामलाई नरोकिने जनाएको छ । वास्तवमा सरकारको यो कदमले विकास निर्माण पनि जारी रहने देखिएको छ । यसले आर्थिक वर्षको अन्तिममा भए पनि बजेट कार्यान्वयनमा सहजता ल्याउने छ ।


प्रदेश सरकारले मात्र होइन, स्थानीय र संघीय सरकारले पनि विकास आयोजनामा निर्माणको कामलाई निरन्तरता दिनेतर्फ ध्यान दिन आवश्यक छ । महामारीसँग जुध्न सहज अवश्य छैन । तर पनि आवश्यक सावधानी र सचेतता अपनाउन सकेमा काम गर्न सम्भव पनि छ ।

निर्माण सामग्रीको ढुवानीलाई निरन्तरता दिने र आयोजना स्थलमा मजदुरहरुको स्वास्थ्य मापदण्ड पालना गराएर काम अगाडि बढाउन आवश्यक छ । यसले महामारीको समयमा पनि विकास निर्माणको सन्देश दिनेछ । अर्कोतर्फ विभिन्न वहानामा अधुरा रहने विकास आयोजनाहरु पनि अगाडि बढ्नेछन् ।

यसकारण महामारीसँग जुध्दै आवश्यक सावधानी अपनाएर भौतिक निर्माणको कामलाई पनि निरन्तरता दिइनु पर्दछ । यसका लागि राज्यले आवश्यक रणनीति अपनाउन आवश्यक छ । यसो भएमा महामारीको यो संकटमा पनि विकास निर्माणको कार्यले नागरिकमा आत्मवल थपिने छ । विकास निर्माणको गतिले पनि तीव्रता पाउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार