अक्सिजन अभाव हुँदा भारतमा अस्पतालभित्रै थप १२ जनाको मृत्यु

एजेन्सी । अक्सिजन अभाव हुँदा भारतको कर्नाटनस्थित एक अस्पतालभित्र १२ जनाको मृत्यु भएको छ । कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको भारतमा यतिखेर अक्सिजन अभाव व्याप्त छ र सास फेर्न नसक्दा अस्पतालभित्र एकैसाथ दर्जनौं संक्रमितको ज्यान गइरहेको छ ।

अक्सिजन नपाउँदा चामाराजानगर जिल्लाको इन्स्टिच्यूट अफ मेडिकल साइन्समा उपचाररत १२ जना संक्रमितको मृत्यु भएको खबर भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका हुन् ।

कोरोना भाइरस संक्रमण भएपछि फोक्सोमा असर पर्छ र सास फेर्न गाह्रो हुन्छ। सो अस्पतालमा भर्ना भएका संक्रमितहरूले पनि यही समस्या भोगेका थिए। उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर भइसकेको थियो।

गएराति १२ बजेदेखि २ बजेसम्म अक्सिजन प्रेसर निकै कम भएको चिकित्सकहरूले बताएका छन्। त्यहाँ रहेका १२२ जना बिरामीमध्ये १२ जना कोरोना संक्रमितहरू अन्य रोगबाट समेत ग्रसित थिए ।

अक्सिजनको प्रेसर बढाउन खोज्दा पनि नसकिएको आज बिहानसम्म १२ जनाको ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ। ज्यान गुमाएका सबै संक्रमित भेन्टिलेटरमा थिए । अस्पतालमा अक्सिजन सपोर्ट नदिइएका अन्य ११ जना बिरामीको पनि आज मृत्यु भएको छ। उनीहरूको मृत्युको कारण अझै खुलाइएको छैन।

तपाईको प्रतिक्रिया