काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै पूर्वराजदम्पती, पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्रीदेखि दलका नेतालाई काेराेना संक्रमण भएकाे छ। पछिल्लो एक सातामा सत्तारूढ एमालेका सात र प्रमुख प्रतिपक्षी कांग्रेसका एक नेता कोरोना संक्रमित भएका छन्।
पूर्वराजा र पूर्वरानी वैशाख ७ गते संक्रमित भएका थिए। भारतको हरिद्वारमा गंगास्नान गरेर स्वदेश भएको दुई दिनपछि उनीहरुमा संक्रमण पुष्टि भएको हो। दुवै जना थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन्। पूर्वराजा ज्ञानेन्द्र अवस्था सामान्य रहे पनि पूर्वरानी कोमलको अवस्था जटिल रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। आईसीयूमा रहेकी पूर्वरानीलाई बिहीबार प्लाज्मा थेरापीसमेत गरिएको छ। उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ।
संक्रमित हुनेमा अन्यमा एक पूर्वप्रधानमन्त्री र तीन जना बहालवाला मन्त्री छन्। पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनाल पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका थिए। उनलाई वैशाख १८ गते कोरोना पुष्टि भएको हो।
कोरोना भएसँगै निमोनिया देखिएपछि शनिबार उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ।पछिल्लोपटक कोरोना संक्रमित हुनेमा पर्यटनमन्त्रीसमेत रहेका एमाले नेता भानुभक्त ढकाल, ऊर्जामन्त्रीसमेत रहेका एमाले नेता टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, एमाले पोलिटब्युरो सदस्य विजय पौडेल, केन्द्रीय सदस्य खिमलाल भट्टराई, माधव ढुंगेल र विष्णु रिजाल छन्।
यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि संक्रमित भएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत आफू संक्रमित भएको पुष्टि गर्दै कांग्रेस प्रवक्ता शर्माले होम आइसोलेसनमा रहेको जानकारी गराएका छन्।
सबैलाई सजग बन्न भन्दै उनले ट्विटरमा लेखेका छन्, ‘ज्वरो र जिउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब दिएँ। बिहानीपख रिपोर्ट आयो–पोजेटिभ। टेकुका डा. मित्र अनुप बास्तोलाको निर्देशनअनुरूपको औषधि सेवन सुरु गरेको छु। डेरामै आइसोलेसनमा छु। लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।’
मन्त्री ढकालले आइतबार ट्विटरमार्फत उनले आफू र आफ्नी पत्नीमा कोरोना संक्रमण देखिएको जानकारी गराएका थिए। उनले लेखेका थिए, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ। हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य छ र हामी निवासमा नै आराम गरिरहेका छौं।’
त्यस्तै ऊर्जामन्त्रीसमेत रहेका एमाले नेता रायमाझीलाई वैशाख १४ गते संक्रमण भएको पुष्टि भएको हो। मन्त्री रायमाझी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत छन्। उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
एमाले नेताहरू खिमलाल भट्टराई, माधव ढुंगेल र विष्णु रिजाल भने होम आइसोलेसनमा छन्। आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरुले बताएका छन्। यस्तै खानेपानी तथा सरसफाइमन्त्री मणि थापालाई पनि कोरोना संक्रमण भएको छ। वैशाख १७ गते शुक्रबार संक्रमित भएका उनी घरमै आइसोलेसनमा छन्।
एमाले पोलिटब्युरो सदस्य विजय पौडेल बौद्धस्थित खाङ्ग्री अन्तर्राष्ट्रिय अस्पतालको आईसीयूमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था सुधारिँदै गएको आफन्तले जानकारी दिएका छन्। पौडेलका पिता पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ। उनी वैशाख १७ गते संक्रमित भएका हुन्। नेपाल समय
युग संवाददाता । । २० बैशाख २०७८, सोमबार १३:५६