जो भाईको सहयोगमा निजामति क्षेत्रमा होमिए

कसैको सानो साथ र सहयोग महत्वपूर्ण काम बन्नसक्छ । समय अनुसार बाटो देखाउने र परिस्थिति अनुसार साथ दिनेहरुको योगदान जीवनमा सबैभन्दा महत्वपूर्ण हुन्छ । मनबहादुर थापाले पनि जीवनको महत्वपूर्ण समयमा बाटो देखाउने साथी र अप्ठेरो परिस्थितिमा साथ दिने भाइको साथ पाए । उच्च शिक्षा अध्ययन गर्न नेपालगञ्ज पुगेका उनलाई होस्टेलमा पढ्ने साथीले लोकसेवा आयोग अध्ययन गर्नुपर्छ भन्ने बाटो देखाए । भाइले नेपालगञ्ज बस्दा लाग्ने खर्चको जोहो गरिदिए । उनलाई लोकसेवा पढाउन भाइले भारतबाट खर्च पठाए । परिणामत मनबहादुरले निजामति क्षेत्रमा प्रवेश गर्न अवसर पाए । प्रस्तुत छ, ठाँटीकाँध गाउँपालिका दैलेखका प्रशासकीय अधिकृत उनै थापाको कर्मचारी क्षेत्रको अनुभव र जीवन भोगाइमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

 

संघर्षपूर्ण बाल्यकाल
मनबहादुर थापा घरको जेठो छोरा हुन् । ठाटीकाँध गाउँपालिका वडा–६ भनाचौरमा बुवा विरबहादुर र आमा तुली थापाको कोखबाट २०५१ साल जेठ १२ गते उनको जन्म भएको हो । गाउँले परिवेश । कृषक परिवार । निम्न आर्थिक स्थिति । यि तीन विषयका कारण उनको बाल्यकाल संघर्षपूर्ण रह्यो ।

कृषक परिवारमा जन्मिएका कारण कृषि पेशाबाटै संघर्ष सुरुभयो । कृषि पेशामै सुख, दुःख विताए । स्कुल पढ्दा पनि साँझ विहान मेलापातमा गर्थे । ‘घरको जेठो छोरा भएकै कारण मेलापात छुटेन’ उनी भन्छन्, ‘बुवा इन्डिया जाँदा त खेतबारी आफैले धान्नुपथ्र्याे ।’

घरखर्च चलाउन उनको बुवाले ६ महिना भारत र ६ महिना खेतीपातीमा विताउँथे । मेलापात, खेतीपाति र अर्मपर्ममा बुवाआमालाई सघाउनु उनको मुख्य दायित्व थियो । निम्न आर्थिक अवस्थाकै कारण धेरै अभावहरु धेरै भोगे । तर अभावदेखि कहिले हारेनन् । बरु अभाव, दुःख र संघर्षबाट सफलता प्राप्तिको खोजी गरे ।

अभावले पढाइमा अब्बल बनायो

मनबहादुरले बाल्यकालमै धेरै अभावहरु भोगे । आर्थिक अवस्था कमजोर हुँदाका पीडाहरु खेपे । आर्थिक अभावमा मनका रहर अधुरै राखे । तर यही अभावले उनलाई धेरै ज्ञान दियो । जीवनमा संघर्ष र सफलताको सुत्रहरु सिकायो । परिणामत उनी सानैदेखि पढाइमा मेहनती बने । मेलापात गर्दै कखरा पढे । गाउँकै बालकल्याण प्राथमिक विद्यालय गुवालचिङबाट कक्षा १ देखि ४ र कृषि माध्यमिक विद्यालय लकान्द्राबाट कक्षा ५–१० सम्मको अध्ययन पुरा गरे ।

माध्यमिक तहसम्म पढाइमा उनी अब्बल थिए । माध्यमिक तहमा कहिले प्रथम, दोस्रो र तृतिय हुन्थे । तर तृतियदेखि तल्लो तहमा झरेनन् । अध्ययनसँगसँगै उनी भलिबल खेलको पनि पारखी थिए । उनले विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप अन्रगत भलिबल प्रतियोगिता कहिलै छुटाउँथेनन् ।

आर्थिक रुपमा कमजोर उनका लागि उच्च शिक्षा अध्ययन गर्नु सहज थिएन । पढाइमा अब्बल भएका कारण अन्य उच्च शिक्षा पढ्ने धोको पुरा गरेरै छोड्ने बाचा गरे । बरु एसएलसी दिएर दुई÷चार पैसा कमाउनकै लागि इन्डिया पुगे । एसएलसीको रिजल्ट आएपछि केही रकम जम्मा गरेर नेपाल फर्किए । नेपालगञ्जको होलिलेन्ड माध्यमिक विद्यालयबाट साइन्स विषयमा प्लसटु गरे । त्यही समय हो । उनी बस्ने होस्टेलमा प्यूठानका रेशम केसी बस्थे । तिनै केसीले उनलाई लोकसेवा अध्ययन गर्नुपर्छ भन्ने बाटो देखाए । स्थायी जागिरका लागि लोकसेवा सबैभन्दा राम्रो हुने बताए ।

तर त्यो बेलासम्म उनलाई घरको आर्थिक अवस्थाले नराम्रोसँग पिरोली सकेको थियो । लोकसेवा पढ्ने तीव्र इच्छाशक्ति भए पनि नेपालगञ्ज बस्न सक्ने अवस्था थिएन । त्यहीकारण प्लसटु पढ्न वित्तिकै पुनः इन्डिया गए । जागिर खाने रहर हुँदाहुँदै इन्डिया गएका उनलाई भाई राजबहादुर थापाले नेपाल फर्काइ दिए । ‘जागिर खाने सक्ने भए खर्च म बेहोर्छु, तिमी लोकसेवा पढ । खर्चको चिन्ता नमान’ भाई राजबहादुरले यस्तै भने । लोकसेवा तयारी गर्दा लाग्ने सम्पूर्ण खर्च बेहोर्न बचन दिए । भाइले इन्डियामा रातदिन मजदुरी गरे ।

महिना÷महिनामा खर्च पठाए । नभन्दै तयारी गरेको ६ महिनामै स्थायी जागिर खाइहाले । ‘मंसिरदेखि तयारी गर्न थालेको हुँ, बैशाखमा पोष्टिङ भइहालँे’ उनी भन्छन्, ‘होस्टेलमा बस्ने अग्रज दाइले देखाएको बाटो र भाइको सहयोगकै कारण सफलता हात परेको हुँ ।’ जागिरपछि त्रिभुवन विश्वविद्यालयमा प्राइभेटबाट स्नातक पुरा गरे । उनी हाल महेन्द्रबहुमुखी क्याम्पस नेपालगञ्जमा स्नातकोत्तरमा अध्ययनरत छन् ।

प्रहरी बन्ने रहर थियो

सशस्त्र द्वन्दको समय गाउँमा सुरक्षाकर्मीहरु गइरहन्थे । ‘म पनि ठूलो भएपछि आर्मी वा प्रहरी बन्नुपर्छ’ त्यतिबेला उनले सोच्थे । सके आर्मी नभए प्रहरी बनेर देशको सेवा गर्ने सानैदेखिको रहर थियो । प्रहरी हुने उद्देश्यले २०७२ सालको असइको परीक्षा पनि दिए । तर त्यहाँ सफल भएनन् । पछि लोकसेवाको अध्ययनलाई नै निरन्तरता दिए । २०७३ साल भदौ ५ गते बाँसगढी नगरपालिका बर्दियामा नायव सुब्बामा पास भए । त्यो लोकसेवा आयोगले लिएको परीक्षा थिएन । तर स्थानीय तह अन्तरगतको स्थायी जागिर थियो ।

स्थायी जागिरे भएको दिन उनी जीवनमा सबैभन्दा धेरै खुशी भए । पछि २०७३ साल पुस ३ गते लोकसेवा आयोगको परीक्षामा सफल भए । त्यसपछि केही समय रारा निकुञ्ज मुगुमा विताए । २०७६ साल पुसमा अधिकृतको पास भए । अधिकृत भएपछि जन्मभूमि नै कर्मथलोको रुपमा रोजे । पुसदेखि उनी ठाँटीकाँध गाउँपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । सकेसम्म आफ्नै गाउँमा बसेर नागरिकको सेवा गर्ने उनको इच्छा छ । ‘जन्मेकै ठाउँमा सेवा गर्छु भनेर आफ्नै ठाउँ रोजेको हुँ’ उनी भन्छन्, ‘समयले साथ दिएसम्म गाउँमै बसेर सेवा गर्छु ।’

तपाईको प्रतिक्रिया