ट्रम्पसँग भेटेका किमले बाइडेनलाई धम्क्याए

 

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग पटक–पटक भेटेका उत्तर कोरियाली शासक किम जोङ उनले वर्तमान राष्ट्रपति जो बाइडेनलाई भने धम्क्याएका छन्।

प्योङयाङले बाइडेनबाट ‘निकै ठूलो गल्ती’ भएकाले अब अमेरिकाको हालत गम्भीर बन्ने चेतावनी दिएको हो । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रमबारे आफ्नो रणनीति घोषणा गर्नु ठीक अघि किमले अमेरिकालाई चेतावनी दिएका हुन्।

बाइडेनले हालैको एक वक्तव्यमा उत्तर कोरियालाई वैश्विक सुरक्षा निम्ति ठूलो खतरा भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा शत्रुतापूर्ण नीति लिने बताएका थिए। यसैकारण अमेरिकाविरुद्ध कोरिया चिढिएको हो।

ह्वाइट हाउसस्थित बाइडेन प्रशासनले उत्तर कोरियासँगको सम्बन्धमा निकै नापतौल हुने जानकारी दिइसकेको छ। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले भनेकी छिन्, ‘उत्तर कोरियामाथि अपनाउने अमेरिकी नीतिबारे समीक्षा बैठक सकएको छ। राष्ट्रपति बाइडेनले अघिल्लो प्रशासनबाट धेरै कुरा सिक्नुभएको छ, उत्तर कोरियाको परमाणु योजना रोक्न अमेरिका असफल रह्यो। हामी अब रणनीतिक धैर्यताका साथ काम गर्दैनौँ, उत्तर कोरियासँग मोलतोल हुन्छ।’

उत्तर कोरियाको आणविक कार्यक्रमसँग त्रस्त जापान र दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग पनि यसबारे समीक्षा बैठक राख्न सकिने अमेरिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया