निषेधाज्ञाले रोकियो परीक्षा, के भन्छ त्रिवि ?

काठमाडौं : पछिल्लो समय कोभिड–१९ संक्रमण तीव्र रुपमा बढेपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बाँकी वार्षिक परीक्षा स्थगित गरेको छ। बिहीबारबाट निषेधाज्ञा भएपछि त्रिविले सार्वजनिक सूचना निकालेर ‍मंगलबारबाटै परीक्षा स्थगित गरेको हो।

निषेधाज्ञा भएको चार दिन बितिसक्दा पनि त्रिविले अब हुने परीक्षाबारे जानकारी दिएको छैन । जसले गर्दा परीक्षार्थी अन्योलमा छन्। अब परीक्षा कसरी हुन्छ भन्नेमा परीक्षार्थी चिन्तित छन् ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाको विषयमा अहिलेसम्म केही निर्णय नगरिएको बताए । ‘परीक्षा कसरी गर्ने विषयमा केही निर्णय लिएका छैनौँ,अब २२ गतेसम्म स्थिति हेरेपछि मात्र यस विषयमा छलफल गरी निर्णय लिन्छौँ ।’

अवस्था सामान्य भए अनलाइनबाट नभई भौतिक उपस्थितिमै परीक्षा गराउने उनले बताए। निषेधाज्ञा जारी हुनुअघि मानविकी, व्यवस्थापन, शिक्षा संकायका वार्षिक परीक्षा सञ्चालन हुँदै आएका थिए।

परीक्षा नियन्त्रक जोशीका अनुसार सबै संकायको प्रथम वर्षको वार्षिक परीक्षामा एक लाख ५० हजार विद्यार्थी सम्मिलित छन् भने, एक लाख ७० हजार विद्यार्थीको परीक्षा कोभिडका कारण अहिलेसम्म रोकिएको छ ।

शैक्षिक सत्र बचाउन त्रिवि के गर्दै छ ?

निषेधाज्ञाका कारण शैक्षिक सत्र खेर जान नदिन त्रिविले मातहतका सबै क्याम्पसलाई अनलाइन माध्यमबाट पढाइ सुचारु गर्न निर्देशन दिएको जोशी बताउँछन् । ‘कोरोना कहरले सबै भौतिक रुपमा गरिने पठनपाठन बन्द भएको छ, ’उनले भने, ‘यसले शैक्षिक सत्रमा असर पुग्ने देखिन्छ, त्यसैले हामीले अनलाइन माध्यमबाट पनि पढाउन सबैलाई निर्देशन दिएका छौं, मास्टरको भर्ना खुलाएको छौं।’

उनका अनुसार सार्वजनिक सूचना जारी गरेर नै शैक्षिक सत्र बचाउन परीक्षार्थीको प्रस्ताव लेखन,थेसिस एवं मौखिक परीक्षा भाइभासमेत उचित प्रबन्धसहित विगतकै जसरी सञ्चालन गरिने गरी मातहतका सबै क्याम्पसलाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया