वली माओवादीमा लागेपछि एकल बहुमतको सरकार बनाउने एमालेको प्रयासमा धक्का

काठमाडौं : तत्कालिन नेकपाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री (वली) माओवादी केन्द्रमा प्रवेश गरेपछि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ।

सांसद वलीले पार्टी परिवर्तन गरेपछि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले बहुमत गुमाएको हो। कूल ८१ सदस्य रहेको लुम्बिनी प्रदेशसभामा नेकपा एमालेबाट ४१ जना सांसद थिए । प्रदेशसभामा बहुमत रहेको उनको पक्षमा ४० जना सांसद मात्र भएका छन् ।

सरकार निर्माण गर्न वा टिकाउनका लागि ४१ जना सांसदको आवश्यकता पर्दछ। सांसद बहुमत गुमाएकाले पोखरेल नयाँ मुख्यमन्त्री बन्न नपाउने भएका छन्। मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएकाले नयाँ मुख्यमन्त्री बन्न धारा १६८ को १ बाधक बनेको छ ।

उनले संविधानको धारा १६८ को २ अनुसार बहुमतको आधारमा मुख्यमन्त्रीको शपथ लिनुपर्छ। त्यसपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। जसपाले पदमुक्त गरेका दुई जना समानुपातिक सांसदको नियुक्ती प्रक्रिया अघि बढाइसकेको छ। त्यसपछि जसपाको सांसदको संख्या चार, माओवादी केन्द्रका सभामुखसहित १९ कांग्रेसको १९ र जनमोर्चाको १ गरेर ४३ हुन्छ ।

दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन्। सर्वोच्चले नेकपा खारेज गरेपछि उनले माओवादी केन्द्र रोजेकी हुन्। वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेकी छिन् । वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी श्रीमती हुन् ।

तपाईको प्रतिक्रिया