काठमाडौंलाई राहत, अरुलाई आहत

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तालिकालाई लिएर सुरुमै धेरै प्रश्न उठेका थिए । लगातारको खेल अनि खेलाडीलाई रिकभरीको समय नपुग्ने प्रश्न आयोजक सामु तेर्सिएका थिए ।

एनएसएलका निर्देशक श्रियन्स कार्कीले फिफाको नियम अनुसारनै समय पुर्र्याएर तालिका सार्वजनिक गरेको बताएका थिए । उनले फिफाको नियम अनुसार ४८ घण्टा समय छुट्टाएर खेल तालिका सार्वजनिक गरेको बताएका थिए । उनको जिकिर थियो, छोटो समयका कारण धेरै समय ग्याप राख्न सकिएन ।

प्रिमियर लिग फुटबलको प्रसङ्ग कोट्याउँदै उनले भनेका थिए, ‘प्रिमियर लिगमा लामो समयको खेल तालिका छ । त्यसमा ७२ घण्टा अनिवार्य क्लबलाई विश्राम दिनु पर्ने भन्ने छ । तर, हामीले छोटो समयमा लिग सक्नु पर्नेछ । त्यसैले हामीले कम्तिमा पनि ४८ घण्टा सबै क्लबलाई रिकभरी समय दिएका छौ ।’

एनएसएलको तेस्रो चरणको खेल नसकिदै व्यस्त खेल तालिकाले खेलाडी र क्लबलाई समस्यामा पारेको छ । पर्याप्त रिकभरीको समय नपाएको उल्लेख गर्दै क्लबहरुले खेलाडी गुमाउनुपरेको दुखेसो पोख्न थालेका छन् ।

तपाईको प्रतिक्रिया