काेराेना राेकथाम तथा नियन्त्रणका लागि विवेकशील साझाका सरकारलाई ६ सुझाव

‘सरकार दायित्वबाट पन्छिनु दुःखद’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिप्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ। सरकार आफ्नो दायित्वबाट पन्छिन नहुने जनाउँदै विवेकशील साझाले मन्त्रालयको उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण समेत भएको जनाएको छ।

कोभिड १९ संक्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको र संक्रमितलाई अस्पतालमा शैय्या उपलब्ध गराउनसमेत नसकिने भनी दिएको अभिव्यक्ति आपत्तीजनक भएको बताउँदै पार्टीले जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाएर नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा जोड दिएको छ।

Print

दैनिक साढे पाँच हजार संक्रमण देखिएको स्थितिमै सरकारले लत्तो छाडिदिनु एकदमै गैह्रजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय भएको जनाउँदै पार्टीले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूका निजी अस्पतालहरूमा समेत कोरोना सङ्क्रमितको उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति र स्रोत–साधनको समुचित प्रयोग गर्न समेत सुझाव दिएको छ।

त्यस्तै सेना र प्रहरीसमेतको सहयोग लिएर कोरोनाबाट प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको स्थापना गर्न, देशभित्र र देश बाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्न, चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पीपीईजस्ता आवश्यक सामग्री सहयोग लिन, कोभिड १९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्चालन गर्न पनि सुझाव दिएको पार्टीका प्रवक्ता शरदराज पाठकले जनाए।

यस्तै साे पार्टीले काेराेना राेकथाम तथा नियन्त्रणका लागि ६ बुँदे सुझाव पनि दिएको छ।

यस्ता छन् सुझावहरु

१) काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूका निजी अस्पतालहरूमा समेत कोरोना सङ्क्रमितको उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति र स्रोत-साधनको समुचित प्रयोग।
२) सेना र प्रहरीसमेतको सहयोग लिएर कोरोनाबाट प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको स्थापना।
३) सेना र प्रहरीकासहित देशभित्र र देश बाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्न अपिल।
४) मित्र राष्ट्रहरू खास गरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पी.पी.ई. (PPE) जस्ता आवश्यक सामग्री सहयोगको अपिल।
५) हाल रोकिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्चालन।
६) निषेधाज्ञा अवधि लम्ब्याउनुपर्ने अवस्था आइ परे श्रमिक तथा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न वर्ग विगतमा जस्तै खानै नपाउने गरी समस्यामा पर्ने हुनाले त्यस्तो स्थिति आउन नदिन अहिलेदेखि नै आवश्यक तयारी।

तपाईको प्रतिक्रिया