पर्यटन व्यवसाय फेरि ठप्प, बर्दिया निकुञ्जका सबै गतिविधि रोकिए

बर्दिया : २०७६ चैत्र ११ गते सरकारले देशव्यापी रुपमा लकडाउन गरेसँगै दशैभरको पर्यटन व्यवसाय ठप्प भयो। कोरोनाको महामारी केही मात्रामा कम भएपछि सुरु भएको पर्यटन व्यवसाय फेरी ठप्प बनेको छ ।

कोरोना महामारी देशव्यापी रुपमा फैलिएसँगै विभिन्न जिल्लाहरुले लकडाउन र निषेधाज्ञा गरिरहेका छन्। दोस्रो चरणको लकडाउनले बर्दियाको पर्यटन व्यवसाय फेरी ठप्प बनेको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण प्रसाद भट्टराइले बताए। ‘कोरोना महामारीले नराम्ररी थला परेको पर्यटन व्यवसाय भर्खरै माथि उठ्न लागेको थियो’ उनले भने,‘फेरी देशव्यापी फैलँदो कोरोनाको महामारीले पर्यटन व्यवसायीलाई निराश बनाएको छ ।’

कोरोना महामारीका कारण बर्दियाका पर्यटकीय गतिविधहरु बन्द भएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जले सुचना जारी गरेर अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले कोरोना संक्रमण बर्दियामा पनि तिव्र गतिमा बढेसँगै कोरोनाको जोखिमलाई ध्यानमा राखेर अहिलेलाई जिल्लाको आदेश अनुसार बैशाख १९ गतेसम्मलाई बन्द गरिएको बताए। त्यसपछि अवस्था हेरेर सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा छलफल हुने उनले जानकारी दिए ।

कोरोनाका कारण गएको वर्ष नराम्ररी थला परेको पर्यटन व्यवसाय फेरी संकटमा रहेको पर्यटन व्यवसायीहरु बताउछन्। लकडाउन खुलेपछि झण्डै ५–६ महिनासम्म पर्यटन गतिविधि राम्रै भयो। पर्यापर्यटन विकास मञ्चका अध्यक्ष भट्टराइले भने, यहि अवस्था रहेको भए राम्रै हुन्थ्यो, तर फेरी पहिलेको जस्तै अवस्था आएकाले थप समस्या सिर्जना गरेको छ ।

तपाईको प्रतिक्रिया