कर्णालीमा कोरोना महामारी नियन्त्रण बाहिर जाने खतरा

बढ्न थाल्यो मृत्युदर, जटिल प्रकृतिका संक्रमितले भरिए कोरोना अस्पताल

सुर्खेत । कर्णालीमा कोरोनाले महारीको रुप लिन थालेको छ । पछिल्लो एक सातामा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मृत्युदर बढेको र गम्भिर प्रकृतिका विरामीहरु बढ्न थालेपछि महामारी नियन्त्रण बाहिर जाने खतरा बढेको हो ।

प्रदेशमा रहेको स्वास्थ्य संरचनाले थेग्न नस्कने अवस्था आउन थालेको भन्दै चिकित्सहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । संक्रमणको दर दिन प्रतिदिन उच्च हुनु र मृत्युदर पनि बढ्दै जानुले संक्रमण नियन्त्रण बाहिर जाने संकेत देखिएको हो । कर्णालीमा पछिल्लो दुई हप्तादेखि संक्रमण उच्च छ । शुक्रबारसम्म प्रदेशभर संक्रमितको संख्या एक हजार तीनसय ९३ जना जना पुगेको छन् ।

तिमध्ये झण्डै आठसय संक्रमित वीरेन्द्रनगरमा मात्र छन् । वीरेन्द्रनगरका सातसय ४७ जना संक्रमित होम आइसोलेसनमा छन् । गुर्भाकोट होमआइसोलेसमा १० जना र बाँकी संक्रमित प्रदेश अस्पतालमा उपचाररत छन् । अन्य जिल्लाहरुमा भने जुम्लामा नौ जना, दैलेखमा एकसय १२ जना, कालिकोटमा ५० जना, जाजरकोटमा ९५ जना, सल्यानमा दुईसय २१ जना, रुकुमपश्चिममा ९८ जना र डोल्पामा पाँच जना संक्रमित छन् । संक्रमित बढेसँगै कोरोना अस्पतालहरु पनि भरिन थालेका छन् ।

जटिल प्रकृतिका विरामीका कारण अस्पतालहरु भरिन थालेका हुन् । संक्रमितको चाप बढपछि प्रदेश अस्पताल सुर्खेतमा क्षमताभन्दा बढी संक्रमित राख्नु परेको छ । हाल प्रदेश अस्पताल ३६ जना संक्रमित छन् । सबै संक्रमितलाई अक्सिजन अनिर्वाय छ । उसोत कुनै पनि अस्पतालले जटिल प्रकृतिका बाहेकका संक्रमितहरुलाई अस्पताल भर्ना लिने गरेको छैन । अस्पतालमा विरामीको चाप थेक्न सक्ने क्षमता नभएपछि सामान्य संक्रमितलाई होमआइसोलसनमा बस्न आग्रह गरिएको छ ।

शुक्रबार नै केन्द्र सरकारले पनि सुर्खेतका अस्पतालहरुमा संक्रमितहरुलाई बेड उपलब्ध गराउन नसक्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै सुर्खेत लगायत देशभरका १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी बढेका कारण सबै संक्रमितलाई बेड उपलब्ध गराउन नसक्ने जनाएको हो । प्रदेशमा संक्रमण बढे पनि कोरोनालाई जित्ने दर भने निकै न्यून छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर १२ जनाले मात्रै कोरोनालाई जितेका छन् ।

संक्रमितको तुलनामा मृत्युदर निकै उच्च छ । कोरोनाको दोस्रो लहर सुरु भएयता कर्णाली प्रदेशमा १६ जनाको मृत्यु भइसकको छ । मृतकमध्ये अधिकांश जेष्ठ नागरिक छन् । तिमध्ये ६० बर्षभन्दा माथिका मात्रै सात जना छन् । एकजना २७ बर्षे गर्भवती बाहेक सबै ३० वर्ष माथिका छन् । मृतक अधिकांशको मुख्य कारण स्वासप्रश्वास प्रणालीमा समस्या हो ।

केहीलाई निमोनियासमेत भएको देखिएको थियो । मृतकको तथ्याङ्क र संक्रमणलाई नियाल्दा कोरोनाबाट जेष्ठ नागरिक सबैभन्दा बढी जोखिममा छन् । ‘कोरोनाबाट जेष्ठ नागरिकको मृत्युदर सबैभन्दा बढी छ’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्शन डाक्टर केएन पौडेल भन्छन्, ‘९५ प्रतिशतलाई स्वासप्रश्वासमा समस्या देखिएको छ ।’ जेष्ठ नागरिक मध्ये पनि दीर्घरोगीहरु संक्रमण जोगाउन ठूलो चुनौती हुने उनको भनाइ छ ।

दीर्घरोगी र जेष्ठ नागरिकलाई कोरोना लक्षण भएको खण्डमा तत्काल परीक्षण गराउनु नै सबैभन्दा बुद्धिमानी हुने उनको तर्क छ । ‘समयमै उपचार नपाए जेष्ठ नागरिकलाई संक्रमणबाट बचाउन मुस्कीलपर्छ’ उनी भन्छन्, ‘संक्रमण पुष्टि भएपछि तत्काल अस्पताल पु¥याई हाल्नुपर्छ ।’ दीर्घरोगी जेष्ठ नागरिकलाई आईसीयू र भेन्टिलेटरको सपोर्टले पनि थेग्न मुस्कील पर्ने उनी बताउँछन् । दीर्गरोगी र जेष्ठ नागरिकका महामारीबाट बचाउन परिवारका सदस्यको महत्वपूर्ण भूमिका रहने तर्क गर्छन् । कोरोना अवधिभर जेष्ठ नागरिक र दीर्घरोगीलाई सदस्यको सम्पर्कबाट टाढै राख्न उनको सुझाव छ ।

एकैदिन नौ जनाको मृत्यु
कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि उच्च भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा मात्रै कर्णाली प्रदेशभर नौ जनाको मृत्यु भएको छ । बिहीबार राती चार जना र शुक्रबार पाँच जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

तथ्याङ्क अनुसार बिहीबार पञ्चपुरी ५ का ६० बर्षिय पुरुष, वीरेन्द्रनगर ८ का ६३ बर्षिय, लेकबेशी १ का ४५ बर्षे र सिद्धकुमाख गाउँपालिका–२ सल्यानका ४२ बर्षे पुरुष छन् । त्यस्तै शुक्रबार पनि वीरेन्द्रनगर–११ का ५१ बर्षे, वीरेन्द्रनगर–१२ का ४० बर्षे, वीरेन्द्रनगर १० का ३२ वर्षिय महिला, रुकुमपश्चिमको मुसिकोट–४ का ६० बर्षे पुरुष र नारायण नगरपालिका–६ का २७ बर्षिया महिला छन् ।

कर्णाली प्रदेशभर बैशाख लागे यतामात्रै कोरोना संक्रमणकै कारण १६ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश जेष्ठ नागरिक छन् ।

६३ जनालाई अक्सिजन पाँच जना भेन्टिलेटरमा

कर्णाली प्रदेशका कुल संक्रमित मध्ये ६३ लाई अक्सिजनको सपोर्ट दिइएको छ । स्वास्थ्य अवस्था जटिल भएका कारण उनीहरुलाई अक्सिजनको सपोर्ट दिइएको हो । अक्सिजनको सपोर्टमा उपचार भएका मध्ये सुर्खेतको प्रदेश अस्पतालमा मात्रै ३६ जना छन् । तिमध्ये २५ आईसीयु र पाँच जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालका कोरोना फोकलपर्शन डाक्टर केएन पौडेलले जनाए

। त्यस्तै दैलेख अस्पतालमा १० जना, कालिकोट अस्पतालमा एकजना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नौ जना, जाजरकोट अस्पतालमा पाँच जना, रुकुमपश्चिमको जिल्ला अस्पतालमा ६ जना, सल्यान अस्पतालमा ११ जना अक्सिजनको सपोर्टमा छन् ।

तपाईको प्रतिक्रिया