निषेधाज्ञामा पनि वीरेन्द्रनगरमा बजार अनुगमन

सुर्खेत । गत बुधवारदेखि सुर्खेतमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा धमाधम बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाईमा मेडिकल, खाद्यान्न पसल, तरकारी पसल, सव्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको हो ।                       
निषेधाज्ञाको बेलामा बजारमा कालोबजारी हुने, कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताहरुलाई मर्कामा पार्ने काम हुने भएकोले अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए ।                         उनले मेडिकलहरुमा मास्क सेनिटाइजरको प्रयोग, विक्री दरलगायतको वारेमा बुझिएको उल्लेख गरे । यस्तै शनिवार विहान वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य बस्तुका पसल तथा तरकारी मण्डीहरुको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा विशेषगरी तेल, पिठोको मूल्य बृद्धि भएको पाइएको सहायक प्रजिअ महतले बताए । उनले दैनिक उपभोग्य बस्तुहरु ल्याएको कुनैपनि गाडीहरु नरोकिएकोले कुनै व्यापारीले अस्वभाविक मूल्य बृद्धि गराएको पाइए कारबाही गरिने चेतावनी दिए । साथै व्यापारीहरुलाई स्वास्थ्यका मापदण्ड अपनाएर तोकिएको समयभित्र सामानहरु विक्रीवितरण गर्न सुझाव दिए । यस्तै उनले तरकारी मण्डी तथा खाद्य पसल व्यापारीहरुलाई दैनिकरुपमा उपभोग्य बस्तु तथा तरकारीहरुको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिएका छन् ।
उनले निषेधाज्ञाको समयमा पनि अनुगमन गर्दा उपभोक्ता तथा सर्वसाधारणहरुलाई व्यापारीहरुले ठगी गर्न नपाउने हुँदो बाँकी अन्य दिनमा पनि निरन्तरता दिइने बताएका छन् ।

तपाईको प्रतिक्रिया