सम्पादकीय : संकटमा गासको जोहो

कोरोना महामारीले देशमा संकट पैदा भएको छ । महामारीका कारण जनजीवन नै प्रभावित बनेको छ । यस्तो अवस्थामा निषेधाज्ञा र लकडाउन सुरु भएको छ । संक्रमण फैलिने भन्दै सरकारले यसको रोकथामका विभिन्न उपायहरु अपनाएको छ । पुनः देशमा लामो लकडाउन हुने संकेत देखिएको छ ।

संक्रमणका कारण मृत्युदर बढेपछि यसलार्य रोक्न सरकारले निषेधाज्ञा गर्न थालेको छ । यही त्रासका कारण उद्योगधन्दा र व्यवसाय बन्द हुन थालेका छन् । यसले सर्वसाधारणको रोजगारी खोसिएको छ । कारण कुनै पनि बेला नागरिकहरु भोकभोकै मर्ने खतरा पनि बढेको छ । रोगका कारण अवस्था गम्भिर बन्दै जाँदा मानिसहरु भोकले पनि मर्न सक्ने जोखिम बढेको छ ।

यसकारण पनि अहिलेबाटै राज्यले नागरिकहरु भोकबाट अर्थात खान नपाएर कोही पनि मर्न नपर्ने अवस्था सिर्जना गर्नका लागि आवश्यक तयारीमा जुट्न जरुरी छ । जनतालाई महामारीबाट जोगाउन अपनाइएका उपायका कारण कोही भोकभोकै मर्ने अवस्था उत्पन्न हुनु हुँदैन भन्ने विषय सबै तहका सरकार, मानवीय सहायतामा संलग्न व्यक्ति र संस्था तथा सञ्चार माध्यमको प्राथमिकतामा पर्नुपर्ने थियो । तर, अहिलेसम्म परेको देखिएन ।

हिँडडुल गर्न पनि नपाउने गरी निषेध गरिएपछि दिनहुँ निबेक गरेर छाक टार्नेहरू अब कति दिन भोकै बस्नुपर्ने हो ? दिनहुँ कमाएर गुजारासम्म चलाउनेसँग बचत त यसै पनि हुँदैन । तिनलाई कसैले सहायता नदिए भोकैले ज्यान लिन्छ । पोहोर बन्दाबन्दीका बेला खान नपाएकै कारण धेरैले ज्यान गुमाए । विडम्बना, निषेधाज्ञा जारी गर्ने गराउने कसैले पनि फेरि भोकै मर्ने अवस्था आउनसक्छ भन्ने सोचेको देखिएन ।

सरकारले बेवास्ता गरेकैले अहिलेसम्म राज्य वा अरू संस्थाले दिनहुँ काम नगरे गुजारै नचल्नेहरूका लागि प्राण धान्न आवश्यक मानवीय सहायता उपलब्ध गराउने तत्परता नदेखाएका हुन् कि ? मानवीय सहायताविना प्राण धान्न नसक्ने अवस्थामा हुनेहरू प्रायः निमुखा र पहुँचहीन हुन्छन् । तीमध्ये कतिपय त हिँडडुल गर्न पनि नसक्ने हुन सक्छन् ।


यस्तो अवस्थामा हुनेहरूलाई शासक वा अरूले बेवास्ता गरे पनि रेडक्रसजस्ता मानवतामा समर्पित संस्थाले हेरविचार गर्ने प्रचलन थियो । नेपालमा भने रेडक्रसले समेत मानवीय सहायता उपलब्ध गराउने काम बिर्सेजस्तो छ । अन्नकै अभाव हुनसक्ने दुर्गम गाउँहरू र भावनाकोसमेत अनिकाल पर्ने सहरहरूमा मानवीय सहायताको खाँचो बढी हुन्छ ।

काम नपाउने वित्तिकै भोकै पर्नेहरू सहरका चिसा छिँडीमा अन्नपानी नपाएर छटपटाएको कसैले थाहै नपाउने अवस्था पनि हुन्छ । यसैले स्थानीय तहहरूसँग समन्वय गरेर नेपाल सरकारले मानवीय सहयोग उपलब्ध गराउने कार्य तत्काल गरोस् । जनताको जीवन रक्षा सरकारको सबैभन्दा पहिलो र महत्त्वपूर्ण कर्तव्य हो ।

यसैले राजनीतिक नेतृत्वले अग्रसरता लिनसपर्छ । कम्तीमा यति एउटा पुण्यको काम त गर । अहिलेबाटै यो महामारीमा हुनसक्ने सम्भावित भोकमरी टार्न आवश्यक खाद्यान्नको जोहो गर्नेतर्फ राज्यले ध्यान देओस् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार