लकडाउनले मात्र थेग्दैन !

अमित ढकाल । कोभिड–१९ को पहिलो लहर उत्कर्षमा पुग्दा नेपालमा दैनिक संक्रमण पाँच हजारसम्म पुगेको थियो । त्योबेला दैनिक २० हजारसम्मको पिसिआर परीक्षण गरिएको थियो । भारत र नेपाल लगभग सँगसँगै पहिलो लहरबाट आक्रान्त बनेका थिए ।

पहिलो लहर उत्कर्षमा पुग्दा भारतमा दैनिक संक्रमण करिब एक लाख पुगेको थियो । भारतलाई अहिले दोस्रो लहरले गाँजेको छ । दैनिक संक्रमण साढे तीन लाख पुगेको छ । अर्थात्, पहिलो लहरको तुलनामा तीन गुना ।

यसपालि भारतमा देखिएको कोरोना भाइरस पहिलेभन्दा धेरै आक्रामक रहेको वैज्ञानिकहरूको ठम्याइ छ । यो भाइरसबारे थप अध्ययन जारी छ । विज्ञहरू एउटा कुरामा भने सहमत छन्, संक्रमण अझै केही समय तीव्र बढ्ने छ । नेपालमा पनि भारतमा देखिएको नयाँ प्रकारको भाइरसले प्रवेश पाइसकेको छ । त्यसले बितन्डा मच्चाउन भने बाँकी नै छ ।

अहिलेको संक्रमण मूलतः हाम्रो लापरबाहीका कारण बढेको स्वास्थ्य मन्त्रालयका विज्ञहरूले बताइरहेका छन् । भारतमा देखिएको नयाँ प्रकारको भाइरस फैलिन त बाँकी नै भएको उनीहरूको भनाइ छ । त्यो भाइरस समुदायमा फैलिँदै जाँदा हाम्रोमा संक्रमण कति पुग्ला ? पहिलो लहरको तुलनामा संक्रमण तीन गुना बढ्यो भने दैनिक १५ हजार मानिस संक्रमित हुनेछन् ।

स्वास्थ्य मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा पनि दैनिक कम्तिमा ११ हजारदेखि बढीमा १९ हजारसम्म संक्रमित हुने देखिएको छ । नेपालमा कोरोना उत्कर्षमा पुग्न अझै तीन महिना लाग्ने अनुमान छ । त्यो बेलासम्म सोझो हिसाबले पनि करिब दस लाख मानिस संक्रमित हुनसक्ने छन् ।

त्यसको १५ प्रतिशतलाई अस्पताल पु¥याउनुप¥यो भने एक लाख पचास हजार संक्रमितलाई अस्पतालको सेवा चाहिनेछ । पाँच प्रतिशत मात्र गम्भीर रूपले संक्रमित हुने अनुमान गर्ने हो भने पनि तीन महिनाभित्र पचास हजारलाई आइसियूको उपचार चाहिन सक्छ । कोभिड–१९ ले च्यापेर आइसियू भर्ना भएका बहुसंख्यक मानिस लामो समय अस्पताल बस्नुपर्ने हुन्छ ।

त्यसैले आइसियू बेड खाली हुन कठिन हुन्छ । हामीकहाँ देशभर तीन हजारभन्दा कम आइसियू बेड छन् । धेरै अस्पतालमा अहिले नै बेड भरिन थालेका छन् । आवश्यक सिलिन्डर नभएकाले अक्सिजनको अहिले नै अभाव छ । त्यसैले आउने दिनमा सबै बिरामीले अस्पतालको बेड पाउने छैनन् । सम्भवतः सबैलाई अक्सिजन पुग्ने छैन । कोभिड–१९ का कारण हुने मृत्युदर बढ्नेछ ।

आउने तीन महिनामा संक्रमित हुने दस लाखमा तपाईं पनि पर्न सक्नुहुन्छ, म पनि पर्न सक्छु । अस्पताल भर्ना हुनुपर्नेमा वा आइसियू चाहिनेमा तपाईं पनि पर्न सक्नुहुन्छ, म पनि । आइसियू नपाएर छटपटिनेमा हामी जो पनि पर्न सक्छौं ।
अहिले कोभिडको संक्रमण बढ्नुमा सरकारको दोष होला । सरकारी निकायको दोष होला । अरू धेरैको दोष होला । सबभन्दा ठूलो दोष हाम्रो छ । आममानिसको छ । भोलि पनि यो विष्फोटक तहमा पुग्यो भने हाम्रै कारणले पुग्नेछ । यसलाई नियन्त्रणभन्दा बाहिर जान नदिन पनि हामीले नै सक्नेछौं । हामी जिम्मेवारी लिन तयार हो कि होइन ?

आफैंप्रति, आफ्नो परिवारप्रति, आफ्ना नजिकका प्रति जिम्मेवार हुने हो कि होइन ? कदाचित् हामी संक्रमित भयौं भने सबभन्दा पहिले त्यो कसलाई सर्छ ? श्रीमती, श्रीमान, छोरी, छोरा, आमा, बा, नजिकका नातागोता, साथीभाइ वा कार्यालयका सहकर्मी । अर्थात्, हाम्रा आफ्ना प्रियजन, जो हामीसँगै हुन्छन् ।

हामी जसको नजिक हुन्छौं । हाम्रो लापरबाहीले हामी आफू त समस्यामा पर्छौं नै, प्रियजनलाई पनि समस्यामा पार्ने छौं । तर हामी त चिनेका मान्छेले कोरोना नै सार्दैनन् भनेझैं गर्छौं । परिवारजन वा साथीभाइले कोरोना भाइरस बोक्दैनन् झैं गर्छौं । सडकमा एक्लै हिँड्दा मास्क लगाउँछौं । तर बाटोमा चिनेको मानिस भेट भए मास्क खोलेर गफिन थाल्छौं । आफन्तकहाँ जाँदा पनि मास्क खोलेर गफिन थाल्छौं । सबभन्दा ठूलो गल्ती हामी यही गर्छौं ।

हामी आफूले होइन, अरूले मात्र बार्नुपर्छ भन्ने ठान्छौं । अरूलाई गाली गर्छौं, तर आफू सामान्य नियम पनि पालना गर्दैनौं । धेरै ख्याल गर्दागर्दै हामीलाई संक्रमण सर्न सक्छ । होसियारी अपनाउँदा अपनाउँदै सानो छिद्रबाट पनि यो भाइरस छिर्न सक्छ । तर हामीले जानाजान मुर्ख्याइँ गर्नुभएन । बत्तीमा कीरा सोझै झोसिएझैं लापरबाहीपूर्वक कोरोनामा झोसिनु भएन । अहिले धेरै स्थानमा निषेधाज्ञा सुरू भएको छ । सार्वजनिक तथा निजी सवारी साधन चल्न नपाएपछि र अत्यावश्यक सेवा बाहेकका व्यवसाय खुल्न नपाएपछि यो एक प्रकारको लकडाउन नै हो ।

धेरैलाई लागेको होला, लकडाउन भएपछि अब संक्रमण बढ्दैन । विस्तारै सबै ठिकठाक हुन्छ । त्यसो होइन । संक्रमण नबढ्न त पहिले हाम्रो व्यवहार ठिक हुनुप¥यो नि ! पछिल्लो लकडाउनकै उदाहरण लिऊँ । हामीले पहिलो संक्रमण देखिनेबित्तिकै चैत ११ देखि देशव्यापी लकडाउन गरेका थियौं । लकडाउन कायमै रहेका बेला संक्रमण बढेर दैनिक पाँच हजारसम्म पुग्यो ।

भारतबाट आउने नेपालीलाई हामीले राम्ररी क्वारेन्टिन व्यवस्था गर्न सकेनौं । उनीहरूमध्ये कैयन भाइरस बोकेरै समुदाय र परिवारमा पुगे। अरूलाई सारे । काठमाडौं लगायत सहरमा पनि लकडाउनमा मानिसको व्यवहार बदलिएन । हेलचेक्र्याइँ घटेन । त्यसैले एकबाट दुई, दुईबाट चार हुँदै कोरोना फैलियो ।

यसपालि त निषेधाज्ञा सुरू हुनुअगावै दैनिक संक्रमित हजारभन्दा बढी पुगेका छन् । परीक्षण नगराएका अरू कति होलान् । तिनीहरूले परिवार र समुदायमा संक्रमण तीव्र गतिमा सार्नेछन् । त्यसलाई रोक्ने एउटै मात्र उपाय छ, आफूबाहेक सबैलाई संक्रमण भएको छ भन्ने मान्ने र मास्क र सामाजिक दुरी कायम राख्ने । थोरै पनि लक्षण देखिए परिवार, साथीभाइबाट थप अलग हुने ।

तुरून्त जाँच गराउने । जति छिटो जाँच गरायो र संक्रमण थाहा लाग्यो, त्यति नै चाँडो निको पार्न सकिन्छ । त्यसैले सबभन्दा पहिले जिम्मेवारी आफ्नो काँधमा लिनुप¥यो । म एक जनाको व्यवहारले कोरोना नियन्त्रणमा फरक पर्छ भन्ने मान्नुप¥यो । सरकारलाई मात्र सत्तोसराप गर्ने तर हामी आफूले जिम्मेवारी नलिने हो भने यसपालि कोरोना नियन्त्रणबाहिर जानेछ । हामी सबैले थप दुःख पाउनेछौ ।

त्यसको अर्थ सरकारको जिम्मेवारी छैन भनेको होइन । सरकारको भूमिका छैन भनेको होइन । सरकारले गल्ती गरेको छैन भनेको होइन । नेताहरूले लापरबाही गरेका छैनन् भनेको होइन । भारतमा संक्रमण दर ह्वात्तै बढेपछि र नेपालमै संक्रमण बढ्न थालेपछि पनि नेताहरूले गैरजिम्मेवार रूपमा सार्वजनिक कार्यक्रमहरू गरिरहे ।

भेलाहरू गरिरहे । मास्क नलगाइकनै वा मास्क चिउँडोमा तानेर बोले । त्यसमा सरकार, प्रतिपक्षी दल, अन्य सबैजसो दलका नेता जिम्मेवार छन् । कुनै प्रमुख नेता अछुतो छैनन् । सरकार प्रमुख र देशको प्रमुख नेताका हिसाबले सबभन्दा धेरै जिम्मेवार हुनुपर्ने प्रधानमन्त्री नै सबभन्दा गैरजिम्मेवार बने ।

संक्रमण थाम्न सकिन्न, चाँडै निषेधाज्ञा जारी गर्नुपर्छ भनेर स्वास्थ्य मन्त्रालयले सल्लाह दिएपछि पनि प्रधानमन्त्री बनिनसकेको धरहरा उद्घाटन गर्न तम्सिए । अरू सार्वजनिक कार्यक्रममा सहभागी बने । बालुवाटारमा आफ्नो गुटका भेलालाई निरन्तरता दिए । यी भेलाबाहेक ’कोरोना केही होइन, आत्मबल कायम राखे जितिन्छ, बेसारपानी खाए जितिन्छ, नेपालीको प्रतिरोधात्मक क्षमता बलियो छ’ भनेर भ्रम फैलाउने एक नम्बर सन्देशवाहक प्रधानमन्त्री ओली नै हुन् ।

कोरोना सुरू भएदेखि नै प्रधानमन्त्रीले बोलेका यस्ता बकवासले कोरोना केही होइन भन्ने भ्रम फैलाउन ठूलो भूमिका खेलेको छ । प्रधानमन्त्रीका भनाइ र सरकारका लाख कमजोरीबारे उनीहरूलाई जिम्मेवार बनाउँला । प्रश्न सोधौंला । एक वर्ष समय हुँदा पनि अस्पतालहरूमा आवश्यक बेडको व्यवस्था किन भएन भनेर सोधौंला । पैसा लिएर पनि बेड नथप्ने अस्पताल प्रमुखहरूलाई सरकारले के कारबाही ग¥यो भनेर सोधौंला ।

बिग्रेका अक्सिजन प्लान्ट वर्ष दिनसम्म नबनाउने अस्पताललाई सरकारले के दण्ड दियो भनेर सोधौंला । यति धेरै लापरबाही गर्नेहरूमाथि कारबाही नगर्ने हो भने जवाफदेहिता कसरी स्थापित हुन्छ भनेर सोधौंला ।फेरि पनि नबिर्सौं, आजका दिनमा कोरोनाविरूद्ध लडाइँमा सरकार होइन, आममानिस नै निर्णायक हो । नियन्त्रण गर्न सक्ने हामीले नै हो । यो नियन्त्रणबाहिर गए, दुःख पाउने पनि हामीले नै हो । त्यसैले, आफ्नो जिम्मेवारी वहन गर्न तपाईं तयार हो कि होइन ?

(सेतोपाटीबाट)

तपाईको प्रतिक्रिया