सम्पादकीय : सावधानी अपनाऔं

अहिले कोरोना महामारीको दोस्रो लहर सुरु भएको छ । अघिल्लो वर्षको तुलनामा यसपालीको महामारी बढी नै खतरा देखिएको छ । यसपाली मृत्युदर बढी छ । संक्रमण भएकाहरुमा पनि कडा खालको लक्षण देखिएको छ । यसकारण हिजोको अवस्था हेरेर आज पनि कोरोनालाई कमजोर ठान्ने काम कसैले पनि नगरौं ।

बरु यसपाली थप सचेत र सावधानी अपनाएर कोरोनाविरुद्धको लडाइमा सहभागि बन्नुपर्ने अवस्था आएको छ । संक्रमण र मृत्युदर बढेपछि छिमेकी जिल्लाहरु आक्रान्त बनेका छन् । कर्णाली प्रदेशमा पनि संक्रमणको दर बढ्दै गएको छ । कुनै पनि बेला यहाँ थेग्न नसक्ने अवस्था आउन सक्छ । यही जोखिमलाई ख्याल गर्दै सुर्खेतमा आजदेखि निषेधाज्ञा गरिएको छ ।

निषेधाज्ञा बाध्यात्मक हो । यो अवस्था आउनु हुँदैन थियो । तर परिस्थितिसँग जुध्नै पर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यसको पालना सबैले गर्नुपर्ने हुन्छ । किनकी अहिले सबैभन्दा ठूलो भनेको मानवको जीवन रक्षा नै हो । यहाँ धेरै प्रश्नहरु पनि उत्पन्न भएका छन् । के निषेधाज्ञा गर्दैमा संक्रमण रोकिन्छ त ? अर्थात निषेधाज्ञाले केवल अर्थतन्त्रलाई धारासायी बनाउने काम गर्दछ ।

यहीकारण अधिकांशले यसको विकल्प खोज्नुपर्ने आवाज पनि उठाइरहेका छन् । एक हिसावले भन्दा निषेधाज्ञा नै समाधानको उपाय होइन । तर कतिपय अवस्थामा राज्यले नागरिकको जीवन रक्षाका लागि बाध्यात्मक उपायहरु पनि अपनाउनु पर्ने हुन्छ । कोरोना महामारी र यसको संक्रमण फैलिनुमा कतिपय अवस्थामा हाम्रा व्यवहार र लापरबाही नै मुख्य कारण बनेका छन् । नागरिक स्वयम्ले आफ्नो व्यवहार सुधार नगर्नु र लापरबाही गरेकै कारण आज कोरोना समुदायमा पुगेको छ ।

महामारी र संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे जानकारी भएर पनि गरिएको लापरबाहीले यो अवस्था आएको हो । मास्क प्रयोग नगर्ने, सामाजिक दुरी कायम नगर्ने, साबुनपानीले धात नधुने र समस्या देखिएको त्यसलाई लुकाउने काम नागरिकबाटै भएको छ । यसकारण अवस्था नियन्त्रणभन्दा बाहिर जान नदिनु राज्यको दायित्व हो ।

संक्रमण भोली नियन्त्रण बाहिर गयो भने त्यसले गम्भिर अवस्था ल्याउन सक्छ । स्वास्थ्य पूर्वाधार कमजोर भएको हाम्रो प्रदेशमा सबैभन्दा बुद्धिमानी त संक्रमणलाई नियन्त्रण बाहिर जानबाट रोक्नु नै हुन्छ । किनकी हामीसँग उपचार गर्ने क्षमता कमजोर छ । उपचार नै नपाएर नागरिकले ज्यान गुमाउने अवस्था आउन नदिन पनि निषेधाज्ञा एउटा विकल्प हो ।

यसकारण यो अवधिमा आफ्नै व्यवहार सुधार गर्दै। स्वास्थ्य मापदण्ड पालना गर्दै केहीदिन सबैले सुरक्षित रुपमा घरभित्रै बस्नु लाभदायक हुन्छ । निषेधाज्ञा हाम्रै जीवन रक्षाका लागि हो भन्ने बुझेर यसको पालना सबैले गर्नु पर्दछ । यसो भएको खण्डमा मात्र कोरोनाको संक्रमण नियन्त्रण बाहिर जानबाट रोक्न सकिन्छ । यो महामारीमा जीवन रक्षा गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया