‘ऊबेला शिक्षितहरु पनि सरकारविरुद्ध बोल्न डराउँथे’

जनताको आन्दोलनबाट कर्णाली प्रदेशको स्थापना भयो । जनबलबाट स्थापना भएको यो प्रदेशको पहिलो प्रदेश प्रमुख बन्ने अवसर मिल्यो दुर्गाकेशर खनाललाई । नेपाली काँग्रेस सुर्खेतका संस्थापकसमेत रहेका खनाललाई सरल र बौद्धिक व्यक्तिका रुपमा पनि चिन्ने गरिन्छ । उनी सुर्खेतको माटोसँग परिचित छन् । समयमै पढाइ पनि पुरा गरे । राज्यको दमनका कारण उनी लोकतन्त्रको वहालीमा सक्रिय रहे । समाजलाई गतिशिल र परिवर्तनको दिशातर्फ लैजान अगाडि सरे । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख खनालसँग भलाकुसारी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश :

                                                                                                 दुर्गाकेशर खनाल
                                                                                       पूर्व प्रदेश प्रमुख, कर्णाली प्रदेश

 

अन्याय नसहने

बुवा चन्द्रकेशर खनाल र आमा भागिरथी खनालको कोखबाट २००३ सालमा दुर्गाकेशर खनाल डोटीमा जन्मिएका हुन् । उनी घरको काइँलो छोरा हुन् । उनको बाल्यकाल सुखले वित्यो । उनको बाल्यकाल डोटीमा वित्यो । उनका बाजे, बुवाको जागिर नै डोटीमा थियो ।

बुवासँगै बसेर उनले ८ कक्षासम्म डोटीमा नै पढे । उनका दाईले काठमाडौंमा पढ्थे । उनी २०१८ सालमा ८ कक्षा पास गरेर काठमाडौं पढ्न गए । सानैदेखि अन्यायको विरोधमा खनाल लाग्थे । अरुलाई अन्याय भएको उनलाई सह्य हुन्थेन । पढाईमा पनि मेहनती उनले काठमाडौं त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरे ।

लामो समय शिक्षण पेशामा

दुर्गाकेशर खनालले २०२७ सालमा स्नातक गरेका हुन् । त्यतीबेला पढ्ने युवाहरु पनि धेरै थिएनन् । राजा महेन्द्रको एकदलीय शासन थियो देशमा त्योबेला । पढेका व्यक्तिहरु पनि सरकारविरुद्ध बोल्न सक्थेनन् । डराउँथे ।

स्नातक सकेपछि उनी शिक्षण पेशाका लागि सुर्खेतमा आए । शिक्षण पेशामा आवद्ध भए । देशको राजनितिक अवस्था निर्दलीय थियो । अहिलेको जस्तो खुल्ला रुपमा बहस गर्न पाउने अवस्था पनि थिएन । उनी शिक्षण पेशा गर्दै मास्टर्समा जोडिए । २०३५ सालमा मास्टर्सको परीक्षा दिने तयारी थियो । तर विद्यार्थी आन्दोलन, जनमत संग्रह लगायत कारणले उनले मास्टर्स गर्न पाएनन् ।

राजनीतिक संघर्ष र जेल

बाजे र बुवा दुबैजना सरकारी जागिरे भएको हुँदा खनालले आर्थिक समस्या त बेहोर्नु परेन । तर राज्यको दमनकारी नीतिका कारण उनी राज्यकाविरुद्ध लाग्दा भने धेरै संघर्ष गर्नुपर्यो । त्यतीबेला राजनितिको र पनि उच्चारण गर्न पाउने अवस्था थिएन ।

देशको शासन व्यवस्था निरङ्कुश हुँदा असह्य भएर नै उनले राजनीतक यात्रा तय गरे । राज्यकाविरुद्ध आवाज उठाए । २०१७ सालमा निरङ्कुश पञ्चायती शासन लागु भएपछि नेपाली काँग्रेसका नेता सुवर्णसमशेरले त्यसको विरुद्धमा चलाएको क्रान्तिका क्रममा दुर्गाकेसर खनालसहित उनका दाई चिरञ्जिवीकेशर खनाल लगायतका युवाहरुलाई प्रशिक्षित गरियो ।

उनीहरु राज्यकाविरुद्ध विद्रोहमा लागे । त्यतीबेला सुर्खेत र दैलेख एउटै जिल्ला थियो । राज्यकोविरुद्धमा लाग्दा उनका दाई चिरञ्जिवीसहित पाँचजना युवाहरु पक्राउ परे । उनीहरुमाथीको जुन अत्याचार र दमन भयो, त्यसकै रिजल्टले दुर्गाकेशर खनाललाई अझै राजनीतिमा लाग्नुका साथै विद्रोही बनायो ।

पहिलेदेखि नै राजनितिमा चासो राखेपनि खनालको राजनितिक जीवन औपचारिक रुपमा त्यहाँबाट शुरु भएको हो । राजनितिक परिवर्तनकै लागि विद्रोह गर्दा उनी पटकपटक गरी ९ पटकसम्म जेलमा बस्नुपर्यो । २०२३ सालदेखि ४६ सालसम्म जेल पर्नुपर्यो । दुईपटक मृत्युको मुखमा पुग्दा पनि उनले राजनिति भने छोडेनन् ।

उनकै पहलमा २०२८ सालमा सुर्खेतमा नेपाली काँग्रेसको शाखा स्थापना भएको थियो । खनालको परिवार डोटीबाट बसाइँ सरेर सुर्खेत आएको हो । अध्ययनका लागि सुर्खेतबाट काठमाडौं पुगेका खनाल त्यतिबेलादेखि नै राजनीतिमा आकर्षित भएका थिए ।

विद्यार्थी कालमा उनको संगत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग थियो भने विपी कोइरालासँग पनि उनको निकट सम्बन्ध थियो । सुर्खेतका कांग्रेस संस्थापक सदस्य उनी २०३६ सालमा जिल्ला शाखाको सभापति भए । २०४८ सालमा राष्ट्रिय सभाका सांसद बनेका खनाल संघियतापछि कर्णाली प्रदेशको पहिलो प्रदेश प्रमुखसमेत बने । त्यसबाहेक सार्वजनिक लाभको पद भने खासै खनाले लिएका छैनन् ।

बाल्यकाल

खनालको बाल्यकाल भने सुखले वित्यो । उनी पढाइमा निकै तगडा थिए । सानैदेखि परिवर्तनका कुरा गर्थे । उनी बाल्यकालमा साथीहरुसँग खेल्न, गित गाउन र नाटकहरु रचना गर्न मन पराउँथे । उनको स्वभाव चन्चले थियो । जस्तो बानी गरेको साथी छ त्यस्तै कुरा गर्न उनी माहिर पनि थिए । उनी घरको काइलो छोरा हुन् ।

परिवारको साथ

खनाललाई परिवारको साथ समर्थन नभएको भए सायद उनी यहाँसम्म आइपुग्न सक्थेनन् होला । उनको बुवाले पनि आफ्ना छोराहरुलाई धेरै पढाउने भनेरै काठमाडौं पठाए । आमाको सहयोग पनि उत्तीकै थियो ।

घरपरिवार नै समाज परिवर्तन गर्नुपर्छ भन्ने सोच र त्यो खालको चेतनामा थियो । उनी भन्छन, घरपरिवारको साथ र सपोर्टबिना यहाँसम्म आउन सकिने थिएन होला । अनि संघर्ष गर्ने आँट पनि हुन्थेन
होला ।

भावी योजना

उनी शिक्षण पेशा हुँदै राजनितिक जीवनमै छन् । प्रदेश प्रमुखसमेत भइसकेका उनको योजना अझै पनि समाज रुपान्तरणमै छ । अहिलेको राजनितिक गतिविधि हेर्दा भने उनलाई चिन्ता लाग्छ । यस्तो अस्थिर राजनीतिलाई स्थिर बना उन उनले सल्लाह दिदैँ राम्रो समाजमा भावी पुस्ता रमाएको हेर्न चाहेका छन् ।

तपाईको प्रतिक्रिया