अमेरिकाले ६ करोड डोज खोप अन्य देशलाई बाँड्ने

एजेन्सी । अमेरिकाले उसको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई बाँड्ने घोषणा गरेको छ।​

ह्वाइटहाउसको विज्ञप्तिअनुसार करिब ६ करोड मात्राको खोप केही महिनाभित्र उसले निर्यात गर्न सक्नेछ। विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएतापनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले सो खोपलाई अझै स्वीकृति दिएको छैन ।

अमेरिकाले खोप थुपारेको आलोचनाका माझ सो निर्णय भएको छ। जबकी राष्ट्रपति बाइडनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित नभएको बताएका थिए।

छिमेकी क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशहरूले अमेरिकी आपूर्तिमा पहुँचको अनुरोध गरिरहेका छन्। गत महिना राष्ट्रपति जो बाइडनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए।

ती दुवै देशले आस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन्। एफडिएले अनुमति नदिएपनि अमेरिकामा उक्त खोपको स्टक रहेको छ। सोमवार ह्वाइट हाउसले आगामी साताहरूमा एफडिएले सो खोपलाई अनुमति दिनासाथ करिब १ करोड मात्रा उसले बाँड्न सक्ने बताएको छ।

साथै थप ५ करोड मात्राको खोप उत्पादनका विभिन्न चरणमा रहेको बताइएको छ। प्रेस सम्मेलनमा बोल्दै ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एफडिएका अधिकारीहरूले ती खोपको गुणस्तर परीक्षण गरेर मात्र निकासी गरिने बताइन्।

यसैबीच अमेरिकाले भारतीय खोप निर्माताहरूलाई तत्काल कच्चा पदार्थ उपलब्ध गराउने निर्णय पनि गरेको छ। सोमवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोन कुराकानीमा राष्ट्रपति बाइडनले थप आपत्कालीन सहयोगको वाचा गरेको ह्वाइट हाउसले बताएको छ। त्यस्तो सहयोगमा अक्सिजनसम्बन्धी आपूर्ति, खोप सामग्री तथा औषधि रहेका छन्।

तपाईको प्रतिक्रिया