एजेन्सी । ईरानका विदेशमन्त्री जवाद जरीफको एक अडियो टेप सार्वजनिक भएपनि तेहरानमा तनाव उत्पन्न भएको छ । विदेशमन्त्रीले सो टेपमा इस्लामिक रिभोल्यूशनरी गार्डदेखि धेरैको आलोचना गरेका छन्। साथै, मुलुकको संवेदनशील गोपनीयताबारे पनि बोलेका छन् ।
सो अडियो टेपका कारण अब ईरानको राजनीति र कूटनीतिसम्म प्रभावित हुने अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । जरीफले सो टेपमा ईरानको विदेश नीतिमै इस्लामिक रिभोल्यूशनरी गार्ड्सको दबदबा रहेको बताएका छन्। साथै, रूसको इशारामा ईरानले सीरिया युद्धमा भाग लिएको पनि दाबी गरेका छन् ।
जरीफलाई ईरानमा सुझबुझपूर्वक बोल्ने अनुभवी एवम् उदारवादी नेता मानिन्छ । सो अडियो टेप कसले लिक गरायो भन्नेबारे विस्तृत जानकारी आइसकेको छैन । तर, ईरानमा राष्ट्रपतीय निर्वाचन हुँदै गर्दा यस्तो हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अब त्यहाँको सत्ता संघर्ष नयाँ चरणमा प्रवेश हुने आंकलन गरिएको छ।
सत्तामा विशेष पकड बनाएका कट्टरपन्थी र सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईसहित देशका शीर्ष नेताका लागि अबका दिन चुनौतीपूर्ण हुने बीबीसीमा उल्लेख छ।
युग संवाददाता । । १४ बैशाख २०७८, मंगलवार १७:३६