सम्पादकीय : सेवा संचालन गर

कर्णाली त्यसै पनि सुविधामा पछाडि छ । यहाँको भौगोलिक अवस्थाका कारण धेरै जिल्लाहरु दुर्गम छन् । जहाँ अहिले पनि कतिपय सरकारी सेवाहरु पुग्न सकेका छैनन् । दुर्गम भएकै कारण त्यहाँ राज्यको उपस्थिति पनि कमजोर छ ।

यसकारण पनि यहाँका दुर्गम स्थानमा सरकारी कर्मचारी र सेवाको पहुँच छैन । कर्णालीमा कुनैबेला सिटामोल नपाउने अवस्था थियो । मानिसहरु धामीको शरणमा पुग्थे । हुनेले ठूला सहरमा उपचार गराउँथे । नहुनेले मृत्यु पर्खनुबाहेक अरु उपाय थिएन । तर पछिल्ला दिनमा प्रायः स्थानमा आधारभुत सेवा उपलब्ध छ । स्थानीय सरकार आएपछि गाउँगाउँमा स्वास्थ्यचौकी र स्वास्थ्यकर्मीहरु उपलब्ध छन् ।

यद्यपी अहिले पनि विशेषज्ञ सेवाको अभाव छ । यस्तो अवस्थामा अघिल्लो वर्षदेखि कोरोना महामारी सुरु भएको छ । त्यही कर्णाली हो, जहाँ अघिल्लो वर्षसम्म भेन्टिलेटर सेवा नै उपलब्ध थिएन । आइसीयु सेवा पनि सबै जिल्लामा उपलब्ध थिएन ।

कोरोना महामारीले राज्यको आँखा खोल्यो । अर्थात प्रदेश सरकारको पहलमा स्वास्थ्य पूर्वाधारमा केही लगानी भयो । केन्द्र सरकारले पनि स्वास्थ्य पूर्वाधारमा लगानी गरेको छ । सिटामोल नपाउने कर्णालीमा हाल आईसीयु र भेन्टिलेटर सुविधा उपलब्ध छ । प्रदेश राजधानी र सुविधायुक्त जिल्लामा मात्र होइन, प्रदेशका सबै जिल्ला अस्पतालहरुमा यो सुविधा उपलब्ध भएको छ ।

अधिकांश जिल्लामा अक्सिजन सेवा पनि उपलब्ध छ । अघिल्लो पटकको कोरोना महामारीले स्वास्थ्य पूर्वाधारमा लगानी गर्न राज्यलाई बाध्य बनायो । यसपाली कोरोना महामारीको दोस्रो लहर सुरु भएको छ । विगतको भन्दा यसपालीको कोरोना बढी घातक छ । अर्थात पहिला निको हुने दर बढी थियो । त्यसले मानिसहरुमा आत्मबल बढाएको थियो ।


तर यसपालीको कोरोना संक्रमण बढी जोखिमयुक्त छ । यसपाली संक्रमणको दरमात्र बढी होइन, मृत्युदर पनि धेरै छ । यसकारण पनि यसपाली केही जोखिम र अभावको अवस्था सिर्जना भएको छ । अन्य प्रदेशको तुलनामा कर्णालीको अवस्था कमजोर छ । यहाँ महामारी फैलिएको खण्डमा यहाँको भौतिक तथा आर्थिक अवस्थाले थेग्न सक्ने अवस्था छैन ।

त्यसमा पनि हालसम्म दक्ष जनशक्तिको व्यवस्थापन गरिएको छैन । एक हिसावले भन्दा यहाँ महामारी नियन्त्रण र रोकथामको पूर्वतयारी सुस्त देखिएको छ । भएका आईसीयू र भेन्टिलेटरहरु प्रयोगमा आउन सकेका छैनन् । यो राज्यको तर्फबाट भएको सबैभन्दा ठूलो खेलाँची हो ।

हामारीका कारण छिमेकी प्रदेशमा नागरिकहरुले अकालमै ज्यान गुमाइ रहेका छन् । तर हामी भने कमजोर पूर्वतयारीको अवस्थामा छौं । आज गरिएको सानो खेलाँचीले भोली थेग्न नसक्ने अवस्था आउन सक्छ । यसर्थ बेलैमा प्रदेश सरकारले सबै जिल्लामा रहेका भेन्टिलेटर र आईसीयु सेवा संचालनका लागि तत्काल प्रक्रिया अगाडि बढाउनै पर्दछ । भएका स्रोत र साधनलाई संचालन गरेर नागरिकको जीवन रक्षाका लागि प्रदेश सरकार र सरोकारवालाहरु गम्भिर बन्न आवश्यक छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार