कोरोनालाई जित्ने उपाय

डा. रामु खरेल । महामारीको पहिलो लहरका बेला अपनाइएको सावधानी र प्रतिबन्धात्मक उपायहरुको प्रतिफल माघ–फागुनमा देखियो । संक्रमण दर निकै कम भयो । सरकारदेखि सर्वसाधारणसम्मले सावधानीका उपायहरु अपनाउन खासै चासो दिएको पाइएन ।

मानौँ, महामारी सकियो जस्तो ठानियो । त्यसकै प्रभाव अहिले देखिन थालेको छ । महामारीको दोस्रो लहरका रुपमा । र यो चरणको संक्रमण दर विगतको भन्दा तीव्र हुँदै गएको देखिन्छ । महामारीको पहिलो लहरबाट सिकेको पाठ समयमै कार्यान्वयनमा लगिएन भने एक स्वास्थ्यकर्मीका रुपमा मैले अबको झण्डै दुई महिनामा संक्रमणको अवस्था ‘डरलाग्दो’ हुने देख्छु ।

अहिले दैनिक जति संक्रमित थपिएका छन् आधिकारिक तथ्यांकमा, त्यो भन्दा धेरै हुनु पर्छ वास्तविक संक्रमितको संख्या । परीक्षणको दायरा फराकिलो नहुँदा संक्रमित वास्तविकभन्दा कम देखिएको अनुमान सहज रुपमा लगाउन सकिन्छ, विगतको अनुभवले पनि त्यही भन्छ ।

महामारी नियन्त्रणका लागि संक्रामक नियन्त्रण तथा सुरक्षाका लागि गरिने तयारी र त्यसका लागि उपलब्ध सेवासुविधाहरुको चुस्त व्यवस्थापनको महत्वपूर्ण भूमिका हुन् । दोस्रो लहर विगतको भन्दा भयावह बन्न सक्छ भन्दै गर्दा हामीसँग यो चरणको संक्रमणलाई नियन्त्रणमा राख्न सक्ने सम्भावनाहरु पनि छन् ।

गएको वैशाखमा जब हामी कोरोना भाइरस महामारीको पहिलो लहरमा थियौँ, त्यो बेला यसबारे खासै जानकारी थिएन। सावधानीका उपायहरुलाई लिएर स्पष्टता थिएन । विश्वका वैज्ञानिक तथा स्वाथ्यकर्मीहरुबिचमै अन्यौलको अवस्था थियो । अहिले त्यस्तो छैन । हामीलाई कोरोना भाइरसका बारेमा धेरै कुरा थाहा भएको छ । सावधानीका उपायहरु के र कहाँ कसरी अपनाउने भन्ने धेरै हदसम्म जानकारी छ ।

मास्क कसरी र कहाँ लगाउँदा संक्रमणबाट जोगिन तथा अरुलाई संक्रमण फैलिँदैन भन्ने थाहा भएको छ । खोप पनि आइसकेको छ । बिस्तारित रुपमा खोप उपलब्ध हुने बेलासम्म हामी सचेत भइरहनु पर्छ । तर यो बेला हामीले महामारी नियन्त्रणका उपायहरुको प्रभावकारी रुपमा लागु गरेनौँ र लत्त छाड्यौँ भने संक्रमण तथा मृत्यु दोस्रो लहरमा तीव्र रुपमा बढ्ने अनुमान लगाउन कठिन छैन ।

भारतको पछिल्लो अवस्थाले हामीलाई बताउने कुरा स्पष्ट छ । भारतमा बिचमा महामारी सकियो जस्तै गरेर जनजीवन ‘सामान्य’ अवस्थाको जस्तै भयो । त्यसले संक्रमण थप बिस्तारित रुपमा फैलिन पुग्यो ।

महामारीलाई जित्ने बलियो उपाय

संक्रमण जति नै भए पनि त्यसलाई परास्त गर्ने माध्यम भनेको तयारी र व्यवस्थित स्वास्थ्य सेवाले हो । यदि हामीले पहिलो लहरका जोखिमबाट सिकेको पाठ अनुसार तयारी गरेका छौँ भने अहिले संक्रमण नियन्त्रणमा लिन सकिन्छ ।

तर पछिल्ला घटनाक्रम र उदहारणहरुले वास्तविकता उल्टो अर्थात गएको वैशाख ताकाकै देखाउँछ । एक वर्ष पहिले र अहिले भेन्टिलेटर, अक्सिजन तथा आइसियू बेडहरुको उपलब्धतामा खासै सुधार भएको देखिँदैन । यस्तै संक्रमण फैलिन नदिनका लागि चाहिने आइसोलेशन केन्द्रहरु पनि तयारी अवस्थामा छैनन्, वा भएका पनि प्रयोगमा आएका छैनन् ।

विगतमा प्रयोग भएका आइशोलेशन केन्द्रहरुलाई यो लहरका लागि चाँडो भन्दा चाँडो तयारी अवस्थामा ल्याउन सक्ने सम्भावना छ, त्यसका लागि स्थानीय निकाय, प्रदेश र संघका सरोकारवाला निकाय तत्काल लाग्नु पर्छ । हामीले अहिले आकश्मिक सेवा सम्बन्धी अनुशन्धान सानो आकारको अनुसन्धान गरिरहेका छौँ ।

त्यसक्रममा गएका अस्पतालहरुमा हेर्दा र त्यहाँका डाक्टर स्वास्थ्यकर्मीको कुरा सुन्दा उहाँहरु महामारीविरुद्ध लड्नका लागि मनोवैज्ञानिक रुपमा तयार हुनुहुन्छ, तर स्वास्थ्य सेवाका लागि चाहिने व्यवस्थामा भने खासै सुधार नभएको गुनासोले निकट भविष्यको अवस्था राम्रो बताउँदैन । र हामीले डर मान्नु पर्ने कारण पनि त्यहि हो । यो महामारी सरकार, स्वास्थ्यकर्मी वा सर्वसाधारण एक्लैको होइन ।

हामी सबैको महामारी हो र यसबाट हुने क्षतिको मूल्य हामी सबैले व्यक्ति, परिवार, समुदाय र राष्ट्रका रुपमा एकसाथ चुकाउनु पर्छ । त्यसैले भूमिका पनि सबैले आ–आफ्नो स्थानबाट निर्वाह गर्नुपर्छ । नागरिकको तर्फबाट मास्क लगाउने, हात धुने तथा स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, जोखिम समूहका परिवार सदस्यहरुको ख्याल विशेष रुपमा गर्ने तथा भिडभाड सकेसम्म कम गर्ने गर्नुपर्छ ।


स्वास्थ्यकर्मीले उपलब्ध सत्य तथ्या जानकारीहरु सर्वसाधारणहरुलाई उपलब्ध माध्यमहरुबाट प्रवाह गर्ने तथा आवश्यक परेकाहरुलाई स्वास्थ्य सेवाका लागि तयारी अवस्था रहने गर्नुपर्छ । त्यसमा स्वास्थ्यकर्मीहरु तत्पर पनि छन् । सबैभन्दा महत्वपूर्ण भूमिका नेतृत्व तथा राज्य तहको देखिन्छ । सरकारले नागरिकलाई महामारीबारे बुझाउँदै र संक्रमण नियन्त्रणका प्रयासहरु अपनाउँदै गर्दा उनीहरु नअत्तालिऊन् भन्नेमा ख्याल गर्नुपर्छ ।

नेतृत्वकर्ताहरु उदाहरणका रुपमा प्रस्तुत भए भने सावधानीका उपायहरु सर्वसाधारणसम्म पु¥याउनु सजिलो हुन्छ । नेतृत्वले बाटो बिराउँदा त्यसको प्रभाव नकारात्मक रुपमा तल्लो तहसम्म पर्छ । बिडम्वना नै भन्नुपर्छ अहिले हामीले नेपाली नेतृत्वबाट खतराको बाटोतर्फको उदहारण देखिरहेका छौँ अधिकांश रुपमा ।

नयाँ भेरियन्ट र बालबालिकामा जोखिम

कोरोना भाइरस अति ‘बाठो’ प्रकारको भएकाले संक्रमण तीव्र रुपमा फैलिने नयाँ भेरियन्टहरु देखिएका छन् । आफ्नो जीवन रक्षा तथा फैलावटका लागि कोरोना भाइरसले आफ्नो स्वरुपमा परिवर्तन गर्दा नयाँ भेरियन्ट विकसित भएका छन् । नयाँ भेरियन्ट संक्रमक देखिएका छन् ।

विश्वकै तथ्यांकहरु हेर्दा नयाँ भेरियन्टहरु बालबालिका तथा किशोर किशोरीमा विगतको भन्दा बढि संक्रामक देखिएका छन् । नेपालमा पनि पछिल्ला दिनहरुको तथ्यांकले त्यस्तै बताएको छ । भएका अध्ययनहरुले महामारीको पहिलो लहरमा बालबालिका त्यति जोखिममा नरहेको बताएका थिए । तर अहिले बालबालिकामै संक्रमण र जोखिम बढेको देखिन्छ ।

यसको कारण नयाँ भेरिन्टको फेरिएको स्वरुप हुनसक्छ । अर्को सम्भावना, पहिले पनि बालबालिकामा संक्रमण ‘एसिम्टम्याटिक’ रुपमा रहेकाले नदेखिएको र अहिले ‘सिम्टम्याटिक’ बनेको हुन सक्छ। तर यसमा अध्ययनको खाँचो छ । नयाँ भेरियन्टले विगतमा थाहा भएका जोखिम समूहसँगै बालबालिका पनि खतरामा आएको देख्दा यो चरणमा सावधानी थप बलियो बनाउनु पर्नेहुन्छ ।

अभिभावकले आफ्ना सन्तानको ख्याल गर्ने र आफूले सावधानीका उपाय अपनाउने गरेमा बालबालिका त्यसको सिको गर्छन् । बालबालिका भनेका काँचो माटो जस्तै हुन्, राम्रोसँग सिकाउन सकियो भन्ने सावधानीका उपायहरु उनीहरुलाई सिकाउन सजिलो छ ।

तर त्यसका लागि अभिभावकले आफू अनुशाशित भएर सोही अनुसारको व्यवहार बालबालिकालाई सिकाउनु भयो भने अहिले मात्रै नभएर भविष्यमा आउन सक्ने महामारीजन्य अवस्थाका लागि तयार गर्न सकिन्छ । खोप हाम्रोमा आउँदै छ, अधिकांश भेरियन्टमा तयार खोपहरुले काम गरेको देखिएका छन्, जुन खुशीको कुरा हो ।

तर खोपमा पहिलो पहुँच धनी देशको देखिएकाले नेपाल जस्ता देशले संक्रमणविरुद्धका सावधानीलाई नै जोड दिनुको विकल्प तत्कालका लागि देखिँदैन । प्रतिबन्धात्मक उपायहरुले हामी सबैमा एक प्रकारको थकान र कहिलेसम्म भन्ने वितृष्णायुक्त प्रश्न हुनु स्वभाविक हो ।

तर जीवन रक्षाका लागि अपनाउनु पर्ने सावधानीहरु हामी सबैले अपनाउनु पर्छ र सरकारले पनि जिम्मेवार बनेर नीतिगत तथा व्यवस्थापकीय रुपमा प्रस्तुत हुनु पर्ने देखिन्छ । अन्त्यमा, एक चिकित्सकका रुपमा मेरो आग्रह खोप लगाएको भए पनि मास्क लगाउनु होला, सकेसम्म भिडभाड कम गर्नु होला, हात धुने तथा बारम्बार हात अनुहारमा नलैजानु होला ।

यस्तै अहिलेसम्म स्वीकृत भएका खोपहरुको गम्भीर नकारात्मक प्रभाव देखिएका छैनन्, वा भए पनि अति नै दूर्लभ छ, त्यसैले पाएका बेला निर्धक्क भएर खोप लगाउनु होला । यो महामारी हामी सबैको हो र यसले हामीसबैलाई प्रभावित गरेको छ। हाम्रो एकीकृत प्रयास र राज्यको उचित व्यवस्थापकीय जिम्मेवारीले मात्रै यसलाई जित्न सकिन्छ ।

(देशसंचारबाट)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार