मेन्पोरा कप उपाधि रोहित आबद्ध पर्सिजालाई

नेपाली राष्ट्रिय फूटबल टोलीका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले इन्डोनेसिया मेन्पोरा कपको उपाधि जितेको छ । आइतबार भएको दोस्रो लेगमा पर्सिब बानडुङलाई २-१ ले पराजित गर्दै समग्रमा ४-१ को जित निकाल्दै पर्सिजा च्याम्पियन बनेको हो ।

फूटबल एसोसिएसन अफ इन्डोनेसियाले लिग शुरू हुनुभन्दा अघि गर्ने यो प्रतियोगितालाई लिगको वार्मअपका रूपमा लिइन्छ। यसअघि बिहीबार भएको पहिलो लेगमा पर्सिजा २-० ले विजयी भएको थियो।

आइतबार खेल हुँदा ५१ औं मिनेटमा असभाल्डो अल्डिल्सको गोलबाट पर्सिजाले अग्रता लिएको थियो तर, फ्रेन्डिन्ड अल्फ्रेडले पर्सिबका लागि बराबरी गोल फर्काएका थिए । खेलको अन्तिम मिनेटमा रिको मिनजुन्तकले जाकार्ताका लागि विजयी गोल गरेका थिए। पूरा समय मैदानमा बिताएका रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यसअघि सेमिफाइनलमा दुवै लेग गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको थियो। टाइब्रेकरको शुरूवाती ५ प्रहारमा दुवै टोलीले ३-३ गोल गर्दा खेलको निर्णय सडन डेथमा पुगेको थियो। सडन डेथमा पनि ४ पेनाल्टी गोल हुन नसक्दा खेल आठौं प्रहारसम्म पुगेको थियो ।

आठौं प्रहारमा पर्सिजाका टोनी सुचिप्तोले गोल गर्दा माकासरका स्युकुर जुल्किफ्लीले गोल गर्न सकेनन् । रोहितले प्रतियोगिता अन्तर्गत समूह चरणका खेल गुमाएका थिए। नेपालमा भएको त्रिदेशीय कपका दौरान उनी नेपालमा रहेका थिए। नेपालले उपाधि जित्दा रोहित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । एक महिनाभन्दा लामो समयसम्म चलेको प्रतियोगितामा १७ टोलीको सहभागिता थियो। पर्सिजा समूह ‘बी’ मा र पर्सिब समूह ‘डी’मा रहेका थिए ।

तपाईको प्रतिक्रिया