भारतमा महामारीकै बीच पञ्चायत चुनाव, कर्मचारी त्रस्त !

एजेन्सी । भारतको उत्तर प्रदेशमा कोरोना महामारीकै बीच पञ्चायत चुनाव भइरहेको छ । चुनाव गराउन खटाइएका कर्मचारीहरूले आफूहरू निकै त्रासमा रहेको बताएका छन् ।

प्रयागराजको सिँचाइ विभागमा कार्यरत, तर अहिले चुनावमा खटाइएका सुनील सिंहले भनेका छन्, ‘अप्रिल १५ मा धनपुर ब्लकमा भएको चुनावमा मलाई खटाइयो, त्यहाँ निकै भीड थियो, कोरोनाबाट जोगिन कुनै व्यवस्था गरिएको थिएन, मलाई फेरि चुनावमा खटाइँदैछ, नित्रै डर लागिरहेको छ ।’

उनीजस्तै चुनावमा खटिएका धेरै कर्मचारीहरूले कडा आदेश दिएर आफूहरूलाई चुनावमा खटाइएको बताएका छन्। चुनावी बुथहरूमा कोरोना प्रोटोकल नाम मात्रको रहेको र संक्रमितजस्ता देखिएका धेरै मानिसहरू मतदान गर्न आइरहेका उनीहरू बताउँछन् ।

महोबा शिक्षा विभागका अध्यापक राजीव यादवले आफू कोरोना संक्रमित रहेपनि मत गणनामा खटाइएको बताएका छन्। आफूजस्तै अन्य संक्रमित शिक्षकलाई पनि मतगणना प्रशिक्षणका लागि चुनाव आयोगले बोलाएको उनले जानकारी दिए ।

पञ्चायत चुनावको तेस्रो चरणमा अहिले उत्तर प्रदेशको अमेठी, उन्नाव, औरैया, कानपुर, देहाल, काजञ्ज, चन्दौली, जालौन, देवरिया, पीलीभीत, फतेहपुर, फिरोजाबाद, बलरामपुर, बलिया, बाराबंकी, मेरठ, मुरादाबाद, मिर्जापुर, शामली, सिद्धार्थनगर र हमीरपुरमा मतदान भइरहेको छ। यी लगायत २० जिल्लामा विहान ७ बजेदेखि बेलुकी ६ बजेसम ४९ हजार ७८९ बूथमा मतदान हुने गरेको हो।

कोरोना संक्रमणबाट ग्रसित र जोखिममा रहेका कर्मचारीहरूले चुनाव सार्न आग्रह गरिरहेका छन्। तर, धमाधम चुनाव भइरहेको र उनीहरूलाई त्यहाँ जबरजस्ती खटाइएको बीबीसी हिन्दीमा खबर छ।

तपाईको प्रतिक्रिया