देशभर तीन साता लकडाउन गर्न सिफारिस

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सीसीएमसीले कम्तीमा वैशाख मसान्तसम्म लकडाउनको सिफारिस गरेको हो । लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार सीसीएमसीको बैठकले महामारीको पछिल्लो अवस्थाको समीक्षा गरेको थियो । बैठकमा अधिकांश सदस्यले कोरोना संक्रमणको दोस्रो लहर तीव्र विस्तार भएकाले तत्काल रोकथाम तथा नियन्त्रणका लागि कडा किसिमको आदेश जारी गर्नुपर्ने सुझाव दिएका थिए । त्यसपछि बैठकले सर्वसम्मत रूपमा लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने निर्णय गरेको हो ।

लकडाउन नभएको खण्डमा सहरी क्षेत्रमा ५ सय र अन्य जिल्लामा २ सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । उपत्यकामा १ हजार जनाभन्दा बढी सक्रिय संक्रमित पुगे निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव छ । यस्तै विदेशी नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेशमा पनि रोक लगाउन सिफारिस गरेको छ ।

स्थलमार्गबाट भित्रिने नेपालीलाई भने प्रवेश दिने तर परीक्षणसहित नियन्त्रित आधारमा गन्तव्यसम्म पुर्‍याइने व्यवस्था गर्नुपर्ने प्रस्ताव छ । तोकिएका ३५ नाकाबाट आवागमन व्यवस्थापनमा सुरक्षाकर्मी खटिए पनि खुला सिमानाका कारण चोरबाटो हुँदै भारतबाट भित्रिनेको संख्या अधिक छ, जुन परीक्षणको दायरामा पनि छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया