कर्णालीमा कोरोना संक्रमण तीव्र तर रोकथामको पूर्वतयारी सुस्त

सुर्खेत । कर्णाली प्रदेशको छिमेकी जिल्ला बाँके र बर्दियामा कोरोनाको अवस्था भयावह छ । त्यहाँ मृत्यु र संक्रमणको दर बढ्दो क्रममा छ । छिमेकी जिल्लामा भयावह अवस्था देखेर कर्णाली सतर्क हुनुपर्ने हो । महामारीबाट बच्न जनशक्तीे व्यवस्थापन र अत्यावश्यक उपकरणको प्रवन्ध र नाकामा उच्च सतर्कता अपनाउनुपर्ने हो ।

तर कर्णाली प्रदेशमा भने हालसम्म महामारी रोकथामका लागि पूर्वतयारी सुस्त छ । सम्भावित महामारीको अवस्थालाई नियन्त्रण गर्न उच्च सतर्कता अपनाइएको छैन । संक्रमण क्षेत्र अर्थात (बाँके, बर्दिया र भारत) बाट नागरिकहरु विना चेकजाँच भित्रिरहेका छन् ।

प्रदेश भित्रिने नाकाबाट संक्रमितहरु सहजै भित्रिएर समुदायमा पुगेका छन् । संक्रमित क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई ज्वरो मात्र नापेर गाउँ पठाउने गरिएको छ । जसकाकारण गाउँ–गाउँमा कोरोनाको संक्रमण तीव्र भइरहेको छ । यही कारण कर्णाली प्रदेशमा पनि कोरोनाको संक्रमण उच्च भएको छ । प्रदेशमा संक्रमितको दर दिनप्रतिदिन उकालो लाग्दोक्रममा छ ।

यस्तो अवस्थामा सुरक्षा सावधानी अपनाउनु नै बुद्धिमानी मानिन्छ । तर कर्णाली प्रदेशले सुरक्षा सावधानी मात्रै होइन, भएका स्वास्थ्य उपकरणहरु पनि प्रयोगमा छैनन् । कोरोना संक्रमतिको लागि अत्यावश्यक मानिने अक्सिजन, आइसीयू र भेन्टिलेटरको पर्याप्त प्रवन्ध गरिएको छैन ।

प्रायः जेष्ठ नागरिक र जटिल प्रकृतिका संक्रमितको लागि अक्सिजन, आइसीयू र भेन्टिलेटर अत्यावश्यक मानिन्छ । तर कर्णालीमा भने अक्सिजन, आइसीयू र भेन्टिलेटर सेवाको अवस्था नाजुक छ ।
कर्णालीका सात जिल्लामा अक्सिलन प्लान्ट नै छैन । आठ जिल्लामा रहेका आईसीयू र भेन्टिलेटर सेवा पनि जनशक्ति अभावमा प्रयोगविहीन बनेका छन् ।

दश जिल्ला मध्ये मुगु, कालिकोट, दैलेख, सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जिल्लामा अक्सिजन प्लान्ट छैन । ति जिल्लाले बाह्य जिल्लाबाट अक्सिजन खरिद गरेर ८÷१० जना विरामीलाई मात्रै सेवा दिन सक्ने सम्बन्धित अस्पतालहरुले जनाएका छन् । सुर्खेत, जुम्ला र हुम्लामा अक्सिजन प्लान्ट छ । तर हुम्लामा विद्युत अभावका कारण अक्सिजन उत्पादन हुँदैन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीनसय बेड र प्रदेश अस्पताल सुर्खेतमा ४० बेडबाट अक्सिजन चढाउन सकिन्छ । सुर्खेतमा र जुम्लामा पनि न्यून मात्रमा अक्सिजन उत्पादन हुन्छ । अहिलकै गतिमा संक्रमण फैलिए कर्णालीमा अक्सिजन अभाव हुने प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्शन डाक्टर केएन पौडेलले बताउँछन्

। ‘संक्रमित भएका १० प्रतिशत जेष्ठ नागरिकलाई अक्सिजन अनिवार्य देखिन्छ’ उनी भन्छन्, ‘अहिलेकै गतिमा संक्रमित थपिए कर्णालीमा अक्सिजन अभाव हुन्छ ।’ हाल प्रदेश अस्पतालमा हाल १९ जना संक्रमितलाई अक्सिजन चढाउनु पर्ने छ । विरामीको संख्या बृद्धि हुँदै गएको कारण तत्काल अक्सिजन उत्पादन क्षमता बढाउनुपर्ने डाक्टर पौडेल बताउँछन् । यद्यपी सुर्खेत बाहेकका जिल्लामा भने अक्सिजन चढाउनुपर्ने संक्रमितहरु छैनन् ।

सुर्खेतमा तीनसय संक्रमित

सुर्खेतमा कोरोना संक्रमितको संख्या उच्च भएको छ । आइतबारसम्म सुर्खेतमा सक्रिय संक्रमितको तीन सय पुगेको छ । ति मध्ये वीरेन्द्रनगरमा मात्रै दुईसय ८१ र कर्णाली प्रदेश अस्पतालमा १९ जना संक्रमित छन् ।

कर्णाली प्रदेशभर भने सक्रिय संक्रमितको संख्या चार सय पुगेको छ । तिमध्ये सुर्खेतका तीनसय, सल्यानका ६६, दैलेखका ३० र जाजरकोटका ३४ जना छन् । संक्रमितको दरलाई हेर्दा कर्णालीमा उच्च सावधानी अपनाउनुपर्ने अनिवार्य छ ।


सुर्खेतका सबै पालिकामा अक्सिजन र आइसोलेशन

यसैबीच सुर्खेतका सबै पालिकाहरुमा अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश अस्पतालमा कोरोनाका बिरामीको चाप दिनहुँ बढ्दै गएपछि जिल्लास्थित सबै पालिकाहरूले कोरोना संक्रमित बिरामीका लागि अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गर्ने लागिएको जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको हो ।

वीरेन्द्रनगरमा कोरोना संक्रमणको दर तीव्र गतिमा बढ्दै गएकाले बजार अनुगमन गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाउने र सो कुराको जानकारी जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

यस्तै प्रदेश अस्पतालले कलसेन्टरको स्थापना गरी सञ्चारमाध्यमलाई कोभिडबारे जानकारी गराउने छ’ उनले भने, ‘वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र संक्रमित बढेकाले नगरपालिकाभित्रका सबै संयन्त्रलाई परिचालन गरी स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न लगाउने पनि निर्णय बैठकले गरेको छ ।’

आईसीयु र भेन्टिलेटर प्रयोगविहीन 

कर्णालीका सात जिल्ला अस्पतालमा तयारी पु¥याइएका आईसीयु र भेन्टिलेटर सेवा पनि प्रयोगविहीन छन् । जनशक्ति अभावका कारण सुर्खेत, जुम्ला र हुम्ला बाहेकका जिल्ला अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयू सेवा सञ्चालनमा आएका छैनन् ।

अक्सिजन, जनशक्ति र भौतिक पूर्वाधार अभावका कारण आईसीयू र भेन्टिलेटर प्रयोगविहिन बनेको सम्बन्धित अस्पतालहरुले जनाएका छन् । जाजरकोटमा भौतिक संरचना र जनशक्ति अभावका कारण आईसीयू र भेन्टिलेटर थन्काइएका छन् । रुकुमपश्चिममा आईसीयू र भेन्टिलेटर बेडहरु जनशक्ति अभावका कारण प्रयोगविहीन छन् ।

मुगुमा आईसीयु र भेन्टिलेटर बेड कक्षा छुट्याइए पनि जनशक्ति अभावका कारण प्रयोगमा ल्याउन सकिएको छैन । डोल्पा, कालिकोट, दैलेख र सल्यान अस्पतालमा पनि भेन्टिलेटर र आईसीयू सेवा जनशक्ति अभावका कारण प्रयोगमा छैनन् । कर्णाली प्रदेशभर ६२ वटा आईसीयू वेडहरु छन् ।

जसमध्ये हुम्ला, कालिकोट र दैलेखमा पाँच÷चाँच वटा, मुगु, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा दुई/दुईवटा, प्रदेश अस्पताल सुर्खेतमा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० र चौरजहारी अस्पताल रुकुमपश्चिममा चार वटा आईसीयू वेडहरु छन् ।

त्यस्तै प्रदेशभर कुल २७ भेन्टिलेटर बेडहरुमध्ये जाजरकोट, रुकुमपश्चिम, सल्यान, डोल्पा र मुगुमा एक/एक हुम्ला, कालिकोट र दैलेखमा दुई÷दुई, प्रदेश अस्पताल सुर्खेतमा १० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६ बेड भेन्टिलेटर सेवा छ । जटिल प्रकृतिका विरामीको उपचारका लागि आईसीयू र भेन्टिलेटर सेवा अत्यावश्यक मानिन्छ ।

तर कर्णाली प्रदेशमा भने भएका उपकरणहरु पनि जनशक्ति अभावका कारण प्रयोगविहिन बनेका छन् । कर्णाली प्रदेश सरकारले भने संक्रमणको अवस्था जटिल भएको खण्डमा जनशक्ति व्यवस्थापन गरेर सबै आईसीयू र भेन्टिलेटर सेवा सुरु गर्ने दाबी गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार