भारतबाट नेपाल फर्कनेको घुइँचो : न क्वारेन्टाइन, न आइसोलेसन

भारतबाट सुदूरपश्चिम प्रदेश प्रवेश गर्ने मुख्य नाका हो- कञ्चनपुरको त्रिनगर । कैलाली र कञ्चनपुरको सीमामा रहेको यो नाका हुँदै सुदूरपश्चिमका पहाडी जिल्लाबाट रोजगारीको खोजीमा भारत गएकाहरू भारतमा कोरोना कहर बढेसँगै स्वदेश फर्कन थालेका छन् ।

त्रिनगर नाकाको हेल्थ डेस्कमा कोरोना जाँच गर्ने लाइनमा उभिएका देवदत्त कलौनीको काँधमा एउटा सानो झोला छ । ‘अरु बेला दुई जनाले पनि बोक्न नसक्ने ‘भारी’ (सामान) हुन्थ्यो,’ कलौनी चित्त दुःखाउँदै भन्छन्, ‘यसपालि त घरबाट जाँन्झ्या लगेको झोला पनि रित्तै ल्याउनुपर्‍यो ।’

बैतडी पञ्चेश्वर गाउँपालिकाका कलौनी चार महिनाअगाडि भारत गएका थिए । नेपाल र भारतमा गत वर्ष भएको लामो लकडाउनपछि भारत गएका उनी ‘सेठ’ले होटल बन्द गरेपछि रोजगारी गुमाएर नेपाल फर्किन बाध्य भए । नेपाल फर्केसँगै उनी बेरोजगार भएका छन् ।

गत वर्ष भारत र नेपालमा लकडाउन भएपछि पनि उनी यसरी नै फर्किन बाध्य भएका थिए । त्यतिखेर यही सीमा नाकामा पाँच दिन पर्खेपछि मात्र नेपाल छिर्न पाएका उनी, यस वर्ष सहजै छिर्न पाएकोमा तैबिसेक खुसी छन् । ‘गया वर्ष त पाँच दिन रोडमा बसेपछि नेपाल छिर्‍या थियौँ,’ उनी सम्झिन्छन् ।

 

१२ वर्षदेखि भारत आउजाउ गर्दै रोजगारी गरिरहेका उनले कोरोना सुरु भएपछि आनन्दले रोजगारी गर्न पाएका छैनन् । ‘दुई वर्ष त एक रुपैयाँ कमाइ भएन,’ उनी गुनासो गर्छन् । यस वर्ष उनी दसैँमा घर फर्किने योजना बनाएर गएका थिए ।

भारतबाट आर्जन गरेको पैसाले सानो खेत किन्ने योजना थियो उनको । ‘बजारका चामल किनेर खानुपर्छ, यसपालि त खेत किन्ने पैसा कमाऊँला भन्ने सोच्या थिएँ,’ पसिना पुच्छ्दै उनले भने, ‘पाँच वर्षकी छोरीलाई लत्ताकपडा त किन्न सकिएन ।’

कोरोना सुरु भएसँगै कलौनीको जीवनमा पनि दुःख थपियो । दुःखको कमी थिएन, दुःखमाथि थपिन आएको कोरोनाले उनलाई नराम्रोसँग गलाएको छ । एक जोर लुगा किन्न सकियोस् । नुन, तेल किन्न ऋण माग्न नपरोस् भनेर भारतमा रोजगारी गर्न जाने कलौनीजस्ता हजारौँ मानिस भारतमा रोजगारी गुमाएर त्रिवेणी नाकाबाट नेपाल फर्किंदै छन् ।

तपाईको प्रतिक्रिया