तनाव व्यवस्थापन गर्न नसक्दा बर्सेनि बढ्दै आत्महत्याको दर

सुर्खेतमा चार बर्षको अवधिमा चारसय जनाभन्दा बढीले गरे आत्महत्या

दिनेश बुढा

सुर्खेत ।

घटना : १
वीरेन्द्रनगर वडा नम्बर ६ का गणेश (नाम परिवर्तन) स्तातकोत्तर तहमा पढ्दै थिए । उनी पढाइमा मेहनती पनि थिए । उमेर बढ्दै जाँदा उनी एक युवतीको प्रेममा परे । एउटै क्याम्पस भएका कारण प्रेम झन् प्रगाढ हुँदै गयो । करिव दुई बर्षसम्म चलेको प्रेम फर्कन भने पाएन । गणेशले गत मंसिरमै विवाह गर्ने योजना बनाए ।

तर उनको योजनामा प्रेमीका सहमत भइनन् । अनि सम्बन्धमा उतारचढाव आयो । प्रेममा असफल भएपछिको तनाव उनले थेग्न सकेनन् । अन्ततः उनले मृत्यु रोजे । विवाह गरेर आफन्त र परिवारलाई खुशी बनाउने सोचेका उनले तनाव व्यवस्थापन गर्न नसकेर आत्महत्या गरे ।

घटना : २
जाजरकोटका चन्द्र (परिवतित नाम) चार बर्षअघि अध्ययन गर्न सुर्खेत झरे । चार बर्षदेखि लोकसेवा आयोग र क्याम्पस दुबैलाई निरन्तरता दिए । तर समय सोचे जस्तो भएन । सँगैका साथीहरु कोहीले क्याम्पसको पढाइ पुरा गरे त कोही लोकसेवा पास गरेर स्थायी जागिरे भए ।

चन्द्रले भने क्याम्पस र लोकसेवा दुबैमा असफल भए । ब्याजलर तेस्रो र चौथो बर्षमा असफल भए । पटक–पटक लोकसेवाको प्रि–टेष्टमा सफल हुने तर दोस्रो पत्रमा असफल भए । जेठो छोरा भएका कारण पढाइ, जागिर र घर व्यवहार धान्नुपर्ने बाध्यता थियो । असफलतालाई व्यवस्थापन गर्न नसक्दा गएको जेठमा उनले पनि आत्महत्या गरे ।

गणेश र चन्द्र मात्रै होइन, समयमै तनाव व्यवस्थापन गर्न नसक्दा अधिकांश युवापुस्ताले मृत्यु रोज्ने गरेको पाइएको छ । पछिल्लो चार वर्षको अवधिमा सुर्खेतमा कुल चासय २१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । प्रहरीका अनुसार आत्महत्या गर्नेमा युवा पुस्ता नै सबैभन्दा बढी छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ९१ जना, ७५/०७६ मा ९३ जना, ०७६/०७७ एकसय २८ जना र चालु आर्थिक बर्षको चैत समान्तसम्म एकसय नौ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरु अधिकांश १० देखि ६० बर्ष समूहका छन् ।

ति मध्ये पनि १८ बर्षदेखि ६० बर्ष उमेर समूहका सबैभन्दा बढी छन् । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार धेरै जसोले अभाव, तनाव, गरिवी, घरेलुहिंसाका कारण आत्महत्या रोज्ने गरेका छन् । त्यस्तै पारिवारिक कलह, असफलता, नैराश्यता, मानसिक रोग, दीर्घरोग तथा सामाजिक सञ्जालको गलत प्रयोगका कारण पनि आत्महत्या गर्ने गरेको सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।

उनका अनुसार अभिभावकले आफ्ना सन्तानको मानसिक तनावबारे चासो नदिनाले पनि यो समस्या बढिरहेको हो । हरेक वर्ष आत्महत्याको दर बढेको भन्दै प्रहरीले मनोपरामर्श र जीवन उपयोगि सीपबारे युवाहरुलाई जानकारी दिनुपर्ने बताएको छ । तनाव व्यवस्थापन गर्न सकेमा मात्र आत्महत्याको दर कम गर्न सकिने प्रहरीको भनाइ छ ।


सहरमा आत्महत्या धेरै

गाउँको तुलनामा सहरमा आत्महत्याका घटना बढी हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा सुर्खेतको वीरेन्द्रनगरमा आत्महत्याका घटना सबैभन्दा बढी र चौकुने गाउँपालिकामा सबैभन्दा कम आत्महत्याका घटना भएका छन् । तथ्याङ्क अनुसार वीरेन्द्रनगर नगरपालिकाभित्र ४३ जना र चौकुनेमा दुई जनाले आत्महत्या गरेका छन् ।

जसमा पनि वीरेन्द्रनगर–१६ मा दुईजना, वडा नं. १ मा नौ जना, वडा नं. ६, ९, १२, १३ मा एक÷एक जनाले आत्महत्या गरेका छन् ।

अन्य वडामा भने आत्यहत्या भएका छैनन् । यस्तै पञ्चपुरी नगरपालिकामा तीन जना, लेकवेशी नगरपालिका ११ जना, बराहताल गाउँपालिकामा पाँचजना, चिङ्गाड गाउँपालिकामा तीन जना, सिम्ता गाउँपालिकामा १० जना, भेरीगंगा नगरपालिकामा १७ जना र गुर्भाकोट नगरपालिकामा १५ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्यालाई कसरी रोक्ने ?

आत्महत्यालाई पूर्णरुपमै रोक्न नसके पनि धेरै हदसम्म घटाउन भने सकिन्छ । आत्महत्याका कारण मानिने नकारात्मक असरहरु घटाउन सके आत्महत्याका घटना धेरै हदसम्म कम गर्न सकिन्छ । यसका लागि निम्न प्रयास गर्नु राम्रो हुनेछ ।

विभिन्न मानसिक रोगहरु जस्तै डिप्रेसन, मानसिक असन्तुलन, मद्यपानको कुलत, लागूपदार्थ दुव्र्यसन, केहि दिर्घ रोगहरु, छारे रोग, एचआइभी/एड्स आदिका कारण आत्महत्या हुने भएकाले यस्ता समस्याहरुको पहिचान गर्ने र उपचार सेवामा सुधार ल्याउने हो भने यिनै कारण हुने आत्महत्या घटाउन सकिन्छ । यस्तै महिलाहरुमा गर्भवती भएको बेला र बच्चा जन्मेको केहि हप्ताभित्र पनि आत्महत्या गर्ने सम्भावना अन्य महिलाको तुलनामा वढी भएको देखिएको छ ।

उपचार नपाएको डिप्रेसन यसको मुख्य कारण हुनुपर्छ भन्ने धेरै विशेषज्ञहरुको राय छ । गर्भवती भएको वेला महिला जचाँउन आउँदा र वच्चा जन्मेपछी ६ देखि ८ हप्तासम्म डिप्रेसन छ की छैन परिक्षण गर्नु नै यसरी हुने आत्महत्या घटाउने तरिका हो । रिसको झोकमा वा आवेगमा आएर तुरुन्तै आत्महत्या गर्ने वाहेक अन्य आत्महत्या गर्ने सोचाई अलिअलि गरेर आउने र विस्तारै वढ्दै जाने हुन्छ ।

अर्थात आत्महत्या गर्ने विचार आउँछ वा आउदैन सोधेर पनि पत्ता लगाउन सकिन्छ । आत्महत्या गर्ने विचार आएकाहरुलाई राम्रो उपचार र काउन्सिलिङ गर्न सके आत्महत्या रोक्न सकिन्छ । केही आमाले साना वच्चालाई मारेर आत्महत्या गर्ने गरेको पनि देख्न वा सुन्न पाइन्छ । यस्तो प्राय डिप्रेसनका कारणले हुन्छ ।

डिप्रेसनमा बाच्न मन लाग्दैन, भोक लाग्दैन र थकाई बढी लाग्छ । यस्ता आमाले मायाका बच्चाको हत्या गर्छन् । किनकी उनीहरुको मनमा आत्महत्या गर्ने सोच आउको हुन्छ । अनि उनीहरु म मरें भने बच्चाको हेरचाह कसले गर्छ ? बच्चादे दुःख पाउँछ भन्ने सोचाई राख्छन् र बच्चाको हत्या गर्छन् ।

त्यसैले यस्ता अमालाई समयमै उपचार गर्न सके शिशु र आमा दुबैको ज्यान जोगाउन सकिन्छ । आत्महत्या गर्नु अघि लेखिएको सुसाइड नोटको अध्ययन गर्दा धेरै जनाले भावनात्मक पीडा सहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको देखिन्छ । भावनात्मक पीडाका कारणहरुमा पारिवारिक, आर्थिक, सामाजिक, शारीरिक र मानसिक आदि पर्छन् । आत्महत्या गर्न चाहने व्यक्तिले मर्न वाहेक अन्य विकल्पहरु नदेखेको आत्महत्याको बाटो रोज्छ ।

आजकाल स्मृति ध्यानले आफ्ना भावनाहरु चिन्न, त्यसको व्यवस्थापन गर्न र भावनात्मक पीडाको निकास खोज्न धेरै सहयोग गर्छ र आत्महत्या घटाउन सकिन्छ भनेर स्मृति ध्यान सिकाइन्छ । डिप्रेसन, चिन्ता रोग, लागूपदार्थ दुव्र्यसन, मद्यपानको उपचारसँगै स्मृति ध्यान पनि सिकाउने हो भने आत्महत्या कम गर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार