जब मनिरामको दिलमा अनिता नै बसिन्…

जसले आफ्नो जीवनसाथीप्रति विश्वास राख्दछ, उसको माया पनि दिगो हुन्छ । सबै जोडीको माया दिगो हुँदैन । त्यस्तो जोडीको प्रेम सफल हुन्छ, जसले एक अर्कालाई बुझ्ने गर्दछन् । हरेक सुख, दुखमा साथ दिने गर्दछन् । एक अर्कामा विश्वासको वातावरण सृजना गर्दछन् । यो कुरा सबै जोडीहरुको लागि लागू हुन्छ । यस्तै आफ्नो पहिलो मायालाई सफल बनाएका जोडी हुन् मनिराम सुवेदी र अनिता ज्ञवाली । यो जोडीको प्रेम कथाका सन्दर्भमा आजको अंकमा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश 

 

पारिवारिक चिनजान

मनिराम सुवेदी र अनिता ज्ञवालीको सानैदेखि चिनजान थियो । पारिवारिक सम्बन्धका कारण उनीहरु परिचित थिए । सानैदेखि मनिरामले पारिवारिक सम्बन्धका आधारमा अनितालाई माया गर्थे । अनिताको दिदीलाई मनिरामको दाईले बिवाह गरेका थिए ।

त्यसैले पनि उनीहरु एकअर्कामा परिचित थिए । अनिता दिदीको घरमा आउँदा र मनिराम दाई ससुराली जाँदा भेट हुने गथ्र्यो । अनिताको दिदीको कारण नै उनीहरुबिचमा गहिरो सम्बन्ध थियो । तर बिवाह गर्ने भन्ने कुनै सोच नै थिएन । तर केही दिनको सोचले प्रेम बढ्न थाल्यो ।

मनिरामको दिमागमा अनिता नै

जब मनिरामलाई घर परिवारले बिवाह गर्नुपर्ने भनेपछि उनले आफुसँग सुहाउँदो धेरै केटीहरुलाई रातभर सम्झे । जतीलाई सम्झिए पनि व्यवहारिक रुपमा र सबै कुराले उपयुक्त अनितालाई ठाने । फेरि भोलिपल्टको रात पनि सोचे । उनको दिमागमा अनिता नै सही लाग्न थाल्यो ।

मनिरामले घरपरिवारसँग प्रस्ताव राखे । दाईको साली भए मात्र म बिवाह गर्छु भने मनिरामले । मनिरामको भाउजु र परिवारले एकछिन त आश्चर्य माने । तर उनीहरुले मनिरामको प्रस्ताव लिएर अनिताको घरमा गए । त्यहाँ पनि सहजै स्वीकार गरियो । सबै चाँजोपाँजो मिलाएर मनिरामको र अनिताको बिवाहको लागि मागियो ।

चिनजानको दश बर्षपछि बिहे

मनिराम र अनिताको चिनजान अनिताको दिदी र मनिरामको दाईको बिवाहपछि नै थियो । उनीहरु एकअर्कालाई साथीको रुपमा व्यवहार गर्थे । केही समय उनीहरुसँगै पनि पढेका थिए । एउटै भान्सामा खाना पनि खाने गर्थे । तर उनीहरुको सम्बन्ध विबाहमै रुपान्तरण हुन्छ भन्ने दुबैको मनमा थिएन ।

भेट हुँदा सधै मनिरामले नै अनितालाई बोलाउने गर्थे । उनले बोलाएपछि मात्र अनिता बोल्ने गर्थिन् । तर पछि मनिरामको प्रस्ताव र घरपरिवारको सहमतीले उनीहरु २०६१ सालमा बिवाह बन्धनमा बाँधिए । बिवाह हुनुभन्दा दश बर्ष अगाडी नै उनीहरु एक अर्कामा परिचित थिए । बिवाह भएर जाँदा अनितालाई केही नरमाइलो महसुस भएको थियो । तर माइतीमा र घरमा गरिने व्यवहारमा उनलाई कुनै फरक लाग्थेन ।

विवाहपछि संघर्ष

बिवाह गर्दा अनिता १९ बर्ष र मनिराम २४ बर्षको थिए । बिवाह अगाडी त्यती संघर्ष गरेका उनीहरुको संघर्ष नै बिवाहपछि शुरु भयो । उनीहरु दुबैको कुनै पनि रोजगारी थिएन । दुबैजनाको सल्लाहमा उनीहरुले तीनवटा कुराहरुमा सहमती गरे ।

पहिलो पढाइलाई निरन्तरता दिने, दोस्रो भविश्यमा स्थायित्वको खोजी गर्ने र तेस्रोमा तत्कालै बच्चाबच्ची नबनाउने उनीहरुबिचमा सल्लाह भयो । केही समयपछि मनिराम एनजीओमा काम गर्न थाले । तर माओवादी द्वन्द्वका कारण मनिरामले एनजीओको जागिरी छोड्नु परेको थियो ।

मनिरामको दाई आर्मी भएकै कारण उनले एनजिओको जागिर छोड्नुपर्ने अवस्था आयो । मनिरामले एउटा निर्णय लिए, स्वदेशमा बसेर केही गर्न नसकिने भन्दै उनी वेदेशिक रोजगारीको शिलशिलामा गए । मनिरामले अनितालाई जसरी भए पनि पढाउनुपर्छ भन्ने सोचेका थिए । पढाइलाई निरन्तरता गराउन उनी जतिसुकै दुख गर्न पनि तयार थिए ।


यता अनिताले एउटा निजी विद्यालयमा पढाउँथिन् । तर मनिरामले सानो जागिरको लागि आफ्नो पढाइ नविगार्न विदेशबाट सल्लाह दिन्थे । पढाइलाई निरन्तरता दिन सम्झाइ रहन्थे । भर्खरै बिवाह गरेको जोडी छुट्टीएर बस्दाको पीडा एकातिर थियो भने अर्कोतर्फ आफ्नो भविश्यको चिन्ता थियो । तीनबर्ष बसेर मनिराम विदेशबाट फर्किए ।

त्यतीबेलासम्म अनिताले ब्याचलर सकेर मास्टर्स पढ्न थालेकी थिइन् । उनीहरुको पहिलो सन्तानको रुपमा बच्चा पनि जन्मियो । अस्थायी जागिरी मात्र नभएर स्थायित्वमा जानुपर्छ भन्ने सोचका साथ लोकसेवाको तयारी गर्ने उनीहरु बिचमा सल्लाह भयो । अनिताले साढे २ बर्षको बच्चा मनिरामको जिम्मा लगाएर पढ्न काठमाडौं गइन् ।

सानो बच्चालाई छोडेर काठमाडौं जाँदा उनलाई पीडा थियो । तर मनिरामले भने अनितालाई धेरै साथ दिन्थे । मनिराम पनि विदेशबाट फर्किएर जागिरमा लागि सकेका थिए । मनिरामको बुवा सिकिस्त बिरामी हुँदा पनि अनिताको पढाइ विग्रन्छ भनेर जानकारी दिइएको थिएन । उनी लोकसेवा आयोगको परीक्षा दिएर आएपछि मनिरामको बुवा स्वर्गीए भएको ६ दिन भइसकेको रहेछ ।

यती हुँदा पनि अनितालाई कुनै तनाव दिनुहुन्न भन्ने मनिरामले सोच्थे । उनीहरुले धेरै संघर्ष गरे । सफल पनि भए । मनिराम अहिले शिक्षा विकास निर्देशनालयको सवइन्जिनियरमा कार्यरत छन् भने अनिता सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशमा अधिकृतको रुपमा कार्यरत छिन् । उनीहरु आफुहरु सफल हुनुमा आफ्ना बुवा आमा र दाइहरुलाई दिन्छन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा टिकाराम सुवेदी र आमा मनरुपा सुवेदीको कोखबाट २०३८ भदौ १५ गते सुर्खेत वीरेन्द्रनगर १३ मा जन्मिएका मनिराम घरको कान्छो छोरा हुन् । उनका तीन भाइ र पाँच दिदीबहिनी थिए । उनको बाल्यकाल मध्यम खालकै रुपमा वित्यो ।

सानोमा उनी चन्चले स्वभावका थिए । पढाइमा भने उनको लगाव राम्रो थियो । यस्तै, मोतीप्रसाद ज्ञवाली र कलावती ज्ञवालीको कोखबाट २०४३ असार १८ गते वीरेन्द्रनगर नगरपालिका ८ आवास क्षेत्रमा जन्मिएकी अनिताको बाल्यकाल सामान्य रुपमा वित्यो ।

अनिताको स्वभाव पनि चन्चले स्वभावको थियो । तर उनको मन भने कोमल थियो । भने उनलाई पढाइमा भने उनको लगाव राम्रो थियो । घरपरिवारमा पनि उनलालाई पढाइमा निरन्तरता दिनुपर्छ भन्ने गर्नुहुन्थ्यो । मनिरामले कक्षा ५ सम्म नेरा मावि करैखोलामा पढेका हुन भने त्यसपछि उनले प्लस टु सम्म अमरज्योति मावि नेवारेमा पढेका हुन् । उनले २०६० सालमा प्लस टु पास गरे ।

अनि टेक्निकलसँगै डिप्लोमा प्राविधिक शिक्षा कर्णाली प्राविधिक शिक्षालयबाट गरेका हुन् । उनले २०६४ सालदेखि सरकारी जागिरी सेवामा प्रवेश गरेका हुन् । तीन कक्षासम्म बालमन्दिरमा पढेकी अनिताले श्री कृष्ण मावी इत्रामबाट उनले एसएलसी पास गरिन् । उनले मासटर्स २०७० मा गरिन् । २०६९ साल भदौदेखि भने उनी अधिकृतको रुपमा जागिरमा प्रवेश गरेन् ।

सल्लाह र सहकार्य

संघर्ष गरेर सफलतामा पुगेका यो जोडी अहिले खुसी छन् । सरकारी सेवामा रहेका जोडी जे काम गर्दा पनि सल्लाह र सहमतिमा मात्र गर्ने गर्छन् । यस्तो गर्दा सम्बन्धमा खटपट आउँदैन । यो जोडीले एकअर्काको बानीलाई असाध्यै मन पराउँछन् । अ

नितालाई मनिरामले हरेक कुरामा साथ दिने र जुनसुकै कुरामा पनि व्यवहारिक बन्ने स्वभाव साह्रै मनपर्छ भने रिसाको बेला फकाउन नआउने र चाँडै रिसाइ हाल्ने बानी मन पर्दैन । मनिरामलाई भने अनिताको सबैसँग मिलेर जाने बानी मनपर्छ । तर उनको एउटा आफुले भनेको कुरा हुनुपर्छ भन्ने बानी उनलाई मन पर्दैन ।

तर घरमा केही समस्या आयो भने दुबैले एकअर्कालाई हौसला दिने गर्छन् । एकअर्काे बीचमा विश्वास र समझदारी भए मात्र दाम्पत्य सम्बन्धलाई दिगो बनाउन सकिने उनीहरूको भनाइ छ । जबसम्म एकअर्काे बीचमा समझदारी र विश्वास कायम हुँदैन, तबसम्म सम्बन्ध राम्रो नहुने उनीहरूको भनाइ छ ।

उनिहरु कुनैपनि निर्णय एकल गर्दैनन् । उनीहरूको अनुसार जीवन भनेको संघर्ष, भोगाइ र कर्म हो । जीवनमा अनेक दुःख, बाधा अवरोधहरू आइपर्छन् । ती दुःख, बाधा, अवरोधहरूलाई सहजताका साथ समाधान गर्ने सक्नु नै जीवन हो । जीवनमा दुःख नगर्ने व्यक्ति सफलतामा नपुग्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार जीवनसाथी भनेको हरेक सुख दुःखमा साथ दिने, जीवनको अन्त्यसम्म साथ दिने
साथी हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार