नयाँ दिल्ली । गुजरात राज्यको अहमदावाद शहरअन्तर्गत दानी लिम्दा, बेहरामपुर भन्ने ठाउँमा २३ वर्षीय
प्रतिक्षा गिरी नाम गरेकी नेपाली युवतीलाई अपहरण गरेर हत्या गरेको पाइएको छ ।
सो स्थानमा बसोवास गर्ने भारतीय सेनाबाट सेवानिवृत्त भएका घनश्यामले दिएकाे जानकारी अनुसार
हत्या गरिएकी युवतीलाई १९ अप्रिलको बिहान अपहरण गरी २४ घण्टासम्म बन्धक बनाएर राखिएको र बारम्बार बलात्कार पश्चात उनको हत्या गरिएको हो ।
यस हत्याकाण्डमा ३ जना युवा सामेल थिए जसमा राजु भनिएका युवा मुख्य आरोपी हुन्। तिनैजना आरोपी स्थानीय निवासी भएको बताइएको छ।
दैलेख निवासी प्रतिक्षा गुजरातको अहमदावादमा करिब १ वर्षदेखि रोजगारीको सिलसिलामा बसोवास गर्दै आएकी थिइन् ।
मजदुरी गर्दै आफ्नो परिवारको पालन पोषण गर्दै आएकी प्रतिक्षा गिरीका लागि १९ अप्रिल अन्तिम दिन भयो ।
१९ अप्रिलको बिहान घरदेखि मजदुरी गर्न निक्लिएकी उनी २० अप्रिलको बिहान राजु भन्ने युवाको घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।
गुजरात क्राइम ब्रान्चले घटनामा संलग्न भएको अभियोगमा ३ जना स्थानीय युवालाई हिरसातमा लिएको नेपाली सांस्कृतिक परिषद अहमदावाद अध्यक्षले जानकारी दिएका छन् ।
परिवारमा श्रीमानसहित २ बच्चा भएकी प्रतिक्षालाई अपहरण गरी उनलाई जबरजस्ती लागूऔषध दिएर तिनै जना युवाले बरम्बार बलात्कार गरेको खुलासा भएको छ।
यो घटनामा गुजरात सरकारले सक्रियता देखिएको छ ।
प्रवासी नेपाली महिलाको हत्या भएको जानकारी पाउन साथ गुजरातका गृहमन्त्री प्रदीप सिंह जाडेजाले उक्त केस गुजरात क्राइम ब्रान्चलाई हेर्न निर्देशन दिएको बताइएको छ ।
तीव्र गतिमा जाँच गर्दै क्राइम ब्रान्चले केही घण्टाभित्र नै तिनैजना आरोपीलाई आफ्नो नियन्त्रणमा लिएको छ । र, आरोपीले हत्या गरेकोे स्वीकार गरेका छन्।
प्रतिक्षा गिरीका हत्यारालाई कडाभन्दा कडा सजाय दिनाका निम्ति उक्त स्थानमा रहेको नेपाली समाज र नेपाली संस्कृति परिषदले उक्त घटनाको पूर्ण विवरणसहित दिल्लीमा रहेको नेपाली दूतावासलाई पनि जानकारी दिएका छन् ।
युग संवाददाता । । ११ बैशाख २०७८, शनिबार १६:१४