भारतमा कोरोना संक्रमण : संक्रमित र मृत्युको नयाँ रेकर्ड

एजेन्सी । भारतमा कोरोना भाइरसको नयाँ संक्रमण दर र संक्रमितको मृत्यु दरले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ। पछिल्लो २४ घण्टामा ३ लाख ४५ हजार संक्रमित थपिएका छन्। सोही अवधिमा २ हजार ६२१ जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा त्यहाँ गएको २४ घण्टामा ३ लाख ३२ हजारभन्दा बढीमा संक्रमण देखिएको थियो। त्यसैगरी सोही अवधिमा २ हजार २६३ जनाको ज्यान गएको थियो।

यसरी भारतमा अहिलेसम्ममा यो संक्रमणबाट १ करोड ६६ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ। त्यसैगरी भारतमा यो संक्रमणबाट मात्र एक लाख ८९ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। उक्त समयबाट अहिलेसम्म भारतमा १३ करोड ५४ लाख ७८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ। भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन्।

तपाईको प्रतिक्रिया