नेपाल सुपर लिग आजदेखि‚ पहिलो खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएल आज सुरु हुँदैछ। यो नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता हो ।

प्रतियोगिताको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दैछन्। दुवै टिम आजको खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्ने दाउमा छन् ।

गत चैत ६ मा सम्पन्न अक्सनमा उत्कृष्ट टिम छनोट गरेको दाबी गरेका दुवै टिमले आजको खेलमा जित निकालेर उपाधि रक्षाका लागि सुरुदेखि दाबी प्रस्तुत गर्ने तयारीमा छन्।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले आफूहरू जित निकाल्न आतुर रहेको बताएका थिए। कोरोना महामारीका कारण खेलमा दर्शकलाई भने निषेध गरिएको छ।

काठमाडौं टिम नेपाली राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथुको कप्तानीमा मैदान उत्रँदैछ। टिमको प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन्। ललितपुर सिटीलाई अञ्जन विष्टले कप्तानी गर्नेछन् भने टिमको मुख्य प्रशिक्षक प्रदिप हुमागाईं रहेका छन्।

नेपाल स्पोर्टस् म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा सात शहरका सात टोलीको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने लिग जेठ १ गतेसम्म सञ्चालन हुनेछ।

काठमाडौं र ललितपुरसहित एफसी चितवन, धनगढी, बुटवल–लुम्बिनी, विराटनगर र पोखरा थन्डर्स गरी सात टिम सहभागी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको लिग आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट मेनजेमन्ट प्रालिले जनाएको छ।

सुपर लिगको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख नगद पुरस्कार पाउने छन्। यसैगरि उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले एक–एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई राइजिङ्ग स्टारका रुपमा पुरस्कृति गरिने आयोजकले जनाएको छ। हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार नगद पुरस्कार पाउने छन् भने प्रत्यक खेलका इमर्जिङ्ग स्टार खेलाडीले १० हजार नगद पाउने छन्।

केही समयअघि सुपर लिगका लागि सबै टोलीले मार्की खेलाडी, प्रशिक्षक चुनिसकेका छन् भने अन्य खेलाडीलाई अक्सनमार्फत आफ्नो टिममा भित्र्याएका छन्।

तपाईको प्रतिक्रिया