शुक्लाफाँटामा खरमजुरको गणना

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति संकटापन्न दुर्लभ खरमजुरको गणना सुरु गरिएको छ । खरमजुरको अवस्था, संख्या, बासस्थानसँगै आहाराको पर्याप्तताबारे अध्ययन र अनुगमन सुरू गरिएको हो ।

निकुञ्जका कर्मचारी र चरा विशेषज्ञसहितको पाँचजनाको टोली खरमजुरको गणनामा खटिएको छ। ‘हेडकाउन्टका आधारमा गणनाको कार्य भैरहेको छ‚’ निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत रवीन चौधरीले भने, ‘निकुञ्ज क्षेत्रभित्र विभिन्न प्वाइन्ट राखी पोष्टहरूमा गणना भैरहेको छ ।’

तीन दिनअघि सुरु गरिएको गणना तथा अनुगमन एक साताभित्रै सम्पन्न हुने चौधरीले बताए । खरमजुरको बास स्थानका रुपमा रहेको घाँसे मैदान र खरका फाँटहरूमा बर्सेनि लाग्ने डढेलोले समस्या निम्त्याउँदै आएको छ। खरमजुरको अधिक संख्या रहेको निकुञ्जका रुपमा यसलाई लिइने गरिन्छ ।

पोथी र अर्धवयस्क खरमजुर खैरो र कैलो हुन्छ । खरमजुरको लम्बाई ६६ सेन्टिमिटरसम्म हुन्छ। प्रायः घाँसे मैदानमा पाइने लामा खुट्टा, मजबुत शारीरिक बनावट, लामो घाँटी र टाउकोमा कल्कीजस्तो देखिने खरमयुरका पोथी र बच्चा खैरा हुन्छन्। प्रजनन समयमा वयस्क भाले प्रायः कालो देखिन्छ। पखेटा भने सेतो हुन्छ। यसलाई अंग्रजीमा बेङ्गाल फ्लोरिक्यान भनिन्छ ।

संरक्षणका हिसाबले खरमजुर अति संकटापन्न अवस्थामा रहेको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले यसलाई अति संकटापन्न सूचीमा सूचीकृत गरेको छ। नेपाल सरकारले २०५७ सालमा हुलाक टिकटमा समेत खरमजुरको तस्बिर अंकित गरिएको छ । नेपाल सरकारले यसलाई संरक्षित पन्छीको सूचीमा राखेको छ ।

सन् २०१४ मा गरिएको राष्ट्रिय चरा गणनामा यसको संख्या नेपालमा ४१ वटा रहेको पाइएको थियो। जसमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा फेला परेका थिए ।खरमजुरसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सारस, सिम तित्रा र विश्वकै दुर्लभ मानिएको लेसर भुडिफोर चरा समेत पाइन्छ ।

तपाईको प्रतिक्रिया