चित्कार र शोक सहँदै भारतमा यसरी खटिएका छन्‌ स्वास्थ्यकर्मी

‘स्थिति यस्तै रहे अन्तहीन लडाइँ निश्चित’

एजेन्सी । कोरोना महामारीको दोस्रो लहरले भारतमा यतिखेर भयावह निम्त्याएको छ । समयमै उपचार नपाएकै कारण भाइरसले ग्रस्त बनाउँदा संक्रमितहरूको ज्यान गइरहेको छ ।

श्मशानमा ठाउँ अभाव भएपछि संक्रमितको शव सार्वजनिक स्थान र खेतबारीमा अन्त्येष्टि गर्न थालिएको छ । अस्पतालहरूमा केही सातायता निकै हृदयविदारक दृश्य देख्नुपरिरहेको छ।

मृत्युसँग जुध्दा छट्पटाइरहेका कोरोना संक्रमितको चित्कार, मृत्यु सन्नाटा र शोक सहँदै स्वास्थ्यकर्मीहरू उपचारमा खटिइरहेका छन्। कयौं चिकित्सकहरूले आफूहरू निकै दिनदेखि नसुतेको बताइरहेका छन् ।

उपचार गर्दा दिइने स्टेरोइड्सका कारण संक्रमितमा सुगरको मात्रा बढ्छ। यस्तो अवस्थामा डायबिटिज चिकित्सकहरूको भूमिका महत्वपूर्ण हुन्छ। यसबाट नै थाहा लाग्छ कि भारतमा यतिखेर महामारीले पूरै चिकित्साक्षेत्र र स्वास्थ्य प्रणालीलाई भद्रगोल बनाइसकेको छ।

डा. राहुल बख्शी तिनै चिकित्सकमध्येका हुन्, जसले महामारीको भयावहतामा आफ्नै सहकर्मीहरू लपेटिएको देखेका छन्। अस्पतालभित्र जताततै एन–९५ मास्क, सर्जिकल मास्क, चश्मा, फेस शील्ड, गाउन र टोपी लगाएका स्वास्थ्यकर्मीहरूमात्रै देखिन्छन्। सुरक्षा हकमा यस्तो दृश्य उचित भएपनि चिकित्सकदेखि संक्रमितहरूको मनोविज्ञानमा भने असर परिरहेको छ।

पीपीई कीट नलगाइ न खान सकिन्छ, न त पानी पिउन नै। पीपीई कीट नलगाएसम्म शौचालय जानदेखि कसैको सहयोग लिन पनि सकिने अवस्था छैन। खतराका बीच महिनौंसम्म यसरी नै काम गर्नुपर्दा मानिसको हालत के हुन्छ–कल्पना गर्दा नै हामीमा छट्पटी हुन्छ। तर भारतमा यस्तै भइरहेको छ।

अस्पतालभित्र एउटा वार्डबाट अर्को वार्डमा डराइ डराइ जानुपर्ने स्थिति छ। डाक्टर, नर्स, वार्ड सहयोगी, ल्याब असिस्टेन्ट, रेडियोलोजी स्टाप, सफाई कर्मचारीहरू यतिखेर निकै सकस भोग्दै सेवामा खटिइरहेका छन्।

‘पीपीई सेट लगाएर सय मिटरभन्दा बढी हिँड्दा स्वास फुल्न थाल्छ। दुई तल्लाभन्दा धेरै भर्‍याङ चढ्ने हो भने सास लिनै मुस्किल हुन्छ,’ डा. बख्शीले भनेका छन्, ‘एकातिर स्वास्थ्यकर्मीहरू आफैँ बिरामी परिरहेका छन् भने अर्कातर्फ कयौं दिनदेखि अनिँदो छन्, यस्तो हालतमा काम गरिरहनुपर्दा स्वास्थ्यकर्मी नै मानसिक समस्यामा पर्छन्।’

कोरोना महामारी फैलिएताको १३ महिनादेखि कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको हालत यस्तै छ। १ अर्ब ३० करोड जनसंख्या रहेको भारतमा पर्याप्त अस्पताल छैनन्। महामारी घटेको या भाइरस कमजोर भएको भन्ने समाचार सार्वजनिक हुँदा पनि त्यहाँका लाखौं चिकित्सक र मेडिकल स्टाफहरूले निकै चुनौतीपूर्ण अवस्थामा काम गरिरहेका छन्। अहिले त अवस्था नै निकै कारुणिक छ।

मुम्बईकी आवासीय चिकित्सक भाग्यलक्ष्मी भन्छिन्, ‘कोभिडको यो दोस्रो लहरमा मैले जिन्दगीमा पहिलोपटक निकै अप्ठ्यारो अवस्थामा पुगेका मानिसहरूलाई पनि सेवा दिन सकिरहेको छैन, अस्पतालका सबै बेड भरिएका छन्, गम्भीर अवस्थाका बिरामीलाई पनि फर्काउनुपरेको छ। यस्तो स्थिति देख्दा म आफैं निराश भएको छु।’

चिकित्सककै ज्यान जाँदै

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार अहिलेसम्म कोरोना महामारीबाट भारतमा १ लाख ८७ हजार जनाको मृत्यु भइसकेको छ। चिकित्सा पेशामा जोडिएकाहरू पछिल्लो १३ महिनादेखि पारिवारिक कष्ट, कामको चाप र आफ्ना वरिपरि भैरहेको मृत्युलाई झेल्दै काम गरिरहेका छन्।

डा. भाग्यलक्ष्मी भन्छिन्, ‘लगातार यस्तो अवस्थामा काम गरिरहनुपर्दा हामी हताश भइसकेका छौं, अधिकांश दिनमा १० घण्टासम्म लगातार एउटै पीपीई सेट लगाएर काम गर्नुपरेको छ।’

तनावपूर्ण अवस्था

कश्मीरको बारामुला अस्पतालमा कार्यरत बाल चिकित्सक डा. सुहैले नायकले पनि यस्तै भोगिरहेका छन्। उनी भन्छन्, ‘चारैतिर कोरोना नै कोरोना छ, मानिसहरूले सास फेर्न सकिरहेका छैनन्, यस्तो अवस्थामा काम गर्दा निकै मानसिक दबाब परिरहेको छ।’

अर्का डा. रोहित जोशी पनि लगातार काम गर्दा तनाव बढिरहेको र कहिलेकाहीँ त पेशा नै छाडिदिउँजस्तो लाग्ने गरेको बताउँछन्। वरिष्ठ र परामर्शदाता चिकित्सकभन्दा आवासीय चिकित्सकहरू चौबिसै घण्टा ड्यूटीमा खटिने गरेका छन्।

आसपास मानिसहरूको लगातार मृत्यु हुनु र रोइरहेका आफन्तहरूको चित्कार सुन्नु–भारतीय चिकित्सकहरूका लागि यो सबै सामान्य भइसकेको छ।
अस्पतालमा बिरामीहरू निकै धेरै र चिकित्सकहरू निकै कम छन्। एकजना चिकित्सकले सयौं संक्रमितहरूलाई हेर्नुपर्ने अवस्था छ।

डा. जोशी भन्छन्, ‘हामीले धेरै बिरामी हेनुपर्नेछ, तर समय निकै कम छ, सकेसम्म धेरैलाई उपचार दिन छिटोभन्दा छिटो काम गरिरहेका छौं, एक जना बिरामीलाई दिनमा १५ देखि २० मिनेटभन्दा धेरै समय दिन सकिँदैन’।

अस्पतालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। संक्रमण पुष्टि नभएकालाई रेखदेखका लागि ननकोभिड वार्डमा पठाउने गरिएको छ। त्यस्ता वार्ड पनि बिरामीले भरिने गरेका छन्।

अन्त्यहीन लडाइँजस्तो

भारतमा कोरोनाको दोस्रो लहर फैलिएर जस्तो स्वास्थ्य संकट निम्तिएको छ–त्यो अन्त्यहीनजस्तो लाग्न थालेको चिकित्सकहरू बताउँछन्।

बचाउन सकिने संक्रमितको पनि अक्सिजन, शय्या र औषधि अभावका कारण ज्यान गइरहेको छ। चिकित्सकहरूले कहिलेसम्म यस्तो स्थिति रहन्छ भनी सोधिरहेका छन्।
मानिसहरूले निरन्तर खटिएका स्वास्थ्यकर्मीहरूलाई हौसला प्रदान गर्न थाल बजाउने र सलाम गर्ने गरेका छन्। तर, चिकित्सकहरूले चाहिँ कोरोना भाइरस रोक्नका लागि आफ्नो तर्फबाट योगदान गर्न, भौतिक दूरी कायम राख्न र मास्क लगाउन बिन्ती गरिरहेका छन्।

पीपीईबाटै असुरक्षा

पीपीई पहिरिएकै कारण स्वास्थ्यकर्मीहरूले अर्को समस्या भोगिरहेका छन्। उनीहरू पसिनामा नुहाएजस्तो देखिन्छन् । भारतको चर्को गर्मीमा पीपीई लगाउँदा शरीरले नुन र पानीलाई पसिनाबाट निकै छिटो छाड्ने गर्छ। तर, हालत यस्तो छ कि–मास्क पनि खोल्न सकिँदैन।

पीपीई लगाउँदैमा कोरोना भाइरस संक्रमण नहुने ग्यारेन्टी छैन। यो त सुरक्षाका लागि आवश्यक आधारभूत कवचजस्तो मात्रै हो । भारतमा पीपीई लगाएरै सेवामा खटिएका हजारौं चिकित्सकहरूलाई कोरोना संक्रमण भएको छ। सयौंको ज्यान गइसकेको छ।

यस पछाडिको खास कारण के भने–कोभिड वार्डमा स्वास्थ्यकर्मीहरू कोरोनासँग नै युद्ध लडिरहेका छन् । संक्रमितले खोक्दा या हाच्छ्युँ गर्दा छिटामा टाँसिएर कोरोना भाइरस पीपीई ड्रेससम्म पुग्छ। यसैकारण मास्कको बाहिरी सतह पनि संक्रामक भइदिन्छ ।

यतिखेर स्वास्थ्यकर्मीहरू न घर जान सकेका छन्, न त ढुक्क भएर सेवामा खटिन नै! महामारीको यो अवस्थासँग लडिरहेका अधिकांश चिकित्सकहरू भनिरहेका छन् – सर्वसाधारणले सजगता अपनाउनुपर्छ, सरकारले ठोस कदम चाल्नुपर्छ र अस्पतालहरूमा आवश्यक बन्दोबस्ती मिलाउनुपर्छ। नत्र महामारी रोकिँदैन र यो अन्तहीन संघर्षमा बदलिने खतरा छ।

(बीबीसी हिन्दीमा प्रकाशित सामग्री भावानुवाद गरिएको।)

तपाईको प्रतिक्रिया