कर्णालीलाई फलफूलमा आत्मनिर्भर बनाउने योजना

प्रदेश सरकारले बजेट छुट्यायो तर किसानहरुले पाउन सकेनन्

सुर्खेत  । कर्णाली प्रदेशमा फलफूल खेतीका लागि उपयुक्त हावापानी छ । उच्च हिमाली तथा पहाडी क्षेत्र भएका कारण कर्णालीमा बाह्रै महिना कुनै न कुनै फलफूल खेती गर्न सकिन्छ । प्रदेश कृषि विकास निर्देशनालय सुर्खेतकाअनुसार कर्णालीलाई फलफूल खेतीबाटै आत्मनिर्भर बनाउने थुप्रै आधारहरु छन् ।

यही सम्भावना भएरै प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा फलफूल खेतीलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । फलफूलमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान मात्र होइन, फलफूलका विरुवा नै वितरण गर्ने सरकारले घोषणा गरेको छ । तर आफ्नै योजना कार्यान्वयनमा सरकार असफल बनेको छ । अर्थात सरकारले घोषणा गरे अनुसार किसानलाई फलफूलका विरुवा वितरण गर्न सकेन ।

बजेट नै विनियोजन गरिए पनि विरुवा खरिद नहुँदा किसानले सरकारी घोषणा अनुसार लाभ पाउन नसकेका हुन् । बर्षायाममा आँप, केरा, लिची, रुख कटहर, भूइँकटहर, अम्बा, मेवा र हिउँदयाममा अनार, आरु, स्याउ, ओखर, नास्पाती, आलुबखडा, सुर्पानी, हलुवादे जस्ता फलफूल खेती गर्न सकिन्छ । रसादार फलफूल मध्ये मण्डारिन, सुन्तला, निबुवा र कागतीको पनि राम्रो सम्भावना छ ।

कालिकोट, मुगु, जुम्ला, हुम्ला, डोल्पालाई स्याउ र ओखर, दैलेख, जाजरकोट र सल्यानलाई सुन्तला खेतीको पकेटक्षेत्रका रुपमा विकास गर्न सकिन्छ । माटो सुहाउँदो खेती गरिएको खण्डमा सुर्खेत, सल्यान, रुकुपश्चिम र जाजरकोटका केही क्षेत्रमा आँप खेतीका लागि उपयुक्त हावापानी छ ।

यति धेरै फलफूलका लागि उपयुक्त मानिने कर्णालीले बार्षिक २१ हजार ६ सय ८२ टन फलफूल उत्पादन गर्छ । तर परम्परागत खेती प्रणालीकै कारण कर्णाली हाल फलफूलमा आत्मनिर्भर भने छैन । हाल सम्भावना भएर पनि उत्पादनभन्दा दोब्बर कर्णालीले आयात गरिरहेको छ । व्यावसायिक रुपमा स्याउ खेती गरिएको खण्डमा मात्रै कर्णालीले राम्रो आम्दानी गर्न सक्छ ।

किनकी नेपालभर स्याउ उत्पादन हुने ११ हजार एकसय ६८ हेक्टर क्षेत्रफलमध्ये ६५ प्रतिशत अर्थात सात हजार दुईसय २१ हेक्टर क्षेत्रफल कर्णालीमै पर्दछ । जसमध्ये जुम्लामा तीन हजार ६ सय ७० हेक्टर, डोल्पामा नौसय ६७ हेक्टर, मुगुमा नौसय ४३ हेक्टर, कालिकोटमा ६ सय ३६ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुन्छ ।

बार्षिक १५ हजार तीनसय ८८ मेट्रिकटन स्याउ उत्पादन गर्ने कर्णालीले जुम्लामा ६ हजार सातसय ९९, डोल्पामा एक हजार ६ सय ९८, मुगुमा दुई हजार सातसय ९९, कालिकोटमा एकहजार सातसय ९४ र हुम्लामा एक हजार चारसय ६८ मेट्रिकटन स्याउ उत्पादन हुन्छ । कृषि विकास निर्देशनालय सुर्खेतको तथ्याङ्कअनुसार स्याउ उत्पादनका हिसावले जुम्ला नेपालकै पहिलो, डोल्पा तेस्रो र मुगु चौथो स्थानमा पर्दछन् ।

कर्णाली बाहिर पर्ने मुस्ताङ स्याउ उत्पादन हुने नेपालको दोस्रो जिल्ला हो । स्याउ खेतीका हिसावले कर्णाली प्रदेशले नेपालको कुल क्षेत्रफलको ६५ प्रतिशत र उत्पादनका हिसावले ४९ प्रतिशत हिस्सा ओगटेको छ । यति हुँदाहुँदै पनि कर्णालीमा उत्पादन भएको स्याउले बजार पाउँदैन । भौगोलिक विकटता र चिस्यान केन्द्रको अभावमा कर्णालीको स्याउ बोटमै कुहिन्छ ।

परिणामतः स्याउ सिजनमै कर्णालीमा चिनिया र भारतीय स्याउले कब्जा गर्दछ । फलफूल खेतीका लागि प्रशस्त सम्भावना हुँदाहुँदै पनि कर्णालीलाई फलफूल खेतीमा आत्मनिर्भर बनाउन आलटाल गरिएको छ । चालु आर्थिक बर्षमा किसानलाई फलफूलका विरुवा वितरण गर्न प्रदेश सरकारले पाँच करोड बजेट छुट्याएको छ । तर पनि हालसम्म स्याउका बिरुवा खरिद नगरिएको घटना एउटा गतिलो उदाहरण हो ।

कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा स्याउका बिरुवा खखिदका लागि पाँच करोड बजेट छुट्याइएको थियो ।
इटालियन प्रजातिका बिरुवा खरिदका लागि प्रदेश सरकारले टेन्डरसमेत खोल्यो । तर अन्तिम समयमा टेन्डरमा विवाद परेको भन्दै विरुवाको टेन्डर रद्ध गरेको छ ।
उन्नत जातका स्याउका विरुवा खदिर प्रक्रिया सुरु गरे पनि विवादकै कारण टेन्टर रद्द गर्नु परेको प्रदेश सकारका प्रवत्तासमेत रहेकी आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले बताइन् ।

केसी तत्काली भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत हुन् । उनकै कार्यकालमा प्रदेशको कृषि विकास निर्देशनालयले इटालियन प्रजातिका स्याउका विरुवा खरिदका लागि टेन्टर आह्वान गरेको थियो । प्रदेशले सुरु गरेका अनुदानका अधिकांश कार्यक्रमहरु बिचौलीया र नेता तथा कार्यकर्ताहरुले मात्रै पाउने गरेको भन्दै विवादमा पर्दै आएका छन् ।

पाँच करोड मूल्यका ओखरका विरुवा बाँडिदै

कर्णाली प्रदेश सरकारले पाँच करोड लगानी गरेर ओखरका विरुवा वितरण गर्न थालेको छ । कर्णालीका दश वटै जिल्लाका किसानलाई वितरण गर्नेगरी ओखरका विरुवा वितरण थालिएको हो ।

‘पाँच करोडको लगानीमा ओखरका विरुवा खरिद गरेर वितरण गर्न थालेका छौँ’ कृषि विकास निर्देशनालय सुर्खेतमा प्रमुख चित्रबहादुर रोकायाले भने, ‘आवश्कताका आधारमा जिल्लाका किसानलाई विरुवाहरु वितरण गरिरहेका छौँ ।’

कर्णालीका कुनै जिल्लामा हाल विरुवा वितरण भइरहेको छ भने कुनै जिल्लामा वितरण गर्ने तयारी गरिएको छ । जिल्लाको आवश्यकता र उत्पादन हुने क्षेत्रफलको आधारमा विरुवाहरु वितरण गर्न थालिएको हो ।

प्रदेशभर आठसय हेक्टर क्षेत्रफलमा ओखर खेती गर्न सकिन्छ । जसबाट बार्षिक दुई हजार नौसय ६८ मेट्रिकटन ओखर उत्पादन गर्न सकिने तथ्याङ्कले देखाउँछ । विशेषगरी पहाडि तथा उच्च हिमाली जिल्लामा ओखर खेती गर्न सकिन्छ ।

परम्परागत खेतीले न्यून उत्पादन

कर्णालीमा फलफूल खेतीका लागि उपयुक्त हावापानी छ । तथ्याङ् कअनुसार यहाँको सात हजार दुईसय २१ हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्न सकिन्छ । तर व्यावसायिक खेती र बजारको अभावका कारण कर्णालीमा न्यून क्षेत्रफलमा मात्रै फलफूल खेती गरिन्छ ।

तथ्याङ्क अनुसार कर्णालीको आठसय ७४ हेक्टरमा आँप, दुईसय ८६ हेक्टरमा केरा, एकसय ७६ हेक्टरमा अम्बा, ७६ हेक्टरमा रुख कटहर र १३ हेक्टरमा भूइँकटहरको खेती गरिएको छ ।

एकसय ५२ हेक्टरमा आरु, दुईसय १८ हेक्टरमा नासपाति, आठसय २७ हेक्टरमा ओखर, एकसय ७१ हेक्टरमा आलुबखडा, ५३ हेक्टरमा सुपार्ननी, १९ हेक्टरमा अनार, दुईहजार हेक्टरमा अन्डारिन, एकसय हेक्टरमा सुन्तला, ७८ हेक्टरमा कागती र तीनसय नौ हेक्टरमा निवुकाको खेती गरिएको छ । कर्णालीमा
बार्षिक पाँच हजार ६१ मेट्रिकटन आँप, दुई हजार ६ सय ४९ मेट्रिकटन केरा, एक हजार ५६ मेट्रिकटन अम्बा, चारसय ९० मेट्रिक टन मेवा, सातसय ७३ मेट्रिकटन
रुख कटहर र ७७ मेट्रिक टन भुइँकटहर उत्पादन हुन्छ ।

त्यस्तै बार्षिक एकहजार दुईसय मेट्रिकटन आरु, दुई हजार नौसय ६८ मेट्रिकटन ओखर, एक हजार दुईसय २० मेट्रिकटन नासपाति, एकहजार ३३ मेट्रिकटन आलुबखडा, दुईसय ९५ मेट्रिकटन सुर्पानी, एकसय ६ मेट्रिकटन अनार, १८ हजार तीनसय ९२ मेट्रिकटन मण्डारिन, आठसय ४३ मेट्रिकटन सुन्तला, पाँचसय टन कागती र एकहजार आठसय ८२ टन निबुवा उत्पादन हुन्छ । खेतीको हिसावले यो उत्पादन निकै न्यून हो । आधुनिक प्रविधि अपनाउन सके यसको उतपादन अरु बढाउन सकिने कृषि विज्ञहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया